•  रोहित कुलुङ राई

धरान : डेङ्गुको महामारीले धरानमा ७ जनाको ज्यान लिइसकेका छ । दिनमा २ सय भन्दा बढी डेङ्गु सङ्क्रमण भएको तथ्याङ्कले देखाउँछ । स्वास्थ्य संस्थामा जाँच नगर्नेको सङ्ख्या यकिन भन्न सकिने अवस्था छैन । एक घर दुई डेङगुका बिरामी रहेको अनुमान गरिएको छ ।

तर स्थानिय सरकार धरान उपमहानगरपालिकाले नियन्त्रणको प्रभावकारी उपाय लामखुट्टेको लार्भा नष्ट गर्ने सर्च एण्ड डिस्ट्रोय सबै वडामा कार्यान्वयन गरेको छैन ।

डेङ्गुको सङ्क्रमण बढेपछि जन दबाबका कारण मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघा बुधवार अनुगमनमा निस्किए । उनीहरूको अनुगमन डेङगु विरुद्धको अभियानलाई प्रभावकारी बनाउने भन्दा युट्युबमा प्रचार बढी गर्ने शैलीको देखियो ।

मेयर साम्पाङ र उपमेयर बेघा सहितको स्वास्थ्य विभागको टोली धरान–१५ नमुना श्रुति मार्ग टोल एरियाको अनुगमन गरेको हो । सर्च टोली १० जना थिए तर विडम्बना क्यामरा बोकेर २५ जना युटुवर फेसबुकर, पत्रकार अघि पछि देखियो ।

लार्भा सर्च एण्ड डिष्टोय गर्ने भन्दै आएको उक्त टोलीले डेङगो नियन्त्रणको काम भन्दा बढी भिडियो, फोटो खिच्ने काम गरेको देखियो । टोलीले काम भन्दा बढी तामझाम गरेको भन्दै धरान-१५ का सन्देश राई भन्दै थिए ‘यो भन्दा राम्रो स्टन्ट बाजीको प्रमाण यो भन्दा अरू हुँदैन ।’

उनका अनुसार रोडमा फगिङ्ग अर्थात् धुवा हाने पछि लामखुट्टे भागेर घर भित्र पस्ने गर्छ । फगिङ्ग गर्ने नै भए घर भित्र घर वरिपरि गरिदिए हुन्थ्यो । रोडमा हान्दै हिँड्नु पनि स्टन्टबाजी नै हो । यसरी डेंगु नियन्त्रण हुँदैन फेसबुके प्रचार बाजीले झन् समस्या निम्ताउँछ ।

स्थानीय सरकार सँग राज्यको संयन्त्र छ नगरपालिका, वडा, टिएलओ, प्रहरी प्रशासन, नगर प्रहरी, स्वास्थ्य विभाग र सामाजिक संघसस्थाहरुलाई परिचालन गर्दा पनि डेंगु महामारी नियन्त्रण गर्न  सकिने स्थानीयवासीको भनाई छ ।

तर नगरपालिका बाट पनि कुनै ठोस योजना आएको देखिन्न । वडाहरूबाट पनि प्रभावकारी कार्यहरू भएका छैनन् । स्थानीय सरकारबाट जनचेतना मूलक सूचना पनि भएको छैन । सबै जनता सामाजिक सञ्जाल युटुव फेसबुकको पहुँचमा छैन सामाजिक सञ्जालको पहुँचबाट टाढा रहेका जनतालाई अन्य माध्यमबाट चेतना दिन जरुरी भएको धरान-१५ का नवराज धिताल बताउँछन् ।

डेंङगु महामारीको बेला धरानका राजनीति दल कतै नभेटिएको उनी बताउँछन् । केही दलहरूले प्रचार गरेको सामाजिक सञ्जालमा देखिन्छ त्यो पनि स्टेन्ट बाजि झैँ लागेको उनको भनाई छ । उनले भने ‘प्रभावकारी योजना तय गरेर लागेको धरानको कुनै पनि राजनीति दलको योजना छैन ।’

डेंगु एडिज प्रजातिको लामखुट्टेले टोकेपछि पछि सर्ने भाइरस हो । यो प्रजातिको लामखुट्टे प्राय: दिउँसो सक्रिय हुने जनस्वास्थ्यकर्मीहरू बताउँछन् । यसलाई पोथी लामखुट्टे पनि भनिन्छ । यो प्रजातिको लामखुट्टेले सफा पानीमा लार्भा उत्पादन गर्दछ ।

धरानमा पानीको समस्या भएको कारण हरेक घरमा पानी जम्मा गरेर राख्ने भएको कारण पनि हरेक वर्ष डेंगु ज्वरोको महामारी बढेको हो । तर पानीको कुरा गर्‍यो भने मेयर साम्पाङका समर्थकहरूले फेसबुकमा तथानाम गाली गलौज गर्ने गरेका छन् ।