इटहरी : नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने सङ्केत देखाएको छ । आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वातावरण बनाएर समर्थन फिर्ता लिने माओवादीको गृहकार्य छ ।

सोमबार (आज) बसेको माओवादी संसदीय दलको बैठकले भोली मंगलबार  हुने प्रदेश समिति बैठकको निर्णय अनुसार अगाडि बढ्ने धारणा बनाएको छ । दलका नेता इन्द्र आङ्बोले यसअघि समर्थन फिर्ता नलिने बताउँदै आएका छन् । तथापि ऊनी आफै मुख्यमन्त्री हुने भएपछि समर्थन फिर्ता लिन तयार देखिएका हुन् ।

गठबन्धनको ठुलो दल नेपाली काङ्ग्रेसले माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न आग्रह गरेको थियो । काँग्रेस प्रदेश समितिका नेताहरू गठबन्धनका केन्द्रीय नेतृत्व सँग सरकार परिवर्तन गर्नुपर्ने माग गर्दै आएका थिए ।

एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । माओवादीले २ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।सङ्घमा नेपाली काङ्ग्रेस सहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । सङ्घमा एउटा गठबन्धन भएको र प्रदेशमा अर्कैसँग गठबन्धन भएको भन्दै काङ्ग्रेसले विरोध गर्दै आइरहेको छ ।

केन्द्रीय गठबन्धनलाई ध्यान दिँदै जनता समाजवादी पार्टी (जसपा) ले यसअघि नै समर्थन फिर्ता लिएको छ । जसपाले जेठ १७ गते सरकारको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरियो ।  संविधान अनुसार हिक्मत कार्की नेतृत्वको सरकारले ३० दिन अर्थात् असार १५ भित्रमा विश्वासको मत लिनुपर्ने भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । माओवादी १२ (सभामुख बाहेक), काँग्रेस २९, जसपा १ र नेकपा एकीकृत समाजवादी ४ मिल्दा ४६ सांसद मात्र पुग्छन् । एमाले बाहेक बहुमत पुर्‍याउन राप्रपाका ६ सांसद आवश्यक पर्छन् । तर तत्काल मुख्यमन्त्री नपाए राप्रपाले गठबन्धनलाई समर्थन गर्ने अवस्था देखिँदैन ।