धरान : जेनजीको नाममा अराजक समूहले धरान स्थिति भाटभटेनी डिपार्टमेन्ट स्टाेर मा मङ्गलवार राती ८ बजे लुटपाट गरी लगाएको आगो आज बिहीबार दिउँसो २ बजे  ४२ घण्टा बित्दा पनि पूर्ण रूपमा निभाउन सकिएको छैन ।

धरान-१० पुतली लाइन स्थित डिपार्टमेन्ट स्टोर लगाइएको आगो नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको २ वटा दमकलले ५०/५० पटक पानीको ट्रिप लगाउँदा पनि आगो निभ्न नसकेको हो ।

आगो पूर्ण रूपमा नियन्त्रणमा नआए पछि हिजो बुधवार दिउँसो २  बजेदेखि वराहक्षेत्र नगरपालिकाको दमकल पनि आएर आगो निभाउने कार्यमा जुटेको छ ।

आगो डिपार्टमेन्ट भित्रका सामान पनि जलिरहेकोले भवन जलिरहेको कारण भित्र पसेर नियन्त्रण गर्न गाह्रो भएको दमकलका कर्मचारीहरूले बताएका छन् । 

भवनमा ४ जना फसेको आशङ्का

भाटभटेनी तोडफोड र लुटपाट गर्नेहरू मध्ये ४ जना भवन भित्रै फसेको आशङ्का गरिएको छ । आगालागिमा आफ्ना छोराहरू फसेको हुनसक्ने भन्दै ४ जनाका अभिभावक खोज्दै आएको भाटभटेनीका सुरक्षागार्ड युवराज राईले बताए ।

उनीहरूले आफ्ना छोराहरू मङ्गलवार साँझ देखी घर नआएकाले भिडमा सँगसँगै भाटभटेनीमा आएको हुनसक्ने बताएको सुरक्षा गार्डको भनाई छ ।

गार्ड राईका अनुसार मङ्गलवार साँझ ५ बजे नै भटभटेनी बन्द गरिएको थियो । पछि भिडले सटर तोडफोड गरी लुटपाट गरेपछि आगो लगाए । उनले भने ‘आगो लगाउँदा कर्मचारी कोही पनि भित्र थिएनन् तर तोडफोड गर्दै भित्र प्रवेश गरेर माथिल्लो तला पुगेका केही युवाहरू भुईतलाबाट आगो सल्किएपछि निस्कन नपाएर फसेका हुन सक्छ ।’