इटहरी : अग्रज पत्रकार कृष्ण भट्टराईका छोरा सोमबार दिवङ्गत भए । लामो समय देखी पत्रकारितामा आबद्ध भट्टराई एसियन लाइफ इन्स्योरेन्स इटहरी शाखाको प्रबन्ध निर्देशक हुन् ।

कलिलै उमेरमा छोराको देहावसान पछि बिछिप्त भएका भट्टराईले अनेकौँ प्रश्न सहित छोरालाई सम्झिएका छन् । सोमबार बिहान आत्महत्या गरेका छोराको सम्झनामा भट्टराई लेख्छन्, "हुर्किएको, भरोसा गरेको मुटुको टुक्रा अकस्मात् धुवाँ र खरानीमा परिणत गर्नु पर्‍यो । ज्योतिषीले भन्थे यो 'छोरो धेरै भाग्यमानी छ । यो छोरो असल मान्छे बन्छ ।'

२०५९ साल पुस २७ गते नेपाल समाचारपत्रको १९ औ वार्षिकोत्सव मनाएर राती ९ बजे कोठामा फर्किदा तिम्री मामु ऐया ऐया भनिरहेकी थिइन्  । मैले तत्काल रेडक्रसको एम्बुलेन्स बोलाएर बिपी प्रतिष्ठान धरानको गाइनाे वार्डमा पुर्‍याए को करिब ४ घण्टापछि पुस २८ गते बिहानको ३ बजेर १६ मिनेटमा तिम्रो धर्ती आगमन हुँदा तिम्री मामु र म जति खुसी भएका थियौँ । हिजो बिहान विश्वकर्मा पूजा गर्न आऊ बाबु भनेर बोलाउन जाँदा जुन अवस्थामा तिमी थियौ मेरो लागि संसारै अन्धकार भयो ।

म भन्दा पनि मामुसँग २४ घण्टामा १६ घण्टा सँगसँगै हुने तिमिलाई मामुले गर्ने माया त तिमिले बुझेकै थियौँ । म पनि त तिम्रै भविष्यको लागि दिन रात आफ्नो पेसामा तल्लीन थिए ।

आफ्ना सन्तानको लागि कसले पो भलाई नसोच्ला ! मैले पनि तिमी र तिम्री दिदीकै भविष्यका लागि दुःख गरिरहेको थिए । मलाई केही चिन्तित देख्दा "चिन्ता नगर्नु बाबा म छु नि !" भन्ने तिमिले तिमिलाई परेको समस्या किन मलाई भनेनौ ? मलाई भन्न गार्हाे भएको भए मामुलाई भनेको भए पनि त हुने थियो । नभए तिम्रो सबै समस्या बुझ्ने दिदी भिनाजु पनि हुनुहुन्थ्यो । यति धेरै सहयोगी आत्मियजन हुँदाहुँदै तिमिले कसरी आँफुलाई एक्लो महसुस गरेऊ र आँफुलाई गलत निर्णय तर्फ डाेहाेर्यायाै ?

म फिल्डमा गएको बेला गाडी बिग्रियो वा चाबी हरायो भने भाइ यस्तो भयो भन्दा बाबा म आउँछु सहयोग गर्न हजुर लोकेसन दिनु चिन्ता नगर्नु भनेर तुरुन्त स्पेयर चाँबि र मेकानिक्स लिएर पुग्थ्यौ । मलाई मेरो असल छोरो छ भनेर कति गर्व थियो । अब त्यस्तो समस्या पर्दा मलाई कसले सहयोग गर्ला । आखिर मैले तिमिले मागेको कुरा मेरो बल बुताले भ्याएसम्म पूरा नगरिदिएकाे पनि त हैन ।

पछिल्लो पटक तिम्रो त्यस्तो कुनै डिमाण्ड पनि मलाई भनेका थिएनौँ । म विश्वकर्मा पूजा पछि ड्राइभिङ सिक्न जान्छु भन्दा २ गते देखिनै जानू म कुरा गरिदिन्छु भनेकै थिए । २ गते  नै नआई किन त्यस्तो निर्णय गर्‍यौ ।

घरभरि तिम्रा शुभचिन्तकहरू हुँदा हुँदै कसरी खुसुक्क निर्णय गर्‍यौ । जीवनमा मेरो आँखाबाट यसअघि यति धेरै आँसु कहिल्यै बगेको थिएनन् । जुन तिम्रो वियोगले बगिरहेका छन् । झन् तिम्री मामुको हालत के होला ।

अस्ति शुक्रवार राती मामु सिकिस्त बिरामी हुँदा मामुलाई अङ्कमाल गर्दै मामु म हजुरलाई छोड्न सक्दिन भनेको कसरी दुई दिनमै सदाका लागि छोडेर जान आँट गर्‍यौ । प्रत्येक बिहान बेलुकै मलाई बाबा औषधी खाने बेला भयो खाई हाल्नु त भनेर तातो पानी ल्याएर कसले देला । बेलुका खाना खाने बेला हुन लाग्यो छिटो आउनु है भनेर कसले भन्ला ? अब तिम्री मामु तिम्रो अभावमा कसरी दिन बिताउँलिन ? तिमिले केही कुरा सोचेनौ । मैले तिम्रो भावना बुझ्न नसकेरै तिमिले त्यस्तो निर्णय गर्‍यौ कि ?  तर तिमिलाई बाबाको कामको बाध्यता पनि त थाहा थियो नि ! त्यही भएर म बाबाले गरेजस्तो कामचाहिँ गर्दिन फरक काम गर्छु भन्थ्यौ । तर तिमिले गरेको निर्णयले तिम्रा म, मामु र दिदी, भिनाजु मात्र हैन सारा आफन्त जन शोकमा डुब्नु भएको छ । तिमिले छोटो समयमै हामीलाई माया मारेर गयौ । आत्माले शान्ति पावस, स्वर्गमा वास होस । मैले यो भन्दा बढी केही भन्न सकिन बाबु ।