इटहरी : नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने भएको छ । गठबन्धनको तर्फबाट आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वातावरण बनाउने गरि समर्थन फिर्ता लिने भएको हो ।

मंगलबार  बसेको माओवादी संसदीय दल र प्रदेश पदाधिकारीको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धनमा दबाब दिने माओवादीको निर्णय छ ।

गठबन्धनको ठुलो दल नेपाली काङ्ग्रेसले पनि सरकारको नेतृत्व दाबी गरेको छ । गठबन्धनको सरकार बन्ने भएपछि नेतृत्व कसले गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

संसदीय अंकगणित अनुसार माओवादी र काँग्रेस मिल्दा मात्रपनि सरकार गठन हुन सक्दैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । माओवादी १२ (सभामुख बाहेक), काँग्रेस २९, जसपा १ र नेकपा एकीकृत समाजवादी ४ मिल्दा ४६ सांसद मात्र पुग्छन् । एमाले बाहेक बहुमत पुर्‍याउन राप्रपाका ६ सांसद आवश्यक पर्छन् ।

मुख्यमन्त्री नपाए राप्रपाले गठबन्धनलाई समर्थन गर्ने अवस्था देखिँदैन । राप्रपाले गठबन्धनलाई समर्थन नगरे ठुलो दलको हिसाबमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्की पुनः मन्त्री बन्नसक्ने सम्भावना देखिएको छ ।

एमाले नेतृत्वको सरकारमा माओवादीले २ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । केन्द्रीय गठबन्धनलाई ध्यान दिँदै जनता समाजवादी पार्टी (जसपा) ले यसअघिनै समर्थन फिर्ता लिएको छ । जसपाले जेठ १७ गते सरकारको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरियो । संविधान अनुसार हिक्मत कार्की नेतृत्वको सरकारले ३० दिन अर्थात असार १५ भित्रमा बिश्वासको मत लिनुपर्ने भएको छ ।