इटहरी : जेनजी आन्दोलनको कारण आगजनीमा परि इटहरी उपमहानगरपालिकाको कार्यपालिका भवन पूर्ण रूपमा क्षति भएको छ । कार्यपालिका भवन नभएपछि मङ्गलवार मेयर हेम कर्ण पौडेलले क्षतिग्रस्त संरचनाकै अगाडी भुँइमा कार्यपालिका बैठक राखेका हुन् ।

उपमेयर सङ्गीता चौधरी,प्रमुख प्रशासकीयअधिकृत सहित कार्यपालिका सदस्यहरूको उपस्थितिमा बैठक बसेको हो । उपमहानगरपालिकाको क्षतिग्रस्त संरचनाको अवलोकन पछि बसेको बैठकले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गर्नेहरूलाई चाँडोभन्दा चाँडो कानुनी सजायको भागीदार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको अत्यावश्यक सेवा प्रवाहलाई असोज ४ गतेदेखि सुचारु गर्नको लागि तयारी अवस्थामा रहन कर्मचारी र वडाध्यक्ष हरूलाई आग्रह गरिएको छ ।

मेयर पौडेलले भत्किएका संरचना अहिले नै बनाएर जान सक्ने अवस्था नभएको हुँदा अस्थायी संरचना बाटै सेवा गर्नुपर्ने अवस्था भएको धारणा राखे । ४ गतेसम्म सम्पूर्ण क्षतिको विवरण सङ्कलन गर्ने र त्यसपछि पुनर्निर्माण लाग्ने निर्णय भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा उपमहानगरपालिका भित्र मेयर कक्ष लगायत अन्य ५ वटा भवनमा आगलागी भयो । अधिकांश शाखामा आगलागी हुँदा तत्काल सेवा प्रवाहमा असहज परिस्थिति देखा परेको हो ।

सोही आन्दोलनको क्रममा मेयर पौडेल सहित १७ नम्बर वडाका अध्यक्ष प्रभात आचार्यको घरमा आगलागी भएको छ ।

itahari-karyapalika-1