धरान : कोशी राजमार्गअन्र्तगत इटहरी–धरान–धनकुटा सडकखण्ड पुनर्निमाणमा लापरवाही गर्ने सडक डिभिजन कार्यालयका विराटनगरका तत्कालीन प्रमुख डिई जितेन्द्र चौधरी कारबाही स्वरुप सरुवा भएका छन् । उनी सरुवा भएपनि सडकको हालत भने अझै पनि उस्तै छ ।
गत असोज ७ गते धरानका ६ जना वडा अध्यक्षहरु सडक चाडो पुनर्निमाणको माग गर्दै डिभिजन कार्यालय विराटनगर गएका थिए । अत्यन्तै ब्यस्त सडकमा जताततै खाल्डाखुल्डी भएर दिनहुँ दुर्घटना हुदा पनि सडक डिभिजनले मर्मत गर्न चासो नदिएपछि अध्यक्षहरु आफै डिभिजन कार्यालय पुगेका थिए । तर, प्रमुख डिई चौधरी भने विदा पनि नमिलाई डेढ महिनादेखि कार्यालयमा नआएको खुल्यो । धरानका वडाअध्यक्षहरुले तत्काल जिल्ला प्रशासन कार्यालय मोरङमा गएर डिभिजन कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएपछि सहायक प्रजिअ उमेश पाण्डेले ३ दिने स्पष्टीकरण लिएका थिए । ‘हामीले सडक विभाग, सर्तकर्ता केन्द्रलगायत सबैतिर घटनाबारे जानकारी गराएर कारबाहीको लागि पठायौं, त्यसपछि उनको सरुवा भयो,’पाण्डेले भने । डिभिजन प्रमुख सरुवा भइसके पनि इटहरी–धरान सडक खण्ड र धरानको तीनकुनेदेखि वरगाछी, भोटेपुल, भानुचोक, छाताचोक हुदै जिरोपोइन्टलगायत सडकमा भएको खाल्डाखुल्डी अझै पुरिएको छैन । अध्यक्षहरु डेलिगेशन जादा दशै अघि नै सबै खाल्डाखुल्डी पुर्ने आश्वासन सडक र जिल्ला प्रशासनले दिलाएको थियो । तर, त्यो पनि पुरा भएन । ती खाल्डाखुल्डीमा परेर थुप्रै दुर्घटनाहरु भइरहेको छ । सडक डिभिजनले हरेक बर्ष ठेक्कालगाएर मर्मत गराउने गरेपनि कमिशनमा मिलेमतो हुदा गुणस्तरीय काम नभएर एक बर्षपछि नै सडक पुनः भत्कन थालिहाल्छ । 

3 15

दशैअघि सडक डिभिजनले धरानमा सडक टालटुल गर्न थालेको थियो । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरान ८ अघिको खाल्डा मात्र पुरेर काम रोकियो । सडक डिभिजनले इमल्सन हालेर खाल्डा पुर्ने काम थालेको थियो । ‘दशैअघि सबै टालटुल गर्छौ भन्थे, इमल्सन ल्याएर टालेजस्तो गरेर छोडेको छ,’वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले भने,‘हाम्रो डेलिगेशनले नै डिइ सरुवा भइसके, तर सडकको दुरावस्था नै छ । ब्यस्त राजमार्गको यो हालत हुदा पनि वेवास्ता गर्नु चरम लापरवाही हो ।’ स्थानीय तह आफैले मर्मत गराउदा बेरुजु भएर कारवाहीमा परिने भएकोले आफुहरुले काम गर्न नसक्ने पनि उनले बाध्यता प्रकट गरे । मुख्य राजमार्ग सडक विभागअन्र्तगत हुने र उसैले मात्र खर्च गरेर निर्माण वा मर्मत, पुननिर्मण गर्न पाउछ ।
सडक डिभिजनका साइड इञ्जिनियर गणेश कोइरालाले ठेक्का नलगाई कार्यालय आफैले खाल्डाखुल्डी टाल्ने काम गरिरहेको हुनाले जनशक्ति अभावमा छिटो काम हुन नसकेको बताए । आज(मंगलबार)देखि पुनः तरहराबाट सडक टाल्ने काम शुरु गरेको उनले बताए । ‘हाम्रो जम्मा ४ जना मात्र स्टाफ छन्, ठेक्का लगाएको भए चै छिटो काम हुन्थ्यो । थोरै स्टाफलाई कति पेलेर काम गराउनु ?,’उनले भने,‘केमिकल पनि सकिन लागेको छ, दुर्घटना धेरै भएकोले जंगलको खाल्डाखुल्डी पहिला पुछौं, र केमिकलले जति भ्याउछ त्यतिसम्म काम गर्छौ ।’

3 15