इटहरी : इटहरीको प्रमुख पर्यटकीय गन्तव्य तालतलैया जाने प्रवेश द्वार देखिनै खाल्डाखुल्डी सुरु हुन्छ । इटहरीको जुटविकाश चोकबाट भेटघाट चोकसम्म पुग्दा सवारीले सयौँ खाल्डाको सामना गर्नुपर्छ । भेटघाट चोकमा खाल्डा मात्र हैन बर्खाको समयमा पोखरी नै हुन्छ । हिउँदमा धुलो र बर्खामा हिलोले वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् पर्यटक ।

स्थानीय व्यापारी रञ्जन शमशेर धितालका अनुसार बाटोले गर्दा स्वास्थ्यमा पनि समस्या बढेको र व्यवसाय पनि खच्चीदै गएको छ । पर्यटकीय क्षेत्र जाने बाटो ४ वर्ष देखी नबन्दा व्यापारीलाई मात्र हैन स्थानीय उपभोक्तालाई समेत समस्या परेको उनको भनाइ छ । हरेक दिन जसो सानातिना दुर्घटना हुने बताउँदै उनले धुलो र हिलोले बस्ने अवस्था नभएको बताए ।

भेटघाट चोक आसपास मात्र हैन इटहरीको मुख्य बजार क्षेत्रमा पर्ने बिपी चोकको अवस्था पनि उस्तै छ । इटहरी बसपार्क आउने जाने मुख्य केन्द्रमा रहेको बिपी चोकमा सवारी चाप अत्याधीक हुने गर्छ । सोही चोकको एक सटरमा व्यवसाय गर्दै आएका रोशन शाह स्थानीय सरकारले चासो नदिँदा व्यापार व्यवसाय चौपट भएको बताउँछन् ।

‘द क्यामेरा हाउस’का सञ्चालक उनले स्थानीयले धेरै पटक कुरा गरेको तर खाल्डो भयो भने गिटि हाल्ने र धुलो हुँदा कहिलेकाहीँ पानी हाल्ने बाहेक काम नभएको जानकारी दिए । उनले भने ‘२ वर्ष देखी यस्तै समस्या भोग्नु परेको छ । उपमहानगरपालिकाले वास्ता गरेको छैन । आँखामा पट्टी बाधेको जस्तो लागेको छ । धुलोको कारण पसलमा सिसा लगाउनु पर्छ । सिसा लगाउँदा पसल बन्द भयो भनेर ग्राहक आउँदैनन् । घर भाडा र ब्याजदर बढेर कहाँ पुगिसक्यो । व्यापार घटेको घटै छ ।’

रोशन र रञ्जनलाई मात्र हैन । इटहरीको मुख्य बजार क्षेत्रमा अहिले धुलो र हिलोको समस्या उस्तै छ । ६ लेन सडक निर्माण सम्पन्न नहुँदा विराटनगर लाइनमा झनै समस्या छ । त्यस सँगै गोल्डेन चोक देखी बसपार्क सम्म, जुट विकाश चोक देखी उत्तरका सडकहरू मर्मत नहुँदा व्यापारी व्यवसायी तथा स्थानीय मारमा छन् ।

सङ्घीय सरकार र विश्व बैङ्क भर

जुट विकाश चोक बाट भेटघाट चोक हुँदै तालतलैया देखी केही पश्चिम सम्मको लगभग ८ किलोमिटर सडकमा विश्व बैङ्कले लगानी गर्ने भएको छ । इटहरी उपमहानगरपालिकाले डिपिआर स्वीकृतिको लागि पठाइसकेको इन्जिनियर जीवन घिमिरेले बताए । उनका अनुसार इटहरी २, ३ र ४ नम्बर वडामा बन्ने सडकको छुट्टाछुट्टै मापदण्ड बनाइएको छ । ४ नम्बर वडामा ५० फिट, ३ नम्बर वडामा ६० फिट र २ नम्बर वडाको क्षेत्रमा ३२ फिट चौडाइको बाटो निर्माण हुने भएको छ । तर कहिले सम्म निर्माण सम्पन्न हुने भन्ने यकिन भएको छैन ।

बिपी चोकको सडकको हकमा मिलन चोक देखी हटिया लाइन हुँदै बसपार्क सम्मको बाटो नयाँ योजनामा समेटिएको छ । सङ्घीय आयोजना कार्यनयन इकाई मार्फत सङ्घीय सरकारको बजेटमा सो सडक मर्मत गर्न लागिएको हो । आयोजनाका इन्जिनियर सुदिप झाका अनुसार सुरुमा प्रस्ताव गरिएको ५ करोडको कार्यक्रमलाई बढाएर २० करोड पुराइएको छ । बहुबर्षे आयोजना स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पेस भएको बताउँदै उनले यसै वर्ष अनुमति मागिएको हुँदा आगामी वर्ष निर्माण सम्पन्न गर्नेगरि काम अगाडी बढ्ने बताए ।

उपमहानगरपालिकाले आयोजना समक्ष मिलन चोक देखी बसपार्क सहितका १६ वटा योजना प्रस्ताव गरेको छ । आयोजनाले २० करोडको लागि स्वीकृति मागेको हुँदा अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बजेट अनुसारका आयोजना निर्माण हुने भएका छन् ।

सङ्घीय सरकार र विश्व बैङ्कको लगानीमा सडक मर्मत तथा निर्माण गर्नुपर्ने भएकाले कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्ने बारे यकिन मिति तय हुन सकेको छैन । बाटो निर्माण सम्पन्न नभएसम्म स्थानीयले समस्या भोग्नुको विकल्प छैन ।

itahari sadak patra

itahari sadak patra 2