महेन्द्र बहुमुखी क्याम्पस, धरानको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुको संयुक्त प्यानलबाट प्रसान राई सभापतिको उम्मेदवार छन् । अघिल्लो स्ववियु चुनावमा सहसचिव पदमा विजयी प्रशान विद्यार्थी आन्दोलनहरूमा अग्रणी रहँदै आएका छन् । राजनितीशास्त्रमा स्नातक तहका विद्यार्थी राई नेविसंघ क्याम्पस इकाई उपसभापति हुन । धरान-१८ का स्थानीयवासी प्रसान राई सँग स्ववियु निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको अंश :
स्ववियु सभापतिको उम्मेदवारको रूपमा तपाइको एजेण्डा के के हुन ?

हामीले एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने, आश्वासन बाँड्ने, भ्रम पार्ने कुनै कुरा गरेका छैनौँ । हामी विद्यार्थीका हरके समस्याका बारेमा जानकार छौँ । हाम्रो क्याम्पसमा रहेका साना साना समस्याहरू हाम्रा प्राथमिकता हुन । हाल क्याम्पसमा पिउने पानीको फिल्टर छ तर, बिग्रिएर मर्मत नभएको धेरै भयो, त्यसको सुधारमा पहल गर्ने गर्छौ । क्याम्पसमा भएको बस सदुपयोग हुन सकेको छैन । इ-लाइब्रेरीको पहललाई प्रभावकारी बनाउँछौँ ।
हाल महेन्द्र बहुमुखी क्याम्पसमा समाधान हुन नसकेका शैक्षिक समस्याहरू के-के छन् ?
हाम्रो क्याम्पसका धेरै शैक्षिक समस्याहरू विद्यार्थीहरू बिच जगजाहेर नै छ । शिक्षकहरू समयमा कक्षामा नआउने गुनासो धेरै छ । पाठ्यपुस्तक र शैक्षिक सामग्रीहरूको अभाव त्यसप्रति हामी गम्भीर छौँ । क्याम्पसका प्रत्येक कक्षामा स्मार्ट बोर्ड लगाउनु पर्ने कुरामा नयाँ स्ववियुले पहल गर्नेछ ।
धरान बाहिरबाट क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूले कस्तो समस्या भोगिरहेका छन् ?
मलाई यहाँ अध्ययनकालागी आउनुहुने विद्यार्थी साथीहरूको समस्याबारे राम्रो अवगत छ । अध्ययन गर्न आउने विद्यार्थीलाई विशेषगरी कोठा भाडाको समस्या छ, कलेज नजिक कोठा पाउन मुस्किल छ । त्यस समस्यामा उहाँहरुलई सहजता बनाउने कार्यमा नयाँ स्ववियुले प्राथमिकता दिनेछ छ । एलएलबी लगायत अन्य संकायमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई अनलाइन कक्षाको व्यवस्था गर्नेछौँ । धरान बाहिरबाट बसमा आउने विद्यार्थीले बसमा यात्रा गर्दा बसमा सहुलियत नपाएको गुनासो समाधान गर्न जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गर्न सुरु गरेका छौँ ।
क्याम्पस भित्रका समस्याहरू समाधान गर्न तपाईँको प्यानल सँग कस्ता उपायहरू छन् ?
क्यापसका भौतिक एवम् शैक्षिक समस्याहरू क्याम्पस प्रशासन सँग सम्बन्धित छन् । हरेक समस्याका समाधानका लागी प्रशासन सँगको निरन्तर समन्वय, दबाब र खबरदारी गर्दै अगाडी बढ्ने छौँ ।
विद्यार्थीहरूले तपाँईहरुको प्यानललाई किन भोट हाल्ने ?
हामी विद्यार्थीका समस्या बारे जानकार र भुक्तभोगी छौँ । हामीले हरेक कक्षामा गएर विद्यार्थीका समस्याहरू टिपोट गरेका छौँ । हामी हरेक दिन विद्यार्थीको हक हितमा काम गर्न लागी पर्ने छौँ ।
हाम्रो प्यानलका साथीहरूले कुनै स्वार्थ र दम्भ नराखी विद्यार्थीको पक्षमा कार्य गर्ने छन् । हामीलाई स्ववियुमा जिताए पछि कुनै एक सङ्गठनको होइन, सबै विद्यार्थीको साझा स्ववियु बनाउने प्रतिबद्धता गर्दछौँ । धरानको गहनाको रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुरक्षित भौतिक पूर्वाधार निर्माणमा समेत पहल गर्नेछौँ ।
तपाईँहरूका एजेण्डा कसरी विद्यार्थीहरू माझ पुर्याउदै हुनुहुन्छ ?
हामीले हाम्रा प्रतिवद्धताहरु चार हजार पाँच जना विद्यार्थीमाझ पुर्याउन व्यक्तिगत रूपमै भेटघाट गर्ने, फोनबाट जानकारी गराउने, फेसबुक पेजबाट जानकारी गराउने, ह्वाट्स्एप ग्रुपमार्फत पनि सम्पर्कमा रहेर जानकारी आदानप्रदान गर्दैछौं ।
स्ववियु निर्वाचनमा क्याम्पस प्रशासनले कसरी कार्य गरिरहेको छ ?
क्याम्पस प्रशासन शान्तिपूर्ण तवरले निर्वाचन गर्न लागी परेको महसुस गरेका छौँ । विद्यार्थीलाई आवश्यक तथ्याङ्क उपलब्ध गराउने, अन्य आवश्यक तयारी गरिरहेको पाएका छौँ । सबै सङ्गठनहरू सँग समन्वय गर्दै सौहार्दपुर्ण वातावरणमा निर्वाचन गराउन काम गरिरहेको अनुभव गरेका छौँ ।