धरान : महिलाहरूले पाउने सीपमूलक र आयमूलक तालिमलाई सदुपयोग गर्न सके स्वरोजगार बन्छन् । त्यसले गृहिणीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पनि सघाउँछ भन्ने उदाहरण बनेकी छन् धरान-१५ कि मनिता घिमिरे ।

राजनीतिमा चासो राख्ने मनिता यसअघि फुर्सदको समय दिनभर घरकै यताउताका काम गरेर बिताउँथिन् । काठमान्डुमा बस्दा एक विदेशीबाट उनले अर्ग्यानिक साबुन बनाउन तालिम लिएकी थिइन् ।

पछिल्लो समय धरानमा बस्न थालेपछि फुर्सदको समयलाई अर्ग्यानिक साबुन बनाउने काममा सदुपयोग गर्न उत्प्रेरित भइन् । हिजोआज मनितालाई अर्ग्यानिक साबुन उत्पादनले व्यस्त बनाएको छ ।

उनको उत्पादन बजारमा लोकप्रिय हुँदै छ, खपत राम्रै भए पनि सन्तुष्ट भने छैनन् । भन्छिन् ‘अर्ग्यानिक उत्पादनको माग बजारमा छ तर मार्केटिङमा सहयोग पाइएको छैन ।

स्थानीय सरकारबाट कुनै सहयोग नपाएको उनी बताउँछिन् । महिलाहरूलाई तालिम दिएर मात्र पुग्दैन । स्थानीय सरकारले स्वरोजगारको वातावरण पनि बनाउनुपर्छ ।

भन्छिन् ‘स्थायी सरकारले बजारीकरणमा भूमिका खेलिदिएमा धेरै सहयोग पुग्यो ।’ तर कुनै भूमिका नखेल्दा मार्केटिङमा धेरै समस्याको सामना गर्नुपरेको उनले बताइन् ।

उनको समय अहिले घरमा कोइला, नीम, घ्यु कुमारी, तीतेपाती लगायत विभिन्न जडीबुटीको साबुन उत्पादन गर्ने काममा बित्न थालेको छ । भन्छिन् ‘घरमै अर्ग्यानिक साबुन उत्पादन गर्न थालेदेखि स्वरोजगार बनेकी छु ।'

तालिम लिएको सिपलाई कार्यमा उतार्न लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको उनका भनाई छ । उनले भनिन् ‘मैले सिकेको सीप अरू महिलालाई पनि सिकाउने गरेको छु ।’

भनिन् ‘काठमान्डुमा बस्दा एक जना विदेशीले साबुन बनाउने तालिम दिएका थिए, त्यो सीपलाई सदुपयोग गर्न थालेपछि आम्दानी पनि हुन थाल्यो ।’

उनी आफू मात्रै स्वरोजगार नभई गरिब, विपन्न, कामको खोजीमा रहेका महिलालाई पनि साबुन बनाउन सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिने गर्छिन् ।

सानो सीप भए पनि त्यसैमा लागेर निरन्तर काम गरियो भने साबुन उत्पादन गरेर राम्रै कमाइ गर्न सकिने उनको अनुभव छ । आम्दानी गर्न थालेपछि आर्थिक रूपमा अरूको भर पर्नु नपर्ने घिमिरे बताउँछिन् ।

भन्छिन् ‘हातमा सीप भयो भने जहाँ बसेर पनि जीवन धान्न सकिन्छ ।’, अर्ग्यानिक साबुन बनाउने तालिमले आफूलाई आत्मनिर्भर बनाएको बताउँदै भन्छिन् ‘मैले दुई चार पैसाका लागि अरूसँग हात थाप्नुपरेको छैन ।’

महिला आर्थिक क्षेत्रमा अब्बल नहुँदा घरपरिवारको अवहेलना सहनुपरेको छ । घिमिरेका अनुसार बेरोजगार, विपन्न, फुर्सदिला महिलालाई यस व्यवसायले स्वरोजगारको अवसर सिर्जना गरेको छ ।

अर्ग्यानिक साबुन रसायनरहित हुन्छन् । यी साबुनहरूले एलर्जी निको पार्न र अनुहारमा भएका घाउ र विभिन्न दागहरू हटाउन मद्दत गर्दछ । यहीँ कारण उनको उत्पादन नेपाल अधिराज्यभर पुग्ने गरेको घिमिरेले बताउँछिन् ।

रसायन रहित र सुपथ मूल्यमा पाइने भएकाले मेडिकल पसलमा समेत उनको उत्पादनको माग उच्च रहेको उनले बताइन । तर, घरायसी उत्पादन वा अर्ग्यानिक साबुनको बजारीकरणमा समस्याका कारण यसलाई विस्तार गर्न कठिनाइ भएको उनले बताइन् ।

सानै उमेर देखि महिला उद्यमी बन्ने सपना देखेकी बताउने मनिताले उद्यमी बन्नका लागि धेरै सङ्घर्ष र चुनौतीहरूको सामना गर्नुपरेको बताइन् । भनिन् ‘मैले जागिर खान्छु भनेर सोचिन बाल्यकाल देखि नै स्वरोजगार बन्ने चाहना थियो ।’

manita-sabonsaboon-manit