धरान : उपमहानगरपालिका मेयर हर्क साम्पाङले सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा भण्डारमा रोक लगाउन माघ ५ गते शुक्रवार सूचना जारी गरेका छन्।

उनले सुर्तीजन्य पदार्थ बिक्री वितरण भण्डारमा रोक लगाउन गत पौष २९ गतेको कार्यपालिका बैठकमा प्रस्ताव गरेका थिए । तर यसअघि काठमाडौँ र विराटनगर महानगरपालिकाले सुर्तीजन्य वस्तुमा लगाएको प्रतिबन्ध हटाउन अदालती आदेश जारी भइसकेको छ ।मेयर साम्पाङले पुष २९ गते सुर्तीजन्य पदार्थ विक्रीमा रोक लगाउने प्रस्ताव गर्नु अघि अदालतको प्रतिबन्ध लगाउन नमिल्ने आदेश जारी भइसकेको थियो ।

मिडियाहरूमा सार्वजनिक भइसकेको उक्त अदालती आदेश मेयर साम्पाङ तथा कार्यपालिका सदस्यहरूलाई जानकारी नभएरै हुनसक्छ मेयरको प्रस्तावलाई कार्यपालिका बैठकबाट पारित गरिएको थियो ।

सामाजिक सञ्जालमा जारी मेयर हर्क साम्पाङको सूचनामा सुर्तीजन्य वस्तुहरू बिक्री वितरण तथा भण्डार गर्न सूचना प्रकाशित भएको मितिले १५ दिन धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

विराटनगर महानगरपालिकाले समेत सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको थियो । महानगरपालिकाको उक्त निर्णयलाई उच्च अदालत विराटनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक गैरकानुनी रहेको भन्दै परमादेश जारी गरेको छ ।

अदालतको परमादेश जारी भएपछि महानगरपालिका सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने, भण्डारण गरिएका पदार्थ जफत गर्ने कार्यबाट पछि हटेको छ ।

यसअघि काठमाडौँ महानगरपालिका मेयर बालेन साहले पनि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक लगाई कडाइ साथ प्रतिबन्ध लागु गरेका थिए ।

काठमाण्डौको निर्णय पनि गैरकानुनी भएको अदालतले आदेश दिएपछि महानगरपालिका पछि हटेको छ ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अति नै हानिकार मानिन्छ । सुर्तीजन्य पदार्थको बिक्री वितरण र उपयोगबाट जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सुर्तीजन्य पदार्थको कारण पर्यावरण समेत प्रदूषित, फोहोरमैला बढ्ने गरेको पाइन्छ ।

त्यसले शहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्ने अवस्थालाई दृष्टिगत गरी धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरू पाटीपौवा, बाटोघाटो, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल लगायत सार्वजनिक स्थानहरूमा चुरोट, बिँडी, तमाखु, सुल्फा सेवनमा मेयर साम्पाङले रोक लगाएका हुन ।

सूचनामा प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सुर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोगमा रोक लगाउने समेत उल्लेख छ ।

मेयर साम्पाङको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ ‘कसैले यो सूचनाको अवज्ञा गरी विक्री वितरण तथा भण्डार गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी कानुन बमोजिम जरिवाना गरिने ब्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसअघि विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थ विक्रीमा लगाएको प्रतिबन्ध विरुद्ध उच्च अदालत विराटनगरका न्यायाधीशद्वय गणेशप्रसाद बराल र ममता खनालको इजलासले पुस २३ गते प्रतिबन्ध गैरकानुनी भएको आदेश दिएपछि विराटनगरमा प्रतिबन्ध हटेको हो ।