धरान : आगामी बिहार विधानसभाको निर्वाचनलाई लिएर राज्यमा 'बदलाब' को सङ्केत देखिन थालेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । आउटलुकइन्डिया डटकमका अनुसार लामो समयदेखि दुई ध्रुवीय राजनीतिक समीकरणमा अड्किएको बिहारमा यसपटक जनमतको प्रवृत्ति परिवर्तनको दिशामा गइरहेको विश्लेषकहरूको अनुमान छ । तर सम्भावित बदलाबको केन्द्रबिन्दु कुनै पुराना दल होइनन्, बरु नयाँ शक्ति जनसुराज पार्टी बन्न सक्ने सङ्केत देखिएको छ ।
प्रशान्त किशोरको नेतृत्वमा स्थापित जनसुराज पार्टीले पछिल्ला केही वर्षयता गाउँ गाउँमा गरेको पदयात्रा र जनसंवाद अभियानले राज्यमा नयाँ राजनीतिक चेतना जगाएको छ । प्रशान्त किशोरले शिक्षा, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएर 'न जात, न धर्म - अब विकास' भन्ने नारासहित प्रदेशभर जनसञ्जाल विस्तार गरेका छन् । यसले विशेषगरी युवापुस्तामा ठुलो आकर्षण पैदा गरेको छ ।
यसपटक बिहारको विधान सभा निर्वाचनका लागि कुल ७.४२ करोड मतदाताहरू योग्य रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यसमा पुरुष मतदाता लगभग ३.९२ करोड, महिला मतदाता लगभग ३.४९ करोड र तेस्रोलिङ्गि मतदाता १७२५ रहेको बताइएको छ।
बिहारमा हाल १८ देखि ३५ वर्ष उमेर समूहका मतदाताको सङ्ख्या करिब ४५ प्रतिशत रहेको तथ्याङ्कले जनाउँछ । यही समूहमा रोजगारी र अवसरको अभावप्रति असन्तुष्टि गहिरो देखिएको छ । सर्वेक्षणअनुसार, करिब ५० प्रतिशत मतदाताले अहिलेको सरकारप्रति असन्तुष्टि जनाएकाे बिजनेस स्ट्यान्डर्ड डटकमले उल्लेख गरेको छ । राजनीतिक विज्ञहरूका अनुसार यही असन्तुष्टि जनसुराज पार्टीतिर मोडिँदै गएको छ, जसले राज्यको पारम्परिक सत्ता समीकरण हल्लाउन सक्छ ।
तर, विश्लेषकहरूले जनसुराजलाई तुरुन्तै सत्ता परिवर्तनको कारण ठहर्याउन हिचकिचाएका छन् । उनीहरूका अनुसार पार्टीको सङ्गठनात्मक संरचना अझै पूर्ण बनेको छैन, उम्मेदवार छनोटदेखि प्रचार संयोजनसम्म चुनौती बाक्लो छ । साथै, जनसुराजको उदयले सत्ता विपक्षी गठबन्धनका मतदातामाझ विभाजन ल्याउने सम्भावना पनि उच्च रहेको विश्लेषकहरूको भनाइ छ । यसले प्रत्यक्ष सरकार बदल्नेभन्दा बढी, सत्ता समीकरणलाई अनिश्चित बनाउने सम्भावना बढाएको छ ।
वर्तमान सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन र प्रमुख विपक्षी महागठबन्धनबिच सिट बाँडफाँटको खिचातानी सुरु भइसकेको छ । यसबिच जनसुराजले विकल्पका रूपमा आफ्नो ठाउँ बनाइरहेको छ । 'बदलाब चाहने जनताले अब नयाँ बाटो खोजिरहेका छन् । पुराना दलले भरोसा तोडिसके,' प्रशान्त किशोरले हालै पटना बसन्तपुरमा आयोजित सभामा भनेका थिए ।
राजनीतिक विश्लेषक रामानन्द झा भन्छन्, 'जनसुराजले तुरुन्तै ठुलो सिट नजित्ला पनि, तर परिवर्तनको कथा सुरु गर्ने काम यसैले गर्ने सम्भावना उच्च छ । यसको प्रभाव २०२५ भन्दा पनि २०३० तिर प्रस्ट देखिनेछ।'
बिहार विधानसभाका २४३ सिट मा चुनाव हुँदैछ। चुनाव दुई चरणमा हुनेछ, प्रथम चरण ६ नोभेम्बर २०२५ मा १२१ सिटकालागी मतदान हुनेछ भने दोस्रो चरणमा ११ नोभेम्बरमा १२२ सिटकालागी मतदान हुनेछ । चुनावको मतगणना १४ नोभेम्बरमा हुने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।


































































