धरान : धरान सहित डेङ्गु प्रभावित सुनसरीका स्थानीय तहमा स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अलपत्र परेको छ ।

धरानमा डेङ्गुको महामारी नियन्त्रण बाहिर गएको निष्कर्ष सहित सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिले सङ्घीय गृह मन्त्रालय एवं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयलाई धरान सहित डेङ्गु प्रभावित नगर क्षेत्रलाई स्वास्थ्य सङ्कटकाल घोषणा गर्न सिफारिस गरेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सङ्कटकाल घोषणा सिफारिस गर्ने निर्णय गरेको साता दिन बित्न लाग्दा पनि त्यस बारे कुनै प्रतिक्रिया नआएको सरोकारवाला संस्थाले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले भने ‘स्वास्थ्य सङ्कटकालको सिफारिसको  विषयमा कुराकानी गर्न आज (मङ्गलवार) मुख्यमन्त्री उद्धव थापा ज्युसँग भेट्दै छु ।’ उनले त्यस बारे सङ्घीय सरकारको सम्बद्ध निकायसँग पनि सम्पर्क गर्ने बताए ।

उनका अनुसार अहिले सम्म उक्त विषयमा सरकारी निकायको प्रतिक्रिया आएको छैन । डेङ्गु महामारीलाई नियन्त्रण गर्ने विषयमा सोमवार धरानमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, स्वास्थ्य मन्त्री निर्मला लिम्बुको उपस्थितिमा सर्वदलीय, सर्वपक्षीय बैठक बस्ने भएको थियो ।

उनले भने ‘प्राविधिक कारणले उक्त बैठक बस्न सकेन, बैठक बसेको भए स्वास्थ्य सङ्कटकालको विषयमा पनि छलफल हुने थियो ।’

डेङ्गु विरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएको जनता समाजवादी पार्टीका धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बुले स्वास्थ्य सङ्कटकाल घोषणा भएमा सरकारका सम्पूर्ण निकायहरू डेङ्गुको उपचार र नियन्त्रणमा केन्द्रित हुने अवस्था आउने थियो । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला जसपाकी हुन ।

अध्यक्ष लिम्बुका अनुसार जिल्लाबाट सिफारिस गएको सत दिनमा पनि प्रदेश तथा सङ्घीय सरकारबाट त्यसको रेस्पोन्स नहुनु विशेष धरानको लागि दुःखलाग्दो विषय हो । यस्तो अवस्थामा स्थानीय सरकार आफैले पनि स्वास्थ्य सङ्कटकाल घोषणा गरेर डेङ्गु विरुद्ध अभियान चलाउनु जरुरी भएको उनले बताए । 

डेङ्गुको समस्या लरतरो उपायले नियन्त्रणमा नआउने छिमेकी मुलुक बांगलादेशमा डेङ्गुले पुर्‍याएको मानवीय क्षतिका घट्नाले पुष्टि गरेको छ ।  

आजै सञ्चार माध्यममा आएको सिन्व्हाको समाचार अनुसार बङ्गलादेशमा सोमवार २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको छ । त्यहाँ डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

त्यहाँ दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । अहिले सम्म सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप २ हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको सङ्ख्या ७५ हजार २ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यहाँ यस वर्षको अगस्टमा १ सय ४७, जुलाईमा २ सय ४ र जुनमा ३४ जनाको मृत्यु भएको थियो  । गत महिना ४३ हजार ८ सय ५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५ सय ७९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।