धरान : विश्व सङ्गीत दिवस धरानमा भव्य रूपमा मनाउन धरान सङ्गीत प्रतिष्ठानले तयारी सुरु गरेको छ ।

फ्रान्समा तत्कालीन संस्कृति मन्त्री ज्याक लोले विश्व सङ्गीत दिवस मनाउन सुरुवात गराएका थिए । विश्वभर अङ्ग्रेजी जुन २१ तारिखमा सङ्गीत दिवस मनाइँदै आएको छ । यसपालि उक्त अवसर भोली अर्थात् असार ६ बुधवार परेको छ ।

सन् १९८२ देखि मनाउन थालिएको सङ्गीत दिवस नेपालमा भने २०५४ देखि काठमाण्डूमा मनाइँदै आएको छ । काठमाण्डू बाहिर धरानमा २०७० देखी धरान सङ्गीत प्रतिष्ठानले बनाउँदै आएको हो ।

धरान कला साहित्य र सङ्गीतको उर्वर भूमि रहेकोले विश्व सङ्गीत दिवसको दिन धरानमा चर्चित कलाकारहरूको लाइभ संगीतिक कन्सर्टको तयारी भइरहेको मंगलबार पत्रकार सम्मेलनमा सङ्गीत प्रतिष्ठानले जानकारी दिएको छ ।

संगीतिक समारोहका बिच वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ गीतकार श्याम तमोटलाई सम्मान गरिने भएको प्रतिष्ठानका अध्यक्ष तथा धरान-२ का वडाध्यक्ष रमेश राईले बताए ।

यसपालि विश्व सङ्गीत दिवस धरान-१५ स्थित चुम्लुङ हिममा इण्डोर कन्सर्टको आयोजना गरी मनाइने तयारी थालिएको हो । अघिल्ला वर्षहरूमा भानुचोकमा खुल्ला साङ्गीतिक प्रस्तुति सहित सङ्गीत दिवस मनाइन्थ्यो ।

अध्यक्ष राईले भने ‘यो वर्ष आर्थिक अभावको कारण इण्डोर कार्यक्रम सहित सङ्गीत दिवस मनाउन लागिएको हो ।’

उनका अनुसार अघिल्ला वर्षहरूमा विश्व सङ्गीत दिवसलाई धरान उपमहानगरपालिकाले रातो किताबमै बजेट सार्वजनिक गर्ने गरेको थियो । यसपालि बजेट विनियोजन छुटेकोले आर्थिक अभाव भएको हो ।

उनले भने ‘आउँदो वर्षको बजेटमा रातो किताबमै बजेट समेटिने प्रतिबद्धता मेयर हर्क साम्पाङको जनाउनु भएको छ ।’

यसपालि विश्व सङ्गीत दिवसको मूल नारा ‘सङ्गीत, नाट्य र कला प्रवर्द्धन अभियान’ रहेको उनले बताए । प्रतिष्ठान २०७० सालमा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको अभिभावकत्वमा स्थापना भएको हो ।

प्रतिष्ठानको स्थापना धरानका कलाकारहरूलाई एउटै छाना मुनी समेट्न स्थापना गरिएको अध्यक्ष राईले बताए । प्रतिष्ठानले सञ्चालन गरेको सङ्गीत विद्यालय एकेडेमीमा हाल २५ जना विद्यार्थीहरूले सङ्गीतको शिक्षा लिइरहेका छन् ।

उनले भने ‘विश्व सङ्गीत दिवस प्रतिष्ठानको स्थापनाकाल देखि नै विशेष वार्षिक कार्यक्रमको रूपमा आयोजना गरिँदै आएको छ ।’

यसपालि प्रतिष्ठानले विधिवत् रूपमा स्थानीय सरकार प्रमुखलाई संरक्षक रहने घोषणा गर्दै प्रतिष्ठानमा धरान उपमहानगरपालिका मेयर साम्पाङ प्रतिष्ठानको संरक्षकको भूमिकामा राखिएको अध्यक्ष राईले बताए ।

धरानका राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त गायकहरू मिलन नेवार, सबिन राई, विष्णु चेम्जोङ्ग, दीपक लिम्बु सहित नयाँ तथा पुराना २२ जना कलाकार अहिले चर्चा रहँदै आएको उनले बताए ।

प्रतिष्ठानले सङ्गीतको विकास र प्रवर्धनका दीर्घकालीन र अल्पकालीन योजना वडासँग हामी नामक कार्यक्रम तयार गरेको छ । उक्त योजनाले धरानका सबै वडामा ओझेलमा परेर बसेका कलाकारहरूलाई अघि ल्याउने छ ।

उनीहरूलाई सङ्गीत प्रशिक्षण दिएर सम्बद्ध वडा कार्यालयसँग समन्वय वडामा कलाकारहरूको साङ्गीतिक कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।

प्रतिष्ठानद्वारा सञ्चालित सङ्गीत विद्यालयका विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुतिका रूपमा पाक्षिक कार्यक्रम आयोजना गरिने छ । निजी तथा सरकारी विद्यालयहरूमा सङ्गीत विषयको कक्षा अनिवार्य गर्न पहल गर्दै गायन, वाद्यवादनको प्रतिस्पर्धा गराउने योजना रहेको छ।

अध्यक्ष राईले भने ‘बालबालिका तथा युवाहरूलाई कुलतबाट बचाउन गीत सङ्गीतमा आकर्षित गरी जनचेतना मूलक अभियान सञ्चालन गर्ने प्रतिष्ठानको उद्देश्य हो ।’

दिर्घकालिन योजनमा प्रतिष्ठानको उद्देश्य प्राप्तिको लागी आफ्नै भवन निर्माण गर्ने योजना प्रतिष्ठानले तयार गरेको छ । भवन निर्माणका लागि धरान उपमहानगरपालिका सँग जग्गा प्राप्तिको पहल गरिने अध्यक्ष राईले बताए ।

प्रतिष्ठानले लोपोन्मुख बाजा सङ्कलन गर्ने र सङ्गीत संग्राहलय स्थापना गरी धरानका धरोहर तथा नेपालका गहना वरिष्ठ गायक तथा संगीतकार गायक दीप श्रेष्ठको सम्मानमा 'दीप श्रेष्ठ ट्रस्ट' स्थापना गर्ने अवधारणा अघि बढाएको छ ।