इटहरी उपमहानगरपालिकाको राजस्व वृद्धि भएसँगै स्थानीयले चर्को विरोध जनाइरहेका छन् । नेता र कार्यकर्ताहरू कर वृद्धिको विषयमा फरक मत राखिरहेका छन् । कर सङ्कलन नगरी विकाश नहुने एक थरीको तर्क छ भने अर्का थरी ३ सय प्रतिशत सम्म कर वृद्धिको कुनै पनि आधार नभएको बताउँछन् । मेयर हेमकर्ण पौडेलले वैज्ञानिक कर व्यवस्थापन गरेको बताए पनि कार्यपालिका सदस्यहरूले मेयरको भनाई तर्कसङ्गत भएको भन्दै विरोध गरिरहेका छन् । उपमहानगरपालिकाले गठन गरेको राजस्व समायोजन समितिले समयमै प्रतिवेदन बुझाउन सकेन । पछि समिति संयोजकले एकल रूपमा प्रतिवेदन राजस्व परामर्श समितिलाई बुझाए । सोही प्रतिवेदनको विषयमा अहिले उपमहानगरपालिकाका विवाद जारी छ । कर वृद्धिको कारण र समायोजनको सम्भावनाका विषयमा राजस्व परामर्श समिति संयोजक तथा उपमेयर सङ्गीता चौधरी सँग कपुरीकर्मी विनय बाह्रकोटीले गरेको कुराकानी ।

  • स्थानीयले कर वृद्धिमा विरोध जनाइरहेका छन् । तपाईँ आफै राजस्व परामर्श समितिको संयोजक हुनुहुन्छ । तपाईँकै समितिको सुझाव अनुसार कार्यपालिकाबाट निर्णय भएर नगरसभाले कर वृद्धिको अनुमोदन गर्नुपर्ने हो । अहिले आएर किन यति धेरै किचलो ?  
हामीले करको विषयमा छलफल गरेका थियौँ । हामीले राजस्व परामर्श समितिबाट निर्णय गरेर कर नबढाउने सहमति सहितको निर्णय बुझायौँ । बजेट नीति तथा कार्यक्रम पास गर्नको लागि वडामा दिने भनेको बजेट सिलिङमा कुरा मिलेन । पछि अन्तिम दिन इमर्जेन्सी कार्यपालिका बैठक बसेर बजेट सिलिङको निर्णय भयो । त्यो कार्यपालिकामा पनि कर बढाउने बारे कुनै छलफल भएको थिएन । कर बढाउने कुनै गुन्जायस थिएन । कसैको पनि मनसाय थिएन क्या । मलाई त केही थाहै छैन । पछि पो एक्कासि थाहा भयो कर बढाएर बजेट आएको रहेछ । म छक्क परेँ । 
  • कर वृद्धि गर्ने र बजेट सिलिङ बढाउने विषयमा लेनदेन भएको भन्ने कुरा के हो ?
मलाई थाहा छैन । वडा अध्यक्षहरूले ३ करोड सिलिङ माग गर्नुभएको थियो । पछि जनसङ्ख्या र भूगोलको आधारमा दुई थरी सिलिङ तोकियो । तर मलाई राजस्व बढाउने सहमतिमा सिलिङ तोकिएको जस्तो लाग्दैन । सिलिङ मिलेपछि पनि आर्थिक विधेयक र विनियोजन विधेयक हेर्न पाउनुपर्ने कार्यपालिका सदस्यको माग थियो । मेयर ज्यूले सबैको सल्लाहमा काम गर्ने तर अहिले बजेट पास गरेर अगाडी बढौँ न भन्नु भयो । तर सभामा पुगेपछि पनि हामीले विधेयक हेर्न पाएनौँ । हामीले मेयरको विश्वास गरेर धोका पायौँ । विश्वासघात भयो ।
  • कर समायोजन गर्न समिति गठन गर्नुभयो । समिति संयोजकले प्रतिवेदन पनि बुझाउनुभयो । तर किन प्रतिवेदन पास भएन ? 
साउनमै राजस्व समायोजन गर्ने कार्यदल बनेको हो । कार्यदलले समयमै प्रतिवेदन बुझाउन सकेन । किन बुझाउन सक्नु भएन मलाई थाहा छैन । पछि संयोजकले मात्र हस्ताक्षर गरेर प्रतिवेदन ल्याउनु भयो । मैले राजस्व परामर्श समिति संयोजकको हिसाबमा प्रतिवेदन कार्यपालिकामा पेस गरे तर मेयर ज्यूले सुन्नै मान्नु भएन । एकलौटी बनाएको प्रतिवेदन भनेर मेयरले भन्नू भयो । 
  • अब यही कर निरन्तर लागु हुने हो ? कि केही परिवर्तन सक्नुहुन्छ ? 
मेयरको ज्यूले चाहिँ अघिल्लो कार्यदलले बुझाएको प्रतिवेदनले कर मात्र घटाउने कुरा उल्लेख गरेको तर त्यसको असर कहाँकहाँ पर्छ भन्ने बारे केही उल्लेख नभएको भन्नू भएको छ । कर घटाउँदा कहाँ असर गर्छ भन्ने अध्ययन गर्ने नयाँ समिति बनाउन खोज्नु भएको थियो । तर अन्य कार्यपालिका सदस्यहरूले मान्नु भएन । मेयर ज्यूको कुरा बुझ्न सकिएको छैन ।
  • तपाईँले कार्यपालिका सदस्य र मेयरको भूमिका पनि हेर्दै हुनुहुन्छ । व्यक्तिगत रूपमा उपमेयरको डेढबर्षे कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ ?
कार्यपालिका बैठक हरेक महिना बस्नुपर्ने बस्न सकिएको छैन । यो राजनीति भन्ने चीज खतरा रैछ । यहाँ विविध समस्या आउँदो रैछ । मेयर ज्यूले मैले भनेको सुन्दै नसुन्ने । त्यसबाहेक पार्टी पङ्क्तिको कुरा छदै छ । सबैतिरबाट एक किसिमको प्रेसर आउँदो रहेछ नि त । मेयर नै सर्वेसर्वा हुँदो रैछ । 
  • पूर्व जनप्रतिनिधिको दबाब चाहिँ कतिको आउँछ ?
दबाब हैन वहाँहरूले सुझाव दिनुहुन्छ । मैले भने नि दुई दलको भइसकेपछि काम गर्न चाहिँ गाह्रो रैछ । 
  • तपाईँले चाहेको काम गर्न त सक्नु हुन्छ होला नि ! कस्तो काम गर्ने योजनामा हुनुहुन्छ ?  
एउटै मान्छे सबै कुरामा पुरा हुँदैन । म पनि पुरा छैन । सबैको सल्लाह सुझाव लिएर अगाडी बढ्नुपर्छ । अहिले इटहरीको आवश्यकता के छ भनेर अनुसन्धान गर्दै काम गर्दा बेटर होला जस्तो लाग्छ । तर उपप्रमुख भनेको आर्थिक अधिकार नभएपछि चिताएको कुरा पनि त्यत्तिकै बिलाएर जाँदो रैछ । 
  • तपाईँले चाहनु भएको विकाश चाहिँ कस्तो हो ? 
अहिले फोहोर व्यवस्थापनको अवस्था हेर्नु न कस्तो अस्तव्यस्त छ । दीर्घकालीन फोहोर व्यवस्थापन भएकै छैन । इटहरीले चौबीसै घण्टा सफा राख्न सकेका छैनौँ नि । अहिले करको कुरा आइरहेको छ । मैले राजस्व परामर्श समितिमा कर नबढाउने निर्णय गरेर दिएको हो । तर कर त बढ्यो । मेयरको सर्वाधिकार हुँदो रैछ । हामीले चाहेर केही नहुने मेयर चाहँदा जे पनि हुने जस्तो भयो । 
  • खोला उत्खनन देखी सिटी सफारी व्यवस्थापनमा निर्णय गर्नुभयो तर कार्यान्वयन भएन नि ! 
यसको बारेमा मलाई थाहा छैन । यो सबै मेयरको एकल निर्णय हो । मलाई थाहा हुँदैन । जब सफारीको मिटिङ सुरु हुन्छ त्यहीँ बेला मिटिङ छ आउनुपर्‍यो भन्नु हुन्छ । म पनि जनप्रतिनिधि हुँ नि । अगाडी नै जानकारी गराउँदा हुँदैन ? केही मतलब छैन । 
जस्तो खोला पैनीको पनि धेरै पटक सूचना आइसक्यो तर काम भएको छैन । निर्णय नगरी मेयर ज्यूले सूचनाको भरमा काम गर्नु भएको छ । वहाँको एकल निर्णय हो । मलाई केही सोध्नु हुन्न । भर्खरै जनता माविमा ३ जना शिक्षक पदपूर्ति गर्ने कुरामा पनि शिक्षा समितिमा कुनै छलफल भएन । शिक्षा समितिको संयोजक मेयर आफै भए पनि समितिमा निर्णय नभई एकल रूपमा सरुवा सहमति दिनुभयो । अन्य सदस्यलाई बेवास्ता गर्नुभयो । त्यसमा मेरो विमति छ । त्यो सबै वहाँको एक्लो निर्णय हो । 
  • यति धेरै विज्ञ भएको उपमहानगरमा काम चाहिँ किन सुस्त र निश्प्रभावी गर्नुभएको ? 
विज्ञको कुरा मलाई थाहा छैन । त्यो मैले गरेको हैन । मेयर ज्यूले गर्नुभएको हो । मेयर ज्यूलाई नै सोध्नु । 
  • आफ्नो कामप्रति चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ ? 
अहिले आएर आफैलाई डोमिनेट फिल भएको छ । जनताले मलाई त्यति धेरै भारी मतले विजयी गराउनु भएको छ । जनताको इच्छा अपेक्षा पुरा गर्न नसकेको कारण खल्लो महसुस भएको छ । 

Sangita chaudhary itahari

  • इटहरीमा थारुलाई प्रथम नागरिक घोषणा गर्नुभयो । प्रथम नागरिक भएकै कारण थारुहरूले के सुविधा पाए ? कि यतिकै गरिदिउँन भनेर गर्नुभएको ? 
यो नाम मात्रको पहिलो नागरिक घोषणा हो । प्रथम नागरिकले पाउने सेवा सुविधा खोइ ?  शिक्षा, स्वास्थ्य, रोजगारीमा थारुको पहुँच कहाँ पुग्यो ? मलाई त लाग्छ कहीँ पुगेको छैन । अनि यतीकै चर्चाको लागि मात्र प्रथम नागरिक बनाउने कुराले केही पनि फाइदा हुँदैन । 
  • अन्तिममा के भन्न चाहनुहुन्छ ? 
गरिब र विपन्न वर्गको लागि काम गर्ने हो । गाउँका नागरिकलाई कम्तीमा होमस्टे सञ्चालन गरेर भए पनि आयआर्जन गर्न सक्ने अवस्था सृजना गराउने हो । अहिले केही सुरुवात गरौँ जस्तो लागेको छ । हेरौँ कतिको सकिन्छ गर्ने हो । 
काम गर्ने कोसिस गरिरहेको छु । जनप्रतिनिधि भएपछि जनताको हितमा काम गर्नुपर्ने हुन्छ । करको सवालमा मैले भ्याए सम्म गरेकै छु । मेयरको अधिकार भएकाले केही गर्न सकिएन । आगामी दिनमा जनताको हक हितमा डटेर काम गर्छु ।