• श्याम पोखरेल 

यो बेला हामी गम्भीर मोडमा उभिएका छौँ । इतिहासको स्वर्णिम समय र वर्तमानमा सङ्क्रमणको अवस्था एकै पटक अनुभव गर्न पाएका छौँ । २००७ साल देखिको माग अनुरूप संविधान सभाबाट प्राप्त संविधान र त्यो संविधानले दिएको गणतन्त्र एवं सङ्घीयता अभ्यास गर्ने अवसर पाएका छौँ भने संविधानद्वारा प्रदत्त  गणतन्त्र र सङ्घीयता विरुद्धको चलखेल र जालझेल बाट मुलुकलाई बचाउनु पर्ने दायित्वको सङ्घारमा छौँ । 

आर्थिक समृद्धि, उन्नति र समुन्नत नेपाल बनाउने दायित्व, आर्थिक सङ्कट र त्यसभित्र हुर्किएको भ्रष्टाचार संस्कृति विरुद्ध आफूलाई कठोर र निर्मम ढङ्गबाट उभ्याउनुपर्ने अभिभारामा पनि छौँ । हामी एक हिसाबले स्वर्णिम समयको कठिन मोडमा छौँ भन्दा फरक पर्दैन ।  यो बेला हामीले अवलम्बन गर्ने राजनैतिक मार्गले नै, देश, नेपाली नागरिक र नेपाली काँग्रेसको भविष्यको मार्ग निर्देश गर्नेछ । 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन पश्चात् धरान नगर समितिको नगर सम्मेलन हुन सकिरहेको थिएन । त्यसको नैतिक जिम्मेवारी हामीले लिनै पर्छ । तथापि यो नगरको मात्र हैन महाधिवेशन सकिएको यत्तिका दिन व्यतीत हुँदा पनि केन्द्रमा विभागहरू गठन हुन सकिरहेका छैनन् । भातृ सङ्गठन र शुभेच्छुक संस्थाहरूको अधिवेशन गर्न सकिएको छैन । 

पार्टीलाई चलायमान बनाउने विभागहरू गठन नहुँदा, भातृ सङ्गठनको अधिवेशन नहुँदा पार्टीलाई जीवन्त र सक्रिय बनाउने अभ्यासमा खिया लाग्ने, विचारहरू भुत्ते हुने र कार्यकर्ताहरू पलायन हुने खतरा हुँदै जान्छ । यी र यस्ता बेथितिले पार्टीका कार्यकर्ता नेताहरूमा ऊर्जा सञ्चार हुन नसकी कार्यकर्ताहरू अन्यत्र आकर्षित र पलायन हुन पनि सक्छन् । 

यो बेला पार्टीका तल्लो तहसम्मका कार्यकर्ताहरू र शुभेच्छुकहरूलाई जिम्मेवारी र लक्ष्य दिएर मैदानमा पठाउनु पर्नेमा नेपाली काँग्रेस गठबन्धनबाट सांसद सङ्ख्या बढ्यो भन्ने आत्मरतिमा रमाएको छ । काँग्रेस भन्दा कमजोर पार्टी एक्लै चुनाव लडेर आफूलाई दह्रो गरी उभ्याइरहँदा हामी भने कसैको वैशाखी बनेर या कसैको वैशाखी टेकेर लड्ने प्रयत्न गर्दैछौ । 

यो नेपाली काँग्रेसको भविष्यको लागि शुभ सङ्केत पक्कै होइन । गठबन्धनको नाममा दलहरूको दलदलबाट पार्टी मुक्त हुनु पर्दछ भन्ने हाम्रो विश्लेषण रहेको छ । पार्टीलाई आधुनिक बनाउन क्रियाशील बनाउन र प्रविधिमैत्री बनाउन र आम युवासम्म पार्टीको विचार लैजान सक्ने युवाले अव नेपाली काँग्रेस हाँक्नु पर्दछ । 

पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता टड्कारो भएको छ । त्यसका लागि म समेत सहमत छु । र मैले नेतृत्व हस्तान्तरण गर्दा धरानमा पार्टी सशक्त हुन्छ भने म त्याग गर्न तयार रहेको सबैमा प्रष्ट पार्न चाहन्छु । त्यस्तै पार्टीका तल्लो तहदेखि सर्वोच्च निकायसम्मको नेतृत्वले परिवर्तनको यो आवाजलाई आत्मसात् गरी, जिम्मेवारी युवाहरूलाई हस्तान्तरण गर्नु पर्छ भन्ने अवधारणा, यो भेलामा प्रस्तुत गरेको छु । आशा छ सबैले यो अवधारणाको समर्थन गर्नुहुने छ ।

नेताहरू संगठक भन्दा बढी सेलिब्रिटी बन्दै गइरहेका छन् । कार्यकर्ताको मुल्यांङ्कन आफ्नो वरिपरि गणेश परिक्रमा गर्ने कार्यमा आधारित भइरहेको छ । तलदेखि माथिसम्म गुटबन्दीमा नेताहरूले कार्यकर्तालाई अलमल्याइ रहेका छन् । महाधिवेशनको बेला नेतृत्व लिन चाहनेले आफ्नो समूह बनाएर पार्टीको आन्तरिक निर्वाचनमा होमिनु स्वाभाविक नै हो ।

तर, त्यसैका आधारमा सधैँका लागि समूहलाई गुटका रूपमा तयार गरेर गुटबन्दी गर्नाले कार्यकर्ताहरू पार्टीको विचार तर्फ आकर्षित हुने भन्दा नेता प्रति वफादार हुने देखिएको छ । यो भयावह समस्या हो । यसबाट मुक्त हुन पार्टीमा भएका गुटबन्दीको अन्त्यका लागि यो सम्मेलन मार्फत जोडदार माग गर्दछु । गुटबन्दीको जरा तलसम्म यस्तरी जेलिएको छ त्यसको असर हरेक निर्वाचनमा देखिएको छ । 

निर्वाचनमा उम्मेदवारहरूका विरुद्ध अर्को गुटले असहयोग, दुष्प्रचार गर्ने त छदै छ । अझ अन्तर्घात गरेर हराउने रणनीति तय हुन्छ र हराउन आफ्नो बलबुता प्रयोग गरिन्छ । ‘म’ उम्मेदवार भए सबै ठिक ‘त्यो’ उम्मेदवार चैँ सबै तरिकाले बेठिक भन्ने मानसिकताले नेपाली काँग्रेस धरानमा जहिल्यै समस्यामा परेको छ । हामीले एउटा बाहेक कुनै निर्वाचन जित्नै नसक्नुमा यो समस्या सबैभन्दा ठुलो छ । 

हामी अब कहिल्यै अन्तर्घात गर्ने छैनौ भनेर शपथ लिन पनि नेपाली काँग्रेसका सबै आदरणीय महानुभावहरूमा अन्तर हृदयबाट आग्रह गर्दछु । नेपाली काँग्रेस धरान उपमहानगर नगर समितिले हालै सम्पन्न गरेको अग्रज, पदाधिकारी, भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताहरूबाट समेत यस्तो धारणा आएको हुनाले मैले सबैको भावना प्रतिनिधित्व हुने गरी यो विषय यहाँ राखेको छु ।

युवाहरूलाई पार्टीमा आकर्षित गर्न सकिएको छैन, धेरै समुदाय पार्टीमा समावेश हुन सकेका छैनन् । अब वडा–वडा र टोल–टोलमा युवा, महिला जस्ता ऊर्जावान् समूहलाई आकर्षित गर्न र लक्ष्य दिने गरी रणनीति बनाइने छ । त्यसका लागि पार्टीका वडा समिति र वडाध्यक्ष एवम् जनप्रतिनिधि बिचको सम्बन्धलाई सुमधुर, गतिशील र सहयोगी बनाउन नगर समिति लगायत सबै समितिहरूले निरन्तर कार्य गर्नेछन् । 

पार्टी अहिले पनि कठिन मोडमा छ, समस्यामा रहेको छ । पार्टीमा विधिभन्दा व्यक्ति महत्त्वपूर्ण बन्दै गएको देखिन्छ । त्यसबाट मुक्त हुन पार्टीलाई विधान अनुरूप सञ्चालन गर्नुपर्ने, सबै कार्यकर्ताले विधानको अध्ययन, विधान अनुरूप अनुशासित हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । विधान अनुरूप कार्यशैली अवलम्बन गर्नुपर्नेछ । 

यसको अभावमा हामी सङ्गठन भन्दा बढी भिडमा रूपान्तरण भइरहेका छौँ । काँग्रेस सङ्गठन हो, भीड होइन । तर बेलाबेलामा हामी नै काँग्रेस मास बेस्ड पार्टी हो भनिरहेका छौँ । हामी चोक चोक र चिया दोकानमा पार्टीका, नेताका विरुद्ध चर्चा र परिचर्चा गरिरहेका छौँ । हामी अनुशासित देखिरहेका छैनौँ । यसरी नकारात्मक चर्चा र छलफल भन्दा बढी सभ्य आलोचना र सकारात्मक छलफल गर्न, नागरिकहरूले सुन्ने ठाउँमा पार्टीलाई सहयोग हुने प्रकारको छलफल गर्न सबैमा अनुरोध गर्दछु । 

धरानको राजनीति यति बेला सङ्क्रमण अवस्थामा छ । स्वतन्त्र उम्मेदवारको उदय र गत आम निर्वाचनमा परम्परागत दलहरू प्रतिको आकर्षणमा ह्रास आउँदै गएको देखिएको छ । गत आम निर्वाचनमा गठबन्धनका उम्मेदवार निकटतम प्रतिद्वन्द्व नै हुन सक्नु भएन । स्थानीय तहको निर्वाचनमा हाम्रा उम्मेदवारले पराजित हुनु पर्‍यो । त्यस पछिका माहौलहरू हाम्रा पक्षमा झनै देखिएका छैनन् । 

उपमहानगरपालिकाको नेतृत्व दलहरू विरोधी लोकतन्त्रको मूल्य र मान्यता विरोधी, प्रेस स्वतन्त्रता विरोधी र सङ्घीयता विरोधीका रूपमा देखिएका छन् । दलहरूलाई सदैव गाली गर्ने, अन्य निर्वाचित जनप्रतिनिधिलाई गाली गर्ने र उनीहरूलाई नागरिकका बिच खराब देखाउने प्रयत्न गरिरहेका छन् । 

अहिले धरानको नेतृत्वले धरानमा साम्प्रदायिक सद्भाव र राजनैतिक सद्भाव भड्काउन निरन्तर प्रयत्न गरिरहेको देखिएको छ । यो धरानको भविष्यको लागि अत्यन्तै खतरनाक कुरा हो । षडयन्त्र हो । उनको यो षडयन्त्रलाई चिर्दै नागरिकहरूमा उनले पार्न खोजेको भ्रमलाई चिरेर जानुपर्ने बेला भएको छ । खानेपानी धरानको विकराल समस्या हो । 

यो समस्या निराकरण गर्ने नाममा दललाई, दलका कार्यकर्ताहरूलाई, धराने जनताहरूलाई अपमान हुने तवरका शब्दहरू “थुक्छु, छ्या, झोले” भन्ने उनको व्यवहार र दम्भलाई चुनौती दिँदै अघि बढ्नुपर्ने देखिन्छ । अहिले जसरी पानी ल्याउने कार्य भइरहेको छ, त्यो सतहमा हेर्दा राम्रो देखिएता पनि गैर कानुनी छ । राज्यको कानुन विपरीत, दर्ता बिना चन्दा उठाउने, चन्दाको हिसाब मनखुशी गर्ने, “खोलाको पैसा खोलामा गयो” भन्ने जस्ता अभिव्यक्तिले त्यसलाई पुष्टि गर्छ । 

खर्चको सार्वजनिकीकरण नगर्ने, सामाजिक लेखा परीक्षण नगर्ने जस्ता कार्यले धरान उपमहानगरपालिकाको नेतृत्व धराने जनताको संवेदनशील भावनामा खेलेर पैसा सङ्कलन गर्ने अभियानमा लागेको र भ्रष्टाचार गर्ने नियत रहेको प्रष्ट हुन्छ । यो विषयमा हामी सबै सचेत बन्न जरुरी छ । छिमेकी नगरहरूसँग बखेडा निकाली झगडा गर्ने, विवाद गर्ने कार्यले पनि उनको व्यवहार र घमण्ड प्रष्ट देखिन्छ । 

सरकारी, गैर सरकारी आयोजना आउनै नदिने, योजना र कार्यक्रम माग्न र समस्या सुनाउन गएका धराने नागरिकलाई थर्काउने, धम्क्याउने, प्रहरी लगाएर थुन्न लगाउने, उनको क्रियाकलापले उनी उद्दण्ड, अमर्यादित र अधिनायकवादी हुँदै गएको देखिन्छ । जसको उदाहरण “संसारले मलाई चिन्छ” भन्ने अहमता उनमा व्याप्त रहेको छ । 

धरानको लाइफ लाइन हुने र प्रशस्त पानी आउन सक्ने, लेउती धरान सुरुङ मार्गलाई बन्न दिन्न भन्ने अनि कोशीको पानी ल्याउँछु भन्ने विरोधपूर्ण कुराले पानीको नाममा भ्रम छरिरहेको छ । उनको यो भ्रम विरुद्ध नागरिकलाई सचेत गराउन पनि जरुरी रहेको हामीले देखेका छौँ । नागरिकलाई कन्भिन्स गर्न नसक्दा, उनैका कारण रानी-धरान-शिवधारा बाटो धरानभित्र छिर्न नसकेर आयोजना फर्किएको छ । 

यसको दोष र जिम्मेवारी वर्तमान धरान उपमहानगर नेतृत्वले लिनुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । हाम्रो यो धारणालाई यो भेलाले अनुमोदन गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु । गत स्थानीय निकायको निर्वाचनमा मेयरका प्रत्याशी, प्रदेशका प्रत्याशी र समानुपातिक उम्मेदवारहरू धरान विकास निर्माणको लागि निरन्तर लागि रहनु भएको सबैमा सर्वविदितै छ । 

धरानको शिक्षा, स्वास्थ्य र पर्यटन विकासको मुद्दा यति बेला ओझेलमा परेको छ । धरान आज विकासको सहरको रूपमा भन्दा पनि विवादको सहरको रूपमा चित्रित हुँदै गएको छ । विकासको अवधारणा तयार गरेर कार्यान्वयन गर्ने धरानको परिचय आज अराजक भिड र समूहका नाममा परिभाषित हुँदै गएको छ । यो परिभाषाबाट धरानलाई बचाउनुपर्ने हाम्रो जिम्मेवारी हो । त्यसका लागि सहिष्णु, सद्भाव र अनुशासित बनेर विकास र समृद्धिमा लाग्नुपर्ने हाम्रो जिम्मेवारी बनेको छ ।

धरानको नेतृत्वले आजका मितिसम्म करदाता, व्यवसायीसँग छलफल गरेको थाहा छैन । धरानलाई पर्यटनको क्षेत्र बनाउन उद्यत पर्यटन व्यवसायी र अभियन्तासँग सहकार्य गरिएको सुनिएको छैन। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्ध बनाएको देखिएको छैन । पूर्व प्रमुख, उपप्रमुख लगायत धरानका लब्ध प्रतिष्ठित र धरान निर्माणका अभियन्ताहरुसंग सल्लाह, सुझाव र समन्वय गरेको पाईएको छैन।  

यसरी विकासका सबै अवयवहरूलाई बेवास्ता गरेर धरान बनाउँछु भन्ने उनको भावनाले धरानका अन्य सबै क्षेत्र धरापमा पर्दै गएका छन् । हिजो हाम्रो नेतृत्वले निर्णय गरेका प्रदेश र केन्द्रमा पहल गरेर भइरहेका विकासका कार्यहरूलाई “मैले गरेको” भनेर श्रेय लिइरहेका छन् । 

पहल र प्रयास नगर्ने तर श्रेय मात्र लिने उनको क्रियाकलापले धरानलाई उन्नत नगर हैन, गाउँ बनाउने बाटोमा लगिरहेको आभास भएको छ। यसबाट बचाउन, धरानलाई समृद्ध नगर बनाउन, हामीले हाम्रो बलबुताले भ्याएसम्म पहल गर्नुपर्ने आवश्यकता रहेको छ । 

हाल पार्टीबाट निर्वाचित वडाध्यक्ष एवम् जनप्रतिनिधिज्यूहरू आफ्नो बलबुताले भ्याएसम्म धरानको विकास निर्माण र वडाको समृद्धिका लागि अहोरात्र लागि पर्नु भएको छ । हाम्रा जनप्रतिनिधिले गरेजस्तो, सल्लाह, सुझाव, सहकार्य प्राथमिकतामा राखी सबैमा समृद्धि र विकासका लागि हातेमालो गर्न म सबैसँग विनम्र अनुरोध पनि गर्दछु । 

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट मेडिकल सेन्टर बनाउने अभिप्रायले नेपाली काँग्रेसको सरकारले स्थापना गरेको थियो । भारतको एम्स कलेजको मोडलमा खुलेको प्रतिष्ठान भ्रष्टाचारको दलदलमा भासिँदै गएको छ । 

अझ यसलाई सङ्घीय सरकार अन्तर्गत केन्द्रीय संरचनामा लैजाने कुरा भइरहेको छ । यो कुराको हामी घोर विरोध गर्दछौँ । प्रतिष्ठानलाई स्वायत्त नै रहन दिएर, यहाँको भ्रष्टाचार निर्मूल गर्दै यसलाई उत्कृष्ट बनाउनु पर्ने हाम्रो माग रहेको छ । यहाँ पूर्वाधार थप गरेर अझ उत्कृष्ट सेन्टर बनाउन म सरकार र सरोकार पक्ष सँग जोडदार माग गर्दछु । 

हामीले यो बेला यहाँका विभिन्न दलहरूसँग सुमधुर सम्बन्ध राखेर कार्य गरिरहेका छौँ । तर पनि हामीले नेपाली काँग्रेसलाई अन्य दल भन्दा सशक्त र सङ्गठित बनाउनु पर्ने अभिभारा छ । यसर्थ अन्य दलहरूसँग सकारात्मक सम्बन्ध बनाउँदै प्रतिस्पर्धी भएर अगाडि बढ्नुको विकल्प छैन । 

सधैँ र सबै क्षेत्रमा गठबन्धन रहिरहन्छ भन्ने हुँदैन । आज गठबन्धन गरेका दल भोली विरोधी दल हुन सक्छन्, त्यसैले हरेक दलसँग आफूलाई प्रतिस्पर्धी बनाउँदै जानुपर्ने हुन्छ । भविष्यका प्रतिष्पर्धीहरु भन्दा आफूलाई बलियो बनाउन सङ्गठन बिस्तार र पहिलो सङ्गठनका रूपमा स्थापित गर्नका लागि लागिपर्न तपाई, हामी, पार्टीका सबै तह र निकायका साथीहरूलाई सक्रियताका साथ लागिपर्न आग्रह गर्दछु ।

dharan-upamaha-nagar(प्रस्तुत अवधारणा नेपाली काँग्रेस नगर सभापति श्याम पोखरेलले जेठ १९ गते सम्पन्न पार्टीको प्रथम नगर सम्मेलनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनको सम्पादित अंश हो : सम्पादक)