इटहरी : कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ मुख्यमन्त्री को बन्ला भनेर चर्चा सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रवार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको बाटो खुल्ला भएको हो ।

सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धन तर्फ बराबर मत देखिए पनि विपक्षमा ३ सांसदले मतदान गरेनन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। बराबर अर्थात् ४६/४६ मत भएको अवस्थामा सभामुखले मतदान गर्ने प्रावधान छ ।

सभामुखले कार्कीको पक्षमा मतदान गर्न सक्ने सम्भावनालाई बुझेर विपक्षी दलहरूले बराबर मत नपुर्‍याउने रणनीति लिए । सोही अनुसार माओवादी र काँग्रेसका एक-एक जना सांसदले मतदान गरेनन् । जसपाले बिहीबार नै तटस्थ रहने सङ्केत गरेको थियो ।

अबको मुख्यमन्त्री बन्ला भन्ने चर्चाका बिच विपक्षी गठबन्धनका केन्द्रीय नेतृत्वले मुख्यमन्त्रीको उम्मेदवार तय गर्ने भएका छन् । सभामुखलाई समेत गणना गरेर दाबी पेश गर्ने रणनीति बनाएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा सो भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री चयन गर्ने प्रावधानलाई टेकेर मुख्यमन्त्री तय गर्ने काँग्रेस माओवादीको योजना छ । उता एमालेले सभामुखलाई गणना गरे अदालत जाने सङ्केत दिएको छ । सभामुख स्वतन्त्र भएको जनाउ गर्दै एमालेले उपधारा ३ बमोजिम ठुलो दलको हिसाबमा पुनःकार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

विपक्षी मध्ये काँग्रेस र माओवादीले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । अघिल्लो प्रदेश सभामा काँग्रेसले मुख्यमन्त्री छाडेको कारण यस पटक जसरी पनि पाउनुपर्ने दाबी गरेको हो । काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाहेक विपक्षी सांसदको मतले पुग्दैन । राप्रपालाई सहभागी गराउने प्रयास असफल बन्दै गएको छ । काँग्रेस बाट अन्य कोही उम्मेदवार भए सघाउने राप्रपाले सङ्केत दिएको छ ।

थापा बाहेक मुख्यमन्त्री बन्ने लाइनमा पूर्व आन्तरिक मामिला मन्त्री केदार कार्की छन् । थापा कृष्ण प्रसाद सिटौला लाइनका हुन भने कार्की डाक्टर शेखर कोइराला प्यानलका हुन् । काँग्रेसको केन्द्रीय समीकरणमा सभापति शेरबहादुर देउवाले कोइरालालाई समेट्ने प्रयास अगाडि बढाएका छन् । कोइरालालाई समेटेर काँग्रेस भित्र एकता ल्याउन लागेका देउवाले कार्कीलाई मुख्यमन्त्री बनाउन सक्ने आकलन गरिएको छ ।

अर्कातर्फ माओवादीका नेता इन्द्रबहादुर आङ्बोले राप्रपा सँग समीकरण मिलाउन लागेका छन् । आङ्बो र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका धर्मगुरु एकै हुन् । दुई नेता बिचको व्यक्तिगत सम्बन्धले मुख्यमन्त्रीमा सहयोग पुर्‍याउने आकलन गरिएको छ ।

आङ्बोको पक्षमा पूर्व मुख्यमन्त्री तथा नेकपा एसका नेता राजेन्द्रकुमार राईले समेत खुलेर समर्थन जनाएका छन् । गठबन्धनको केन्द्रीय समीकरण र काँग्रेस भित्रको आन्तरिक राजनीतिक व्यवस्थापनले को मुख्यमन्त्री बन्ने निर्णय गर्ने देखिन्छ ।