विराटनगर : विराटनगर महानगरपालिकाले विक्री वितरण प्रतिबन्धित गरेपनि बजारमा लुकाई छिपाई बेच्न राखिएको ५९ केजी बराबरको सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ ।

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट गुट्खा, तुल्सी, भोला, खैनी बरामद गरेको हो । महानगरपालिकाले पछिल्लो समय सुर्तीजन्य पदार्थ बिक्री, सेवनमा कडाइ गरेको छ ।

महानगरले ऐन बनाएर सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताए ।

मेयर कोइरालाकै उपस्थितिमा बुधवार ५९ केजी सुर्तीजन्य पदार्थ नष्ट गरिएको हो । नष्ट गरिएका सुर्तीजन्य वस्तुमा गुट्खा, तुल्सी, खैनी लगायत भएको महानगर प्रहरी प्रमुख राजन पौडेलले बताए । उनका अनुसार यसअघि ५३ केजी सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो ।

महानगरले पौडेललाई सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । यसअघि एक व्यापारीलाई महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना समेत गरेको थियो । पटक-पटकको चेतावनीलाई बेवास्ता गर्दै केही बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको जनाएको छ ।

मेयर कोइरालाले भने, ‘सुर्तीजन्य पदार्थको बिक्री प्रतिबन्ध गरेपछि विराटनगरको सरसफाइमा सहयोग पुगेको छ ।’ सडकहरूमा सुर्तीजन्य पदार्थका खोलहरू देखिँदैनन् । गुट्खा खाएर थुकेको पनि नदेखिएको उनले बताए ।

महानगरपालिकाले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । साउन १ देखि बिक्रीको अनुमति खारेज र नयाँ दर्ता समेत बन्द गरेको छ । महानगरपालिको ऐनमा बिक्री वितरण र सेवन गर्नेलाई १ हजार देखि ५० हजारसम्म जरिवाना गर्ने प्रावधान छ ।