इटहरी : इटहरी उपमहानगरपालिकाले विद्यालय क्षेत्र आसपास सुर्तीजन्य पदार्थ बिक्री वितरणमा निषेध गरेको छ । बालबालिकालाई कुलत तथा दुर्व्यसनीमा पर्न नदिने उद्देश्यले विद्यालय क्षेत्रमा कडाइका साथ अनुगमन गरेको हो ।

सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारबाही गर्ने जनाउ दिएको उपमहानगरपालिकाले बुधवार बजार ठुलो मात्रामा सुर्तीजन्य पदार्थ जफत गरेको छ ।

मेयर हेमकर्ण पौडेलले विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरेको बताएका छन् ।

विद्यालयकै अगाडि खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि कडाइ गरिएको उनको भनाइ छ ।

विद्यालय क्षेत्र आसपास सञ्चालनमा रहेका होटेल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न निर्देश गरिएको पौडेलले बताए ।

आगामी दिनमा अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी दायरामा ल्याइने उनले चेतावनी दिएका छन् ।

विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै अटेर गर्नेलाई कारबाहीको विकल्प नरहेको उपमहानगरले जनाएको छ।

सुर्तीजन्य पदार्थको प्रयोग र त्यसको असर बारे अभिभावक पनि सचेत हुनु जरुरी रहेको बताइएको छ ।

itahari-niseda