नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति राजीव ढुङ्गाना सुनसरीका प्रभावशाली नेताको रूपमा चिनिन्छन् । सुनसरीबाट राजनीति गर्ने उनी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा विद्यार्थी विभागका प्रमुख हुन् । नेविसंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति सदस्य समेत रहेका ढुङ्गानासँग नेविसंघ महाधिवेशन लगायत समसामयिक राजनीतिको विषयमा कपुरीकर्मी विनय बाह्रकोटीले छोटो संवाद गरेका छन् । 

  • तपाईँ नेपाल विद्यार्थी सङ्घको नेतृत्व गरेर पार्टीको केन्द्रीय समितिमा हुनुहुन्छ तर लामो समय देखि विद्यार्थीहरू महाधिवेशनको पर्खाइमा छन् । कहिले हुन्छ नेविसंघको महाधिवेशन ? 

लामो समयदेखि महाधिवेशन गर्ने भनेर योजना बन्दै गएको छ । हाम्रो आन्तरिक तयारी नभएको कारण समयमा महाधिवेशन गर्न सकेको छैन । पार्टीले वर्तमान समितिलाई नै पुनः म्याद थप गर्ने गरी तयारी गरेको छ । यस विषयमा पार्टी गम्भीर छ । अब बस्ने केन्द्रीय समितिले निर्णय गर्ने भएकाले भातृ संस्थाको अधिवेशन गर्ने माहौल निर्माण हुन्छ । नेविसंघ महाधिवेशन गर्नैपर्छ र हुन्छ पनि ।

  • नेविसंघको अधिवेशनले पार्टीमा कुनै प्रभाव नपर्ने भएर हो ? कि समयमा महाधिवेशन नहुँदा पार्टीमा केही प्रभाव पनि पर्छ ? 

यसलेगर्दा पार्टीमा मात्र हैन प्रणालीमा पनि प्रभाव पर्छ । पार्टीको मेरुदण्ड मानिएको नेविसंघको अधिवेशन नहुनु भनेको स्वाभाविक रूपमा पार्टीका गतिविधि कमजोर हुनु हो । एउटा लोकतान्त्रिक पार्टी कमजोर बन्दा समग्र प्रणाली नै कमजोर हुन्छ । यसलाई पार्टीले गम्भीरताका साथ लिएको छ । नेविसंघ मात्र हैन अन्यपनि भातृ संस्था भनेको एउटा वर्ग र पुस्ताको नेतृत्वगर्ने संस्था हुन् । यसको चलायमानताले पार्टीलाई ठुलो सपोर्ट हुन्छ । 

  • बारम्बार म्याद थप गरेर अधिवेशन हुन्छ भन्ने ग्यारेन्टी के छ ? 

अहिले म्याद थप गर्ने कि नगर्ने वा अवधि लम्ब्याउने की के गर्ने भन्ने विषय हुँदै होइन । मुख्य कुरा अधिवेशन गर्ने भन्ने हो । बारम्बार म्याद थपगर्दै जाँदा पनि अधिवेशन हुन सकेन भने पार्टीले विकल्प सोच्छ । 

  • युवा पुस्ताको नेतृत्वगर्ने भातृसंस्थाको अधिवेशन नहुने र यही बेला पार्टीहरू प्रति युवापुस्ताको धारणा नकारात्मक बन्दै जाने जुन अवस्था छ यसबारे तपाईँको धारणा के छ ? 

युवाहरू नकारात्मक धारणा विकास भयो भन्ने त हैन । तर राजनीतिक दलहरू र देशको नेतृत्वले जुन हदका काम गर्नुपर्ने हो त्यो गर्न नसकेकै हो । सुशासन र रोजगारीको सवालमा हामी चुकेका छौ । सरकारले यसलाई गम्भीरताका साथ लिएको देखिएको छैन । तर अब समृद्धिको बाटोमा लाग्नुको विकल्प छैन । 

सबै युवाहरू निराश भए भन्ने पनि हैन । पछिल्लो समय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीको राजनीतिक सहभागिता र उनीहरूको लोकतान्त्रिक सङ्गठन प्रतिको झुकावले सकारात्मक सङ्केत गरेको छ । अहिले पनि युवाहरूको आशा र भरोसाको केन्द्र पार्टीहरू नै हुन् । दलहरूले विगतका कमजोरीबाट सिकेर नयाँ सोचका साथ अगाडी बढ्नुको विकल्प छैन । 

  • लोकप्रियता र प्रतिसोधको राजनीतिको दुष्चक्रबाट लोकतन्त्रलाई कसरी बचाउने ? के सोच्नु भएको छ ? 

यो सरकार जुन शैलीमा अगाडी बढ्नुपर्ने हो त्यो भएको छैन । हाम्रो के चलन भयो भने राज्यका निकायले काम गरेन भने राज्यका निकाय निकम्मा भए भन्ने छ । काम ग¥यो भने प्रतिशोध भन्दिन्छौँ । काँग्रेस त्यो बाटो भन्दा पर छ । संवैधानिक निकायहरू आफ्नो अधिकारमा स्पष्ट छन् । उनीहरूको गतिविधिमा काँग्रेस हस्तक्षेप गर्दैन । सुशासन कायम गर्ने विषयमा हामी प्रतिबद्ध छौँ । अर्कातर्फ लोकप्रियताको समस्या छ । जुन लामो समय टिक्दैन । तत्काल सुन्दा राम्रो लाग्ने कुरा गर्ने तर गतिविधि त्यसको विपरीत गर्ने प्रवृत्ति हाबी भएकै छ । यसबाट हामी बच्नुपर्छ तर त्यसतर्फ लाग्नु हुँदैन । 

  • काँग्रेसले नेतृत्व गरेका स्थानीय तहमा पनि जनताले महसुस गर्नेगरि काम भएन भन्ने छ । यस विषयमा पार्टीको एक्सन प्लान कस्तो छ ? 

पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीको नेतृत्व बिच समन्वय नभएको देखिएको छ । पार्टी पङ्ती  एकातिर र जनप्रतिनिधि अर्कातिर देखिएका छन् । जसले जनप्रतिनिधिको कामको पनि प्रचार नभएको र पार्टीले पनि अपनत्व महसुस गर्न नसकेको देखिन्छ । यस्ता विषय उठिरहेको बेला पार्टी केन्द्रीय समितिले नै संयन्त्र बनाएर अगाडी बढ्ने योजना बनाएको छ । सबै पालिका र जिल्लामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कामको आधारमा मूल्याङ्कन गरेर अङ्क दिने सम्मका योजना छन् । राम्रो कामगर्ने जनप्रतिनिधिलाई सम्मान गर्ने र थप अवसर प्रदान गर्ने कुरामा पार्टी लागेको छ ।  

  • अन्त्यमा भन्नैपर्ने र भन्न मन लागेको केही छ ? 

त्यस्तो केही छैन । तर पछिल्लो समय देशमा केही भएन भन्ने भाष्य निर्माण भएको छ । जुन गलत हो । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा धेरै विकास भएको छ । सूचना प्रविधि देखि सडक सञ्जाल सम्म व्यापक सुधार छ । शिक्षा, स्वास्थ्यमा सुधारहरू भएका छन् । तथापि रोजगारीका क्षेत्रमा जनताले चाहेजस्तो गर्न सकिएको छैन । जसको कारण केही निराशा बढेको छ । यसलाई गलत ढङ्गले प्रयोग गर्ने काम भइरहेको छ । अबको नयाँ पुस्ताले पुरानो व्यवस्था तिर फर्किने सम्भावना छैन । यही प्रणाली र व्यवस्थालाई सुदृढ बनाएर अगाडी बढ्नुपर्ने हुन्छ ।