धरान : धरानमा डेङगु महामारी फैलिएको तिन महिना बितिसक्दा पनि स्थानिय सरकार धरान उपमहानगरपालिको रोकथामको प्रभावकारी उपाय अपनाएको छैन ।

उपमहानगरपालिकाकै स्वास्थ्य महाशाखाले फगिङ धुवा उडाउने उपाय प्रभावकारी नभएको सार्वजनिक रूपमा बताउँदै आएको छ । स्थानिय सरकारले प्रभावकारी उपाय कार्यान्वयन नगर्दा घर घरबाट १०० रुपैयाँको दरले रकम सङ्कलन गरेर टोल टोलका जनता फगिङ नै गरिरहेका छन् ।

धरानमा बढेको डेङगुको महामारीका कारण बिरामीको चाप बढेकाले वीपी प्रतिष्ठानले कोभिड अस्पताललाई डेङगु अस्पतालमा परिणत गरेको छ । अधिकारीक तथ्याङ्क नभए पनि धरानमा डेङगुको निहुँबाट मृत्यु हुनेको सङ्ख्या आधा दर्जन पुगेको छ ।

वीपी प्रतिष्ठानले साउन ७ सम्म ८१९ जनाको परीक्षण गर्दा ७५ दशमलव ०९ प्रतिशत अर्थात् ६१५ जनामा डेङ्गु सङ्क्रमण देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ । अस्पताल नजाने ज्वरोको बिरामीहरू धरानका घर घरमा पाइन्छ ।

धरान-५ का मजदुर सूर्य गहतराजको ४ जनाको परिवारमा ३ जना ज्वरोका बिरामी रहेका छन् । घरमुली गहतराजले ५ दिन देखि ज्वरो आएर उठ्न सक्ने स्थितमा नभएको बताए । उनी अस्पताल जान सकिरहेका छैनन् ।

औषधि उपचार गर्न आर्थिक अवस्था कमजोर भएका उनले भने ‘डेङगुबाट बच्न फगिङको लागि १०० रुपैयाँ दिनै पर्‍यो ।’

धरान-५ देउरालीको सगरमाथा टिएलो, समानता टिएलो, देउराली खानेपानी संस्थाले प्रत्येक घरबाट फगिङको लागि १०० रुपैयाँ उठाएको छ । सगरमाथा टिएलोमा ३ सय घर, समानतामा १५० घर परिवार छन् ।

दैनिक ज्याला मजदुरीमा निर्भर उनीहरूका एकै घरमा २ देखि ३ जना बिरामी छन् । महामारीको भयमा उनीहरू डेङगुबाट बच्न नखाई नखाई पैसा दिइरहेका छन् ।

धरान-५ का वडाध्यक्ष मन प्रसाद लिम्बूले भने फगिङ नेपाल सरकारले प्रतिबन्ध लगाए पनि जनताको अत्यधिक माग अनुसार गरिएको बताउँछन् । वडा कार्यालयले रकम नउठाएको, पैसा सङ्कलन गरेकोमा वडाले आपत्ति जनाएको उनले बताए ।

उनका अनुसार डेङगु नियन्त्रणको प्रभावकारी उपाय भनेको लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने सर्च एण्ड डिस्ट्रोईड हो । तर त्यो अभियान सबै टोलमा गर्न नसकेको बताउँदै भने ‘तल्लो देउराली सामुदायिक टिएलोबाट सुरु गरिएको छ ।’

स्थानिय सरकार उपमहानगरपालिका र वडा कार्यालयहरूले सर्च एण्ड डिष्ट्रोय अभियान समयमा सञ्चालन नगर्दा धरानमा डेङगुले मानिसको मृत्यु हुने अवस्था सम्मको स्थिति पैदा भएको वडाध्यक्ष लिम्बुको कथनले पुष्टि गरेको छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रत्येक वडामा स्वास्थ्य सेवाको शीर्षक छुटाएर बजेट निकासा भएको छ । तर डेङगु नियन्त्रणका लागि उठाउनु निन्दनीय हो । उनले फगिङ कार्य  जनतालाई सान्त्वना दिनका लागि मात्र गरिएको बताउँदै आएका छन् ।

फगिङ्ले लामखुट्टे नष्ट नगर्ने बरु स्वास्थ्यमा प्रतिकुल असर पर्ने उनको भनाई छ । फगिङबाट दिर्घरोगीहरु दम रोगी, बालबालिका, गर्भवती महिला,चराचुरुङ्गी लगायतले प्रत्यक्ष असर गर्ने स्वास्थ्य शाखाले जानकारी दिदैं आएको छ ।

तर वडा वडा, टोल टोलमा डेङगुबाट बच्न फगिङ नै गरिरहेको देखिन्छ । सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घमा स्थानीय सरोकारवालाहरूको अन्तरक्रिया पर्यटन व्यवसायी वासुदेव बरालले  भने ‘घर घरमा डेङगु भई रहेको बेला स्थानीय सरकार मौन भएर बसेको छ ।’

उनले धरान उपमहानगरपालिकाले यस्तो महामारीलाई गम्भीरता पूर्वक नलिएर धरानवासीको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाए । उनले प्रश्न गरे ‘महामारीमा मेयर आफैले टिएलओ भेला गरेर जनता सँग रकम उठाएर धुलो छर्क भन्नु कस्तो स्थानीय सरकार हो ?

उनले महामारीमा स्थितिमा मेयर उपमेयर कोष खर्च नगरी मेयर उपमेयर कोष व्यक्तिगत स्वार्थमा खर्च गर्ने खोजिएको आरोप समेत लगाए ।