• अनुसा थापा

नगरपालिका धाउने घरधनीहरूको सङ्ख्या हिजोआज बढेको छ । वडा, गाउँपालिका र नगरपालिकामा उनीहरूको चाप देखिन्छ । तर, उनीहरू कर तिर्नलाई होइन, आफ्नो घर खाली गरिदिनुपर्‍यो भन्नेहरूको हो । बहालमा बस्नेले भाडा नतिरेपछि घरधनीहरूले पालिका गुहार्न थालेका छन् ।

अधिकांशको एउटै गुनासो छ: भाडावालले भाडा तिरेनन् । सटर लिएर व्यवसाय गर्नेहरूले समेत महिनौँदेखिको बहाल नदिएको घरधनीहरूको भनाइ छ । यता, लघुवित्त र सहकारीलाई घर भाडामा दिएका घरधनीहरू झन् तनावमा छन् । सहकारी भागिसकेको छ, भाडा कहाँबाट पाउनु ?

कोठामा ताला लगाएर भाडावालहरू सम्पर्कविहीन भएको घरधनीहरू बताउँछन् । घरधनीहरूका अनुसार उनीहरू सम्पर्कमा पनि नभएको र भाडा पनि नतिरेको हुन् । तीन महिनादेखि दुई वर्षसम्मको बहाल उठाउन बाँकी भएको घरधनीहरू सुनाउँछन् । भाडामा बस्नेले भाडा तिरुन्जेल सरकारलाई ढाँट्ने घरधनीहरू अहिले पिरलो सुनाउन सरकारकहाँ पुगेका छन् ।

‘घर भाडामा लगाएका छैनौँ, आफैँ बसेका छौँ’ भनेर उनीहरूले कर छली गर्दै आएका थिए । एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म लिने गरेका थिए । फ्ल्याटको २० हजारदेखि लाखसम्म र सटरको पनि लाखसम्म भाडा उठाउँथेँ, घरधनी । सटर २० लाखदेखि ५० लाखसम्म खरिदबिक्री हुन्थ्यो ।

भाडावालले सामान नल्याउँदै तीन महिनाको अग्रिम भुक्तानी मागिन्थ्यो । बत्ती, पानी, फोहोर, नेट, पार्किङको मनलाग्दी शुल्क उठाउने गरिएको थियो । नयाँलाई महँगोमा राख्नका लागि पुरानालाई निकालिन्थ्यो । छतमा जान रोक लगाइन्थ्यो । घरधनीहरूले यसरी भाडावाललाई चुस्दै आएका थिए ।

कोठा सबै भाडामा लगाउने अनि कर छल्नका लागि परिवारकै सदस्य बसेका छौँ भनेर ढाँट्ने । एकल महिला, बुढाबुढी, तल्लो जातजाति र विद्यार्थीलाई कोठा नदिने । घरधनीले तोके जति भाडा तिर्छु भन्दा पनि उनीहरूलाई कोठा दिइँदैनथ्यो र अहिले पनि अवस्था त्यही नै छ ।

बजारमा आर्थिक मन्दी भएपछि सटरवालाहरूले सटरको बहाल तिर्न सकेनन् । मन्दीका कारण अधिकांशको रोजगारी गुमेका छन् । जागिर भएकाहरूले पनि तलब नपाइरहेको अवस्था छ । सहकारी, लघुवित्त डुबेर भागिसकेको छ । सहकारी र लघुवित्तलाई घर भाडामा दिएका घरधनीहरू निकै तनावमा छन्।

सहकारी पीडितहरू हुलका हुल आउँछन् । प्रहरी पनि आइरहन्छ । कतै घर तोडफोड र आगजनी हुने पो हो कि भन्ने डर तिनलाई छ । सहकारी त बन्द भयो, तर पीडितहरू दिनहुँ हेर्न आउने क्रम रोकिएको छ । कर्मचारी र सञ्चालक भागिसके, तैपनि पीडितहरू पैसा आइहाल्छ कि भन्ने आशले सहकारीको कार्यालय धाइरहन्छन् ।

घरधनीहरू घर खाली राख्ने तर बैङ्क तथा वित्तीय संस्थालाई बहालमा नदिने मनस्थितिमा पुगेका छन् । हरेक सर्वसाधारणको मनमा ‘बैङ्क, सहकारी र लघुवित्त ठग हुन्’ भन्ने छाप परेको छ । सहकारी र लघुवित्तप्रति आम सर्वसाधारणको घृणा बढेको छ । पाँच वर्षअघि घरधनीहरू आफ्नो घरमा बैङ्क तथा वित्तीय संस्थाको कार्यालय बसेको छ भनेर शान देखाउँथे ।

अहिले त्यही वित्तीय संस्थाले घरधनीहरूलाई ‘रुनु न हाँस्नु’ को अवस्थामा पुर्‍याइदिएको छ । एकातिर सहकारी चल्ने कुनै आस छैन, अर्कोतिर सामान खाली गर्न वडाले चासो देखाउँदैन । घरधनी यति बेला साह्रै चिन्तित छन् । घरधनीहरू सहकारी र लघुवित्तको सामान ‘टोक्नु कि बोक्नु’ भन्नेमा छन् ।

एकातिर महिनैपिच्छे आउने भाडा पाएको छैन, अर्कोतिर घरमा ताला लगाएको छ । घरहरूको रातको दिन र दिनको भोक हराएको छ । कतिपय घरधनीले बहाल उठेकै रकमबाट आफ्नो घर चलाउँदै आएका थिए । त्यस्ता घरधनीको बिचल्ली भएको छ । कोठामा भाडावाल भएपनि घरधनीहरूको हातमा महिनौँदेखि बहाल परेको छैन ।

आम्दानी छैन, कहाँबाट ल्याएर भाडा तिर्नु ? पछिल्लो समय टु-लेटको प्याम्प्लेट जतासुकै देखिन्छ । पहिले पहिले कोठा पाउन महाभारत थियो । एउटा कोठा पाउन तीन महिना लाग्थ्यो । एउटा निक्लिन पाएको छैन, अर्को सामान लिएर बस्न आई पुगिहाल्थे । सटर त झन् खाली नै हुँदैनथ्यो ।

अहिलेको अवस्था ठ्याक्कै उल्टो छ । कोठा, फ्ल्याट र सटर खाली भन्दै पोस्टर टाँस्नुपर्ने अवस्था आएको छ । त्यति गर्दा पनि बहालमा बस्ने नभेटिएको घरधनीहरू बताउँछन् । बाहिरी जिल्लाबाट आएका सर्वसाधारणको कारण काठमाडौँ चलेको थियो । विभिन्न जिल्लावासीले काठमाडौँ आएर डेरा लिएर थिए । 

सानातिना व्यापार-व्यवसाय, मजदुरी गरेर जीविकोपार्जन गरेका थिए । घरधनीलाई भाडा तिर्थेँ । तर, बजारमा आर्थिक मन्दीपश्चात् अधिकांशको रोजगारी खोसिएको छ । यहाँ काम नपाएपछि आफ्नो घर फर्किनेको सङ्ख्या बढेको छ । एकातिर काम छैन, अर्कोतिर ढाड सेक्ने महँगी ।

गुजारा गर्न महाभारत छ । केही समय अघिसम्म ज्यामी काम गर्नेले पनि राम्रै आम्दानी गर्थेँ । अहिले त त्यही काम पनि पाउन छोडेको छ । सहकारी बन्द भएपछि हजारौँ बेरोजगार बनेका छन् । पसल तथा निजी कम्पनीहरूले पनि तलब दिएको छैन । काम छैन भनेर भोको पेट मान्दैन ।

घरधनीले भाडा छुट दिँदैनन् । त्यसैले पनि उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । प्रायः जसो आफ्नो गाउँठाउँ फर्किएका छन् । उनीहरू हिँडेपछि उपत्यकाका कोठा खाली हुनु र व्यापार–व्यवसाय सुक्नु स्वाभाविकै हो । गाउँका सदरमुकाममा आएर डेरा लिएर बस्थेँ । रोजगारी, शिक्षा र उपचारका लागि उपत्यकामा कोठा भाडामा लिन्थ्यो ।

२०४७-४८ सालमा ३० देखि ५० रुपैयाँमा कोठा पाइन्थ्यो । बढीमा डेढ सय थियो सटर भाडा । तीन दशकको अवधिमा काठमाडौँमा घर बनाउनेको सङ्ख्या ह्वात्तै बढ्यो । घर भाडामा लाउने कार्य व्यवसाय बन्यो । राज्यलाई कर छल्ने अनि यता आफूखुसी भाडा लिने । जो हेर्‍यो घर बनाउनतर्फ मात्र ध्याउन्न छ । 

सरकारी जागिर खानेले घर बनाउने, भाडामा लाउने । विदेश जाने, व्यापार–व्यवसाय गर्नेले पनि त्यही गर्ने । घर भाडामा लाउने अनि बसिबसी खाने क्रम बढ्यो । घर बनाउनेको सङ्ख्या बढेपछि जग्गाको भाउ रातारात बढ्यो । भू–माफियाहरूले उब्जनी हुने जग्गा धमाधम प्लानिङ गर्दै करोडौँमा बेच्न थाले ।

गुठी, सार्वजनिक, सरकारी जग्गा पनि बिक्री हुन थाल्यो । कृषिमूलक देश अहिले खाद्यान्न आयात गर्ने देश बनेको छ । पहिले सबै कृषि पेसामा आबद्ध थिए । आफ्नो खेतबारीमा उब्जेको अन्न खाएर बेच्न पनि पुग्थ्यो । खेत हुञ्जेलसम्म सबै रोजगार नै थिए । बिस्तारै खेतीयोग्य जमिन मासिँदै गयो, मुलुकमा बेरोजगारीको सङ्ख्या बढ्यो ।

जग्गा मासिएपछि किसानहरू बेरोजगार भएका छन् । जनताको पेट भर्न विभिन्न मुलुकबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । व्यापार घाटा निरन्तर बढिरहेको छ । उद्योग, कलकारखानामा लगानी गर्नुको साटो बैङ्क तथा वित्तीय संस्थाले घरजग्गामा लगानी गरे । जसका कारण वित्तीय संस्थाहरू तैरिनै नसक्ने गरी डुबेका छन् ।

अहिले जति पनि घर छ, त्यसमध्ये अधिकांश बैङ्कको नाममा छ । घर भाडामा लागुन्जेल त घरधनीले कर्जाको किस्ता तिर्छन् । आफ्नो गुजारा गर्छन् । लागेन भने के गर्ने ? सबैले आँखा चिम्लेर घरजग्गामा लगानी गर्दा राज्यलाई ठुलो क्षति भएको छ । अहिले घरधनीहरूलाई ‘इट्टा टोक्नु कि सिमेन्ट’ भएको छ ।

काठमाडौँ उपत्यकाका घर सरकारको मापदण्डभित्र पर्दैनन् । एक आनादेखि तीन आना जग्गामा घर बनेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार ९५ प्रतिशत घर मापदण्डभित्र पर्दैन । यी घरलाई सरकारबाट दिइएको सेवा सुविधा जति बेला पनि कटौती हुनसक्छ ।

सहरी विकास मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ । त्यो मापदण्डअनुसार पुराना घरहरू भत्किए भने नयाँ घर बनाउन जग्गा पुग्दैन । भाडा खानका लागि घरधनीहरूले बाटो मिचेर र थोरै जग्गामा घर बनाए । भाडा आउन छोडेपछि घरधनीहरू घर बेच्न खोजिरहेका छन्, तर कसले खोज्छन् ? घरधनीहरू पसल र चोक चोकमा भाडा बस्नेहरू खोज्दै हिँड्न थालेका छन् ।