धरान : मानिसले आफ्नो सुविधाको लागि आविष्कार गरेको विज्ञान प्रविधिबाटै अहिले मानवीय जीवनमा तनाव सिर्जना गरेको छ । प्रविधिको सदुपयोग नगर्दा ध्यानमा विशृङ्खलता आएर बढ्ने तनाव न्यूनीकरण गर्न जीवन शैलीमा परिवर्तन आवश्यक छ ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्राध्यापक ई.वी.गिरिसले भने ‘सामान्य मानिने मोबाइलको रिङगटोनले मानिसको एकाग्रता भङ्ग गर्ने अवस्था छ ।’ कतिपय स्थितिमा मानिसलाई रिस उठ्ने स्थिति सम्म पुराउने मोबाइल फोन मानिसले मानिसकै सुविधाका लागि आविष्कार गरेको उनले उदाहरण दिए ।

धरानमा सोमवार साँझ भएको ‘मूल्यमा आधारित सेवाबाट समृद्ध समाजको पूनस्थापना’ विषयक कार्यक्रममा उनले मानिसको सुविधाका लागि आविष्कार  भएका विज्ञान प्रविधिका साधनहरू जति बढ्यो उतिनै मानवीय जीवन तनावग्रस्त बन्दै गएको बताए ।

उनले भने ‘मानिसको मस्तिष्क मानिसको नियन्त्रण भन्दा बाहिर गइरहेको कारण यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण हो ।’ मानिसले जब सम्म आफ्नो मस्तिष्कलाई एकाग्र बनाउन सक्दैन उतिकै बढ्ने तनावले व्यक्ति, परिवार र समाज समृद्ध सुखी हुन नसक्ने उनका भनाई छ ।

प्राध्यापक गिरिसले भने ‘मुख्य कुरा मानिसको मस्तिष्कलाई एकाग्र राख्न सक्ने क्षमताको विकास हो र यो ‘राजयोग ध्यान’को शिक्षाबाट हासिल गर्न सकिन्छ ।’ उनले राजयोग ध्यानको माध्यमबाट ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले विश्वभर सकारात्मक चिन्तन, जीवन जिउने कला, दुर्व्यसन र तनावबाट मुक्ति दिलाउने अभियान सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघा प्रमुख अतिथि थिए । उनले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रबाट आफूलाई तनावबाट मुक्त रहने प्रेरणा मिलेको बताउँदै भने ‘सार्वजनिक कार्यक्रमहरूमा मलाई मुसुमुसु हाँस्छ मात्रै भन्ने पनि गरिन्छ, मैलै तनावका बेला हाँस्नु पर्छ भनेर यहीँ सिकेको हुँ ।’

विशेष अतिथि संस्कृतका विद्वान गुरु पुरुषोत्तम भट्टराईले मानवीय सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताउँदै सेवाको भावनाले मानिसको तनाव घटाउने बताए । उनले भने ‘जीवनको सार्थकता पनि सेवा नै हो भन्ने बुझेपछि मानिसलाई आफ्नो जीवन शान्त र सफल भएको अनुभूति हुन्छ ।’

कार्यक्रम ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा अन्तर्राष्ट्रिय मुख्यालय ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय माउन्ट आबु राजस्थानबाट आएको विज्ञ टोलीको उपस्थितिमा आयोजना गरेको हो । टोलीले ‘आऔँ हामी मिलेर बनाऔँ एक स्वर्णिम समाज’ विषयक अभियान स्वरूप नेपालका विभिन्न सहरहरूमा सामाजिक, धार्मिक, शिक्षा, स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण, खेलकुद, प्रकृतिको संरक्षणका उत्प्रेरक कार्यक्रम सम्पन्न गरेको छ ।

सोही अवसरमा धरानमा यहाँको सामाजिक क्षेत्रमा योगदान गर्दै आएका १०० जनालाई सम्मानित गरिएको छ । सम्मानित समाजसेवीहरूलाई भारतबाट आएका विद्वान अतिथिहरूले सम्मान पत्र प्रदान गरेका थिए ।

manab aawiskar 2

manab aawiskar 3