कोशी प्रदेशको राजधानी विराटनगर महानगरका हरेक कार्य काठमाडौंपछि सबैले चासो राख्ने कुरामा पर्छ । स्थानिय जनताको अपेक्षा भिन्न कुरा छदैंछ । महानगरपालिकाका मेयर नागेश कोइराला भने संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले काम गर्न समस्या भएको बताउँछन । मेयरको कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको अवसरमा कोइरालासंगको कुराकानीको संक्षीप्त अंश :
- मेयरको कार्यभार सम्हालेको २० महिना भयो, यस अवधिमा भएका मुख्य कार्य के होलान ?
धेरै नै काम भएका छन् । सुशासन, जवाफदेहिता र जिम्मेवारीलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छु । जनप्रतिनिधिले नीति बनाउने हो त्यसको कार्यान्वयन कर्मचारीहरूले गर्ने हो । सीमित स्रोत र साधनका बीच पनि महानगरवासीका असीमित चाहना परिपूर्ति गर्न लागि परेका छौं ।
फुटपाथ नियन्त्रण गरेर पसल अगाडिको सेटव्याक हटाएका छौं । उज्यालो विराटनगर नारा सहितमुख्य सडकमा बत्ती लगाएका छौं । रातको समयमा हवाई जहाजबाट हेर्दा सबैभन्दा उज्यालो देख्नुभयो भने त्यो विराटनगर हो । लत्रिएका तारको व्यवस्थापन गरेका छौं । सरसफाईलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छौं ।
१९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था, कर संकलन अभियान सञ्चालन गरेर आन्तरिक आय वृद्धि, भौतिक पूर्वाधारको निर्माणसँगै स्वास्थ्य, शिक्षालगायमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएका छन् ।
- सडकमा पार्किङ निषेध गरिएको थियो, फेरि सडकमै पार्किङ भएको देखिन्छ नि ?
सडक भनेको सहज रूपमा आवतजावत गर्नका लागि हो । विदेशमा कहिं पनि सडकमा पार्किङ गर्ने गरेको पाइँदैन । पार्किङ निषेध गर्दा आवतजावत गर्न सहज भएको थियो । तर महानगरपालिकाको एक्लो प्रयासले मात्रै नहुँदो रहेछ । पार्किङ निषेध गर्दा व्यापार भएन भनेर व्यापक गुनासो आयो ।
व्यापारीहरूले सटर बन्द गर्नुपर्ने अवस्था आयो भन्ने गुनासो पनि आयो । व्यापारीहरू पलायन नहोउन् त्यही भएर पार्किङलाई पूर्वत् अवस्थामै छाडिदियौं । तर मलाई अचम्म लाग्छ अहिले अझै सटरहरू खाली देख्छु ।
रोडमा हिंड्दा ‘भाडाका लागि सटर खाली छ’ भनेर लेखिएका खाली सटरहरू जताततै देखिन्छ । आखिर पार्किङका कारण त व्यापार नभएको त होइन रहेछ नि । हामीले पार्किङ खोलिदिएपछि त विराटनगरको बजार गुल्जार हुनुपर्ने होइन् ? खोई त झनै सटरहरू खाली छन् । यसको कारण के हो त ? व्यापारीहरूले बुझ्ने कुरा हो ।
जोगबनीका कारण यहाँको व्यापार चलेन भन्सार नाकामा कडाइ गरिदिनुपर्यो भन्दै आउनुभयो व्यापारीहरू । भन्सार नाकामा कडाइ गर्ने अधिकार हाम्रो होइन । उहाँहरूले हामीबाट अपेक्षा राख्नु स्वभाविकै हो । हामीले समन्वय गरेर सिडिओ, एसपी, भन्सार प्रमुख, राजस्व कार्यालयका प्रमुखसहित सबै सरकारवालाको बैठक राख्यौं । सम्बन्धित निकायले भन्सार नाका कडाइ गर्ने निर्णय पनि भयो ।
तर उद्योगी व्यापारीहरूकै असहयोगका कारण भन्सार नाका कडाइ गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन । महानगरले त समन्वय गरिदिने हो । हामीले भन्सारमा लगेर हाम्रा प्रहरी राख्ने होइन । भन्सार नाका कडाइ गर्ने सम्बन्धित निकायलाई खबरदारी गर्ने दायित्व उद्योगी व्यवसायी र उनीहरूको संगठनको जिम्मेवारी हो । तर उहाँहरूले गर्नुभएन ।
- विराटनगर महानगरपालिकाको आर्थिक अवस्था कस्तो छ ?
महानगरपालिकाको आन्तरिक स्रोत एकदमै कमजोर छ । जनताका आकांक्षा पूरा गर्न हामीसित पर्याप्त बजेट हुनुपर्छ । बजेट नभएपछि जनताका आकांक्षा पूरा गर्न निकै गाह्रो हुँदोरहेछ । तर, पनि सीमित स्रोत र साधनबाट पनि जनताका असीमित चाहना परिपूर्तिमा लागिपरेका छौं ।
अघिल्लो आर्थिक वर्ष ६४ करोड ५ लाख राजस्व संकलन भएको थियो । ३५ करोड पुरानो दायित्व भुक्तानी गर्यौँ, अझै पनि भइरहेको छ । आर्थिक वर्ष २०७८/७९ सम्म रहेको १ अर्ब ६३ करोड ५७ लाख बेरुजुमध्ये १ अर्ब १९ करोड ४२ लाख अर्थात् ७३ प्रतिशत फछ्र्यौट गर्न सफल भयौं ।
बेरुजु फछ्र्यौट गर्ने महानगरपालिकाहरूमध्ये विराटनगर दोस्रो भएको छ । महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको छ । आन्तरिक राजस्वमा लक्ष्य पूरा गर्न निकै कठिन देखिएको छ ।
- आन्तरिक आयको कमीले नै नगरस्तरीय बजेट नबनेको ?
हरेक पालिकाले नगरस्तरीय बजेट बनाउने गरेका छन् । तर विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा नगरस्तरीय बजेट बनाउन सकेन । त्यसको मुख्य कारण भनेको बजेट अभाव नै हो । कागजमा मात्रै बजेट बनाएर भएन । स्रोत हुनुपर्यो ।
नगरस्तरीय बजेट नबन्दा विगतदेखि पाउँदै आएका धेरै संघसंस्थाले यसपटक बजेट पाउनु भएन । अहिले पनि थुप्रै संघसंस्था बजेट माग्दै आउनुहुन्छ । बजेट छैन भन्यो भने रिसाएर जानुहुन्छ । बजेट भइभई नदिएको होइन । महानगरको आर्थिक अवस्था बुझिदिन म विराटनगरवासीलाई हार्दिक अनुरोध पनि गर्दछु ।
- बजेट अभावमा विकास निर्माणका कार्यहरू कसरी हुदैछ त ?
हामीसित भएको स्रोत अनावश्यक क्षेत्रमा खर्च गरेका छैनौं । सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दैछौं । भौतिक पूर्वाधार निर्माण कार्य प्राथमिकतामा छ । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ को सडक, विराटनगर-१३ को सडक, विराटनगर-८ विश्वकर्मा चोकदेखि रेल्वे-सिंघिया सडक सहित १ अर्ब १५ करोडभन्दा बढीका योजनाहरू कार्यान्वयनमा छन् ।
प्रशासनिक भवनको हालसम्म ३५ प्रतिशत बढी निर्माण सम्पन्न भइसकेको छ । २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको छ । विराट राजाको दरबार परिसरमा झण्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको छ ।
विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता पुरा गर्न जाइकाको आर्थिक सहयोगमा खानेपानी आयोजना ठेक्का प्रक्रियामा छ । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकार मार्फत दातृ संस्थाहरूको सहयोग जुटाउनका लागि पहल भइरहेको छ ।
- भौतिक विकास बाहेक मानविय विकासका कार्यहरुको अवस्था के छ ?
भौतिक विकास सँगै मानवीय विकास पनि प्राथमिकतामा छ । खासगरी शिक्षा र स्वास्थ्य उच्च प्राथमिकतामा छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि पहल भइरहेका छन् । भौतिक पूर्वाधारको विकास निकै भएको छ । कक्षा ११ को छात्रवृत्ति छनौटको परीक्षा हामी आफैंले लियौं ।
यो कार्यले राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गले पाएका छन् । महानगरका सबै सामुदायिक विद्यालयका सम्पूर्ण कक्षाकोठामा पंखा जडान गर्ने कार्य पनि भइरहेको छ । पाठ्यक्रमको पढाइ मात्रै सबै होइन भनेर हामीले विभिन्न खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड, लोकनृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, विज्ञान प्रदर्शनी जस्ता कार्य गरेका छौं ।
स्वास्थ्यमा रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गरिएको छ । रानी अस्पतालमा निःशुल्क फिजियो थेरापी उपलब्ध गराएका छौं । अघिल्लो वर्ष १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यौ । यस वर्ष पनि जारी छ ।विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
- विराटनगरको मुख्य समस्या डुबानको समाधान गर्न के गर्दै हुनुहुन्छ ?
हो, विराटनगरको डुबानको दीर्घकालीन समाधानको बाटो खोजिनुपर्छ । विराटनगरको पूर्वमा सिंघिया र पश्चिममा केशलिया पर्दछ । दुईवटा नदीको बीचमा विराटनगर पर्दछ । त्यसो भएकाले हरेक वर्षको वर्षायाममा दुवै खोलाको बाढी विराटनगरमा पस्दछ । डुबानको प्रमुख कारण भनेको यिनै दुईवटा खोला हुन् । यी दुवै खोलामा तटबन्ध निर्माण नगरेसम्म विराटनगरको डुबान समस्या दीर्घकालीन रूपमा समाधान हुँदैन ।
हामी निर्वाचित भएर आइसकेपछि पश्चिमतर्फको केशलिया खोलामा करिडोरसहितको तटबन्ध निर्माण गर्ने प्रक्रिया सुरु भइसकेको छ । यसमा स्वीस सरकारले सहयोग गर्ने भएको छ । डीपीआर बनाउने काम भइरहेको छ । दुईवटा खोलामा तटबन्धन बनाउने हो भने विराटनगरमा डुबान हुँदैन ।
गत वर्ष हिउँदैमा नाला सफा गरेका कारण यस वर्षको वर्षायाममा डुबान भएन । यसपटक पनि हिउँदमै नाला सफा गर्नेछौं । डुबान समस्याको दीर्घकालीन समाधानका लागि सिंघिया र केसलियामा तटबन्ध बनाउनुको विकल्प छैन ।
- हिउँदमा आगलागीका घटनाहरू बढी हुन्छ । महानगरको वारुणयन्त्र समयमा नपुगेको गुनासो आउने गरेको छ नि ?
महानगरको वारुणयन्त्र चुस्तदुस्त अवस्थामा छ । सुख्खा मौसममा हुने आगलागीप्रति हामी सचेत छौं । यो विषयमा आमसर्वसाधारण पनि सचेत हुनुपर्छ । वारुणयन्त्र छिर्न अवरोध हुनेगरी सडकमा निर्माणसहित अन्य सामग्री राख्नु भएन ।
सातघुम्तीमा आगलागी भएपछि त्यो दिन २ बजेर ९ मिनेटमा वारुणयन्त्रको फोन नम्बरमा जैन भवनको नम्बरबाट फोन आएको छ । हाम्रो वारुणयन्त्र २ बजेर १९ मिनेटमा घटनास्थलमा पुगेको छ । अनि १० मिनेटमा पुष्पलालचोकदेखि घटनास्थलमा पुग्दा कसरी ढिलो भयो ?
वास्तविकता नबुझी हल्लैहल्लाको भरमा दोष दिने प्रवृत्तिले बढ्दै गएको छ । सातघुम्ती आगलागी घटनामात्रै होइन अन्य विषयमा पनि हाम्रो समाज हल्लाको पछाडि कुद्ने गरेको छ ।
- जनताबाट कस्तो सहयोग पाउनुभएको छ ?
महानगरले थुप्रै अभियान सञ्चालन गरेको छ । सरसफाई, उज्यालो विराटनगर, हराभरा विराटनगर, फुटपाथसहितको व्यवस्थित विराटनगर, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोकलगाउने जस्ता महत्वपूर्ण अभियान सञ्चालन गर्यौ । तर यसमा विराटनगरवासीको सहयोग त्यति पाएनौं ।
आफ्नो घर र कार्यालय अगाडि सफा राखेर दुई वटा गमला राखौं भनेर मैले हरेक सार्वजनिक कार्यक्रममा महानगरवासीलाई भन्दै आएको छु । हरेक घर अगाडि सफा हुने हो र गमला राखिदिने हो भने कति सुन्दर हुन्थ्यो विराटनगर । घरभित्रबाट फोहोर ल्याएर सडकमा फ्याल्ने संस्कार हटेको छैन विराटनगरमा ।
स्वास्थ्य र फोहोर व्यवस्थापनको चुनौतीका रुपमा रहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा हामीले रोक लगाएका थियौं । अदालतको आदेशपछि बिक्रीवितरण खुलेको छ । तर हामीले सार्वजनिक स्थलमा खान र जथाभावी फोहोर फ्याल्न रोक लगाएका छौं । अदालतको आदेशपछि त झन् महानगरलाई देखाउन सुर्तीजन्य पदार्थ खाएर जथाभावी खोल फ्यालेको पाइन्छ ।
अदालतले बेच्न दिन आदेश दिएको हो । सेवन गरेर जथाभावी फोहोर गर्न त आदेश दिएको होइन । फेरि पनि म सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन सबै विराटनगरवासीलाई आग्रह गर्दछु ।
- विराटनगर पुरानो र ऐतिहासिक सहर भएर पनि पछि परेको जस्तो लाग्छ ?
वि.सं. १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्ति सुरु भएको हो । सोही उद्योगबाट गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीहरूले सुरु गरेको मजदुर हड्तालकै कारण २००७ सालमा एकतन्त्रीय राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको हो । विराटनगरले देशलाई धेरै नै दियो । तर अहिले यसो सोच्दा देशले विराटनगरलार्ई खासै दिएको रहेनछ भन्ने मलाई लाग्दछ ।
कुनै बेला देशको दोस्रो ठूलो सहर थियो । तर अहिले त्यो पनि रहेन । विराटनगरको खस्कँदो शाखलाई फर्काउन म लागिपरेको छु । अब सबै मिलेर विराटनगरलाई बनाउनुछ । विराटनगरमा जन्मिएर देश विदेशमा बसोबास गर्नुहुने सम्पूर्णलाई विराटनगरलाई माया गर्न अपिल पनि गर्दछु । विराटनगरले धेरै नेताहरू जन्मायो, उद्योगी, व्यवसायी पनि जन्मायो । तर विराटनगरको सोचेजस्तो किन विकास हुन सकेन भन्ने विषय निकै नै सोचनीय छ ।
- विराटनगरमा आर्थिक विकासको सम्भावना कस्तो देख्नुहुन्छ ?
जोगबनी-किमाथांका सडक निर्माण हुँदैछ । यो सडक निर्माण भइसकेपछि विराटनगर चीन र भारतको व्यापारिक केन्द्र बन्ने सम्भावना छ । भौगोलिक बनावटका कारण किमाथांका सडक बाह्रै महिना सञ्चालन हुनसक्छ । साथै चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको पनि सडक हो यो । कोशी प्रदेशको राजधानी भएकाले प्रदेशमा भएका सम्भावनाको फाइदा विराटनगरले लिन सक्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा अवस्थित छ ।
सगरमाथा मात्रै होइन ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल त यसै प्रदेशमा छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सकियो भने बाह्य पर्यटक पनि आउँछन् । विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्दा यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने देखिन्छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिँदै आएको एयर ट्राफिक जामको समस्या पनि समाधान हुन्छ । धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । हलेसी, पाथिभरा, बराहक्षेत्र पनि यही प्रदेशमा छ ।
१६ लाखभन्दा बढी जनसंख्या भएको छिमेकी मुलुक भारतको बिहार राज्यसित जोडिएको छ विराटनगर । यसबाहेक उत्तरप्रदेश र पश्चिम बंगाल पनि यही छेउछाउमा छन् । यी तीनवटा राज्यमा करिब ५० लाख जनसंख्या छ । त्यसबाट विराटनगरले फाइदा लिन सक्छ । स्वास्थ्य र शिक्षाको हब पनि बन्दै गएको छ विराटनगर । जहाँ दुईवटा मेडिकल कलेज छन् । उत्पादन गर्न सके बजारको अभाव छैन । छिमेकी मुलुकमा जति पनि बेच्न सकिन्छ ।
कला, साहित्य, संस्कृतिमा समेत विराटनगर धनी छ । १२२ जाति बसोबास गर्ने विराटनगरलाई औद्योगिक, राजनैतिकसँगै सांस्कृतिक नगरीका रूपमा पनि विकास गर्न सकिन्छ । यी सबै सम्भावनालाई अवसरमा बदलेर भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउने प्रणका साथ कार्य गरिरहेका छौं ।