धरान : पछिल्लो समय साँझ बिहान धरानका अगुवाहरूका घर घर पुगेर ठुला परियोजनाहरू ल्याउन केन्द्रीय तहमा पहुँच बढाउने उपायका बारेमा उनले छलफल गर्दै आएका थिए । काठमाडौँमा बस्दा धरानको विकास, निर्माणका लागि सहजीकरण गर्न धरान सरोकार समाज गठन गरेर सक्रिय थिए ।
सबैका ‘प्रभु दाई’, प्रभुप्रसाद श्रेष्ठको त्यो सक्रियता रोकिएको छ । कसैलाई भेट्न आफै पुग्न नसके पनि फोन मार्फत पुग्न थालेका छन् । कुराकानी धरानको विकास, निर्माणका भावी योजनामै केन्द्रित हुन्छ । प्रभु दाई शारीरिक रूपमा सक्रिय नभए पनि मानसिक रूपमा अझै सक्रिय छन् र त्यो सक्रियता धरानको उन्नतिको चिन्तनप्रति अभिप्रेरित छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलसिश गर्दै आएका ८० वर्षीय प्रभु दाईले काठमाण्डौमा चेकजाँच गराउँदा दुवै मिर्गौला खराब भएको पाइएको थियो । प्रत्यारोपणका लागि उमेरका कारण जोखिम भएको चिकित्सकहरूले बताएको हुँदा नियमित डाइलसिश गराई रहेका छन् । काठमाण्डौंमा चिसो बढेकोले धरान आफ्नै थातथालोमा उपचार गर्न उचित लागेर फर्किएको उनले बताए ।
उनको मुहारमा भने बिरामीको भाव पाइन्न । धरान-१ पुरानो बजार स्थित प्रभु दाईको पुस्तैनी घरमा शनिवार बिहान पुग्दा उनी सदा झैँ स्वाभाविक मुद्रामा देखिए । कुराकानी गर्दाको गतिमा पनि बिरामी मानिसको भाव पाइएन । उनले भने ‘डाइलसिशबाट पनि मानिस धेरै साल बाँच्न सक्दो रहेछ, मलाई भेट्न आएका थिए ।’ डाइलसिश गराउँदै सक्रिय जीवनमा रहेका मानिसको उल्लेख पनि गरे ।
प्रभु दाईको सक्रिय जीवनको जिजीविषा अरू कुराका लागि नभएर धरानकै उन्नति कसरी हुन्छ भन्नेमा रहेको उनको कुराकानीमा प्रतिबिम्बत थियो । पछिल्लो समय उनी धरानको पुरानो अस्पताल परिसरमा सिटि हस्पिटल निर्माण गर्ने अभियानमा लागेका थिए । शहरी अस्पतालले बिपीमा सामान्य बिरामीहरूको चाप घटाएर धरानका निम्न वर्गका मानिसले निजी क्लिनिक र अस्पतालमा ठुलो खर्च गर्नु पर्ने बाध्यता पनि घटाउने उनको भनाई छ ।
सिटी हस्पिटलका लागि १० करोडको योजना बनेको उनको भनाई छ । निलम्बनमा परेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकालमा योजनाको नक्सा, प्रस्ताव पत्र समेत अघि बढेको थियो । नयाँ उपकुलपछि प्राडा आएपछि सम्पर्क गर्ने प्रयास भइरहेकै बेला आफू बिरामी परेको उनले बताए । योजनामा २ जना डाक्टर रहने, हस्पिटल परिसरमा डाक्टर, नर्स आवास सहितको डिजाइन तयार गरिएको छ ।
त्यहाँ रहेको जगन्नाथ डेडराज मातृशिशु कल्याण अस्पताललाई पनि सँगै जीर्णोद्धार गरी गाइनो वार्डको अस्पतालका रूपमा सञ्चालन गर्ने योजना अघि बढेको छ । उक्त अस्पताल विराटनगरका व्यवसायी मोतिलाल अग्रवाले आफ्ना मातापिताको स्मृतिमा निर्माण गराएका थिए । राजा वीरेन्द्रबाट २०३९ सालमा उद्घाटन भएको उक्त अस्पताल वीपी प्रतिष्ठान स्थापना भएपछि बेवारिसे अवस्थामा छ ।
प्रभु दाईका अनुसार उक्त बेवारिसे अस्पताललाई पुरानै अवस्थामा ल्याउन मोतिलालका छोरासँग कुराकानी भएको छ । उनले जगन्नाथ डेडराज अस्पतालकै नाममा सञ्चालन गर्ने गरी मर्मत सम्भार गर्न तयार रहेको बचन दिएका छन् । उनले भने ‘अस्पताल परिसरको १८ कट्ठा जग्गामा वीपीको आयस्रोतका लागि व्यवसायीक परियोजना पनि ल्याउन सकिन्छ ।’
मृदुभाषी, सबै सँग घुलमिल भइहाल्ने प्रभु दाई, सामान्य मानिस देखिए पनि ‘कमन म्यान’ मात्र होइनन् । खेलकुदको पृष्ठभूमिबाट उठेका उनी टेबुल टेनिस खेलाडीबाट प्रशिक्षक हुँदै २०४० सालमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य भएका थिए । धरानको खेलकुदको विकासमा पनि उनको योगदान छ ।
धरानको पहिलो खेलकुद भवन निर्माणमा पनि उनको भूमिका छ । त्यस बेला टेबुल टेनिसमा धरानका प्रतिभाहरूले धेरै अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा भाग लिने अवसर पाए । प्रशिक्षकका रूपमा उनी जर्मनी, जापान, दक्षिण कोरिया र उत्तर कोरिया सम्म पुगे ।
उनले राजनीति भने गरेनन् । तर काठमाडौँ बसाइले नीति निर्माण तह तथा दातृ निकायका पदाधिकारीहरू सम्म पहुँच बन्यो । धरानमा एसियाली विकास बैङ्कको शहरी विकाश आयोजना मार्फत खानेपानी आयोजना ल्याउनमा उनको भूमिका महत्त्वपूर्ण थियो । उनी भन्छन् ‘तर खानेपानीका लागि आएको २ अर्ब धरानले सदुपयोग गर्न सकेन, अझै मलाई चित्त बुझेको छैन ।’
चित्त नबुझेकै कारण पटक पटक उनले आयोजना निर्देशक राजु पोखरेललाई सोध्ने काम पनि गरे । भने ‘टङ्की देखाउँछ, सडक बनाएको देखाउँछ तर पानीको उद्देश्य किन पुरा भएन बताएनन् ।’ योजनामा भ्रष्टाचार भएको कुरा धेरै उठ्यो, चुनावी मुद्दा पनि भए, तर कहाँ कति भ्रष्टाचार भयो भन्ने कुराको खोजी गर्ने कोही नदेखिएको उनको भनाई छ ।
धरानमा पर्यटनको थप गन्तव्य बनाउने हिसाबले ‘थाउजेन बुद्ध’को योजना राम्रो लागेर उनी सघाउने मनसायले उनीहरूको सम्पर्कमा आफै गए । त्यसको लागि १ अर्ब रुपैयाँको योजना खाका पनि तयार भएको थियो । उनले भने ‘केही समय सम्म प्रदीप गुरुङले सम्पर्क गरे पनि त्यहाँको कार्य समिति सम्पर्क मै आएन ।’
कुराकानी गर्दा डाइलसिश गराई रहेका प्रभु दाइलाई उनी बिमारी छन् भन्ने पनि बिर्सन्छन् र सामान्य अवस्थामा छलफल कार्यक्रममा बोलिरहेको आभाष दिन्छन् । उनको चिन्तन भने धरानको भविष्य र नेतृत्वमै केन्द्रित पाइन्छ । उनले प्रश्न गरे ‘धरानमा ठुला आयोजना (राष्ट्रिय गौरवका) केही देखिन्न, कसरी अघि बढ्छ र बन्छ धरान ?’
यहाँको राजनीति अहिले पनि सडक, ड्रेन, बिजुली आफ्नो घर अगाडि, प्लटिङको घडेरी तिर लैजाने कुरामा अलमलिएको छ । पार्टीका स्थानीय नेताहरू आपसी खुट्टा तानातानको राजनीतिमा सीमित बनेका छन् । चुनावी घोषणापत्रमा ठुला कुरा राख्छन्, चुनाव सकिएपछि हारे पनि जिते पनि विर्सन्छन । त्यसलाई कार्यान्वयन गर्न राष्ट्रिय नीति निर्माण तह, दातृ निकाय तर्फ संस्थागत, पार्टीगत पहल, लबिङ गर्दैनन् ।
प्रभु दाईले भन्छन् ‘धरानको राजनीतिमा, सामाजिक अभियानमा त्यस किसिमको चिन्तन गर्ने नेतृत्व विकास गर्न जरुरी छ ।’ उनले धरानका मेयर हर्क साम्पाङबाट केही नयाँ कुरा होला भनी आशा राखेका थिए । सहयोग गर्न सम्पर्क गर्ने प्रयास पनि गरे तर मेयरबाट चासो नराखिएकोले उनी निराश छन् । उनले भने ‘उहाँका बारेमा धेरै कुरा सुनिन्छ, तर सहकार्य गर्न पाए उहाँ त्यस्तो हो होइन बुझ्न सकिन्थ्यो ।’
मुलुकको राष्ट्रिय नीति निर्माण तहमा राजनीतिक नेतृत्व पुग्न नसके पनि ‘व्यूरोक्रेसी’ दातृ निकायहरूमा धरानका व्यक्तित्वहरू नभएका होइनन् तर उनीहरूलाई धरानका स्थानीय नेतृत्वले चिन्न नसक्नु पनि दुर्भाग्यपूर्ण भएको उनले बताए । धरानमा खानेपानी परियोजना ल्याउन निर्णायक भूमिका निर्वाह गरेका शहरी विकास आयोजनाका तत्कालीन निर्देशक महेन्द्र सुब्बा धरानकै भएकाले सम्भव भएको उनको भनाई छ ।
उनले राजनीतिक निर्णय प्राविधिक प्रक्रिया पुरा नभएमा कार्यान्वयन नहुन सक्छ, त्यस अवस्थामा कर्मचारीतन्त्रमा पनि पहुँच चाहिने बताउँदै भने ‘धरानका नेतृत्वहरू उनीहरू सम्म पुग्दै पुग्दैनन्, अनि हुने काम पनि फायलमा थन्किन्छ ।’ धरानका व्यक्तित्वहरू त्यस्ता ठाउँमा नभएका भने होइनन् तर उनीहरूका भूमिको महत्त्व धरानका नेतृत्वले अनुमान गर्न सकिरहेको पाइन्न ।
पछिल्लो समय काठमाण्डौमा ‘धरान सरोकार समाज’ गठन भएपछि उपत्यकामा विभिन्न क्षेत्र, सेवा र व्यवसायमा रहेका धरानेहरु पहिचान गर्ने काम भएको उनले बताए । राष्ट्रिय नीति निर्माण तहमा धरानको पहुँच बढाउन सानो देखिए पनि यसले ठुलो महत्त्व राख्ने उनको भनाई छ ।
पछिल्लो समय वीपी प्रतिष्ठान बचाउ अभियानमा धरानबाट काठमाडौँ गएको प्रतिनिधि मण्डललाई समाजले गरेको सहकार्यको उदाहरण दिदैं भने ‘स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति निर्माणमा पहुँच राख्नेहरूलाई हामीले एकै ठाउँ जुटाइदियों, त्यसको राम्रो प्रभाव पर्यो ।’