इटहरी : इटहरीमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभाव लामो समय सम्म पर्ने भएको छ । आन्दोलनको क्रममा उपमहानगरपालिका कार्यालय मात्र ध्वस्त भएको छैन कार्यालयका कम्प्युटरका हार्डडिस्क समेत गायब भएका छन् ।
आन्दोलनमा नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलको घर जलेको छ । आन्दोलनकारीको समूहले उपमहानगरपालिका कार्यालय आगो लगाएपछि पौडेलको घरमा ठुलो समूह एकै पटक तोडफोडमा उत्रियो । घरको सामान बाहिर फ्याँकेर आगो लगाइएको भिडियो सार्वजनिक भएको छ । पौडेलको घरमा मात्र हैन नेपाली काँग्रेस नगर समितिको कार्यालयका सामान समेत निकालेर जलाइएको छ । नेकपा एमाले नगर कमिटीको पार्टी कार्यालय जलेर ध्वस्त भएको छ ।
एमाले पार्टी कार्यालय जलेपछि नगर कमिटीको फेसबुक पेज मार्फत एमालेले आपत्ति जनायो । तर इटहरी उपमहानगरपालिका देखि अन्य महत्त्वपूर्ण सार्वजनिक संरचना र व्यापारिक भवनमा भएको क्षतिमा एमाले, काँग्रेस लगायत अन्य दल मौन छन् । आफ्नै पार्टी सभापतिको घर जल्दा समेत पार्टीका पदाधिकारी तथा दुई वटा क्षेत्रमा पर्ने क्षेत्रीय समितिले कुनै आवाज उठाउन सकेन ।
केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको घरमा समेत आगजनी भयो । यस बिचमा महामन्त्री थापाले तीन वटा भिडियो सन्देश र प्रेस वक्तव्य समेत दिइसकेका छन् । नेता शेखर कोइराला, उपसभापति पूर्ण बहादुर खड्का लगायत नेताहरूले आगजनी र तोडफोडको विरोध गर्दै लोकतन्त्रलाई रक्षा गर्नुपर्ने पक्षमा वक्तव्य निकाले ।
इटहरी उपमहानगरपालिकाका मेयर समेत रहेका हेमकर्ण पौडेलको घर जल्दा क्षेत्रीय समिति मात्र हैन प्रदेश क्षेत्रीय समिति समेत अहिलेसम्म मौन छ । मेयर पौडेलले भने भिडियो सन्देश जारिगर्दै आफू इटहरी बासीको भावना अनुसार सबैलाई जोडेर लोकतान्त्रिक पद्धति मार्फत अगाडी बढ्ने बाचा गरेका छन् ।
सुनसरी सभापति केदार भण्डारी इनरुवा नगरपालिकाका मेयर हुन् । उनको घर र नगरपालिकामा आगजनी भयो । तल्लो समितिले कुनै प्रतिक्रिया नदिइरहेको अवस्थामा उनले सबैलाई संयमित रहन र लोकतन्त्रको रक्षामा अनवरत लाग्न आग्रह गरे । भातृ तथा शुभेच्छुक संस्थालाई ढाडस दिँदै कोइराला निवास र सभापति देउवा माथिको आक्रमण प्रति खेद व्यक्त गरेका छन् ।
इटहरीको इलाका प्रहरी कार्यालय नष्ट हुँदा शान्ति सुरक्षामा समस्या भएको छ । हाल तरहरामा रहेको प्रहरी बिटमा प्रहरीले कार्य गर्न थालेको छ । प्रहरी कार्यालयका डकुमेन्टहरू नष्ट मात्र भएका छैनन् हिरासतमा रहेका थुनुवा भागेपछि थप सुरक्षा जोखिम बढेको छ ।
सरकारी कार्यालयमा भएको विनाशले महत्त्वपूर्ण कागजात र संरचनाको सत्यानाश भयो । संरचनाको विनाश मात्र हैन त्यसको व्यवस्थापन धेरै चुनौतीपूर्ण देखिएको हो । आन्तरिक राजस्व कार्यालय इटहरी, राजस्व अनुसन्धान, ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय लगायत महत्त्वपूर्ण सरकारी कार्यालयमा नियोजित हमला भएको छ ।
जसको कारण इटहरी बासीलाई लामो समय सास्ती भोग्नुपर्ने देखिएको छ । इटहरीको व्यापार व्यवसाय मात्र हैन नागरिकको आत्मविश्वासमा आघात पुगेको बताउँछन् व्यवसायी गोपाल श्रेष्ठ । व्यापार गर्ने जोस जाँगर हराउँदै गएको बताउँदै उनले एउटा दुर्घटनाको कारण मानसिक रूपमा हतोत्साहित भएको अनुभव सुनाए ।