धरान :  विराटनगरस्थित सडक डिभिजन कार्यालयले धराप थापेको जस्तै खाल्डाखुल्डी बनेको कोशी राजमार्ग मर्मत गर्न शुरु गरेको छ । सडक डिभिजनले मंगलबारदेखि धरानको वरगाछी, ट्राफिक प्रहरी कार्यालयअघिको खाल्डाखुल्डी मर्मत गर्न थालेको हो । तर, मर्मतको काम भने टालटुले किसिमको मात्र भइरहेको छ । कार्यालय आफैले इमल्सन हालेर तत्कालको लागि मात्र खाल्डाखुल्डी टालेको हो । यो विधि टिकाउ नहुने सडक डिभिजन आफै स्वीकार गर्छन । त्यसो हो भने किन टालटुले काम मात्र गरेको ? भन्ने प्रश्नको जवाफमा साइट सुपरभाइजर गणेश कोइराला भन्छन्,‘अहिले दशैं तिहारको लागि मात्र तत्काल खाल्डाखुल्डी पुर्ने र सहज यातायात चलाउने उद्देश्यले हो । पिच गर्ने काम पछि ठेक्का लागेर मात्र हुन्छ ।’ कार्यालयबाट धरानको जिरो पोइन्टसम्म खाल्डाखुल्डीमा इमल्सन हालेर पुर्ने निर्देशन भएको कोइरालाले बताए । उनका अनुसार इमल्सन अलकत्रा जस्तो तर पातलो केमिकल हो । त्यसलाई सिलिकन(चालेको गिटी) र सिमेन्टीसँग मिसाएर खाल्डोमा हाल्ने र रोलरले पेल्ने विधि भएको कोइरालाले बताए । ‘२४ घण्टासम्म पानीबाट चै बचाउनुपर्छ, र मात्र राम्रो हुन्छ,’उनले भने,‘तर धरानमा न नहुने रहेछ । बाटो छेउको मोटरसाइकल वर्कसपबाट बगेको पानीले र धुलो उड्यो भनेर सडकमा हाल्ने पानीले सेटिङ हुनै नदिने रहेछ ।’ उनले ठुला खाल्डाखुल्डी मात्र पुर्ने बताए । आफ्नो कार्यालयअघि सडक डिभिजनले खाल्डा पुरेको प्रत्यक्ष देखेका एक ट्राफिक प्रहरीले सडक डिभिजनले झारा टार्ने काम मात्र गरिरहेको बताए ।

2 15

‘काम गरेपछि टिकाउ हुने खालको गर्नुपर्छ । अहिले गरेको काम लामो टिक्दैन, झारा टार्ने काम मात्र भएको छ,’ती ट्राफिकले भने । कोशी राजमार्गको इटहरी–धरान सडकखण्ड ठाउँ ठाउँमा ठुला खाल्डाखुल्डी परेर धराप जस्तै बनेको छ । जसले सवारी आवागमनलाई असहज मात्र बनाएको छैन, दुर्घटनाको जोखिम अत्यधिक बढाएको छ भने धुलो उडेर स्वास्थ्यमा पनि असर पुगिरहेको छ । करिब दुई साताअघि धरानका जनप्रतिनिधिहरु आफै सडक डिभिजनमा पुगेर चाडो मर्मत गर्न दबाब दिएका थिए । सडक डिभिजनले यो सडकखण्ड मर्मत गर्न बर्षेनी लाखौं खर्चने गरेको छ, तर एक बर्ष पनि टिक्दैन । ठेकेदारसँग मिलेमतोमा केमिशनमा काम गर्ने भएकोले गुणस्तरीय नहुने जानकारहरु बताउँछन् ।