विराटनगर : विराटनगरमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा १ हजार देखी ५० हजार रुपैयाँ सम्म जरिवाना तिर्नु पर्ने भएको छ । महानगरपालिकाले सुर्तीजन्य वस्तुको विक्री र सार्वजनिक सेवनमा रोक लगाउने ऐन कडा रूपमा कार्यान्वयन गर्ने नीति अपनाएको हो ।

यसअघि काठमाण्डै महानगरपालिकाले भोला, गुट्खा लगायत सुर्तीजन्य पदार्थ विक्री र सार्वजनिक रूपमा सेवन गर्न प्रतिबन्ध लगाउनु अघि विराटनगर महानगरपालिकाले गत वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा रोक लगाएको बताइएको छ ।

साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति महानगरपालिकाले खारेज गरेको थियो । नयाँ दर्ता रोक लगाएको थियो । साउनमा नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐन जारी गरेका छ । ऐनमा बिक्री वितरणका साथै सार्वजनिक स्थलमा सेवन गर्नेलाई समेत जरिवाना तोकिएको छ । ऐनमा १ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० पूर्ण कार्यान्वयनमा ल्याएको हो । सुर्तीजन्य पदार्थ बिक्री-वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको छ । महानगरपालिकाले ऐन कार्यान्वयन गर्न सम्बन्धित शाखा र महाशाखालाई अनुगमन तीव्र पार्न निर्देशन दिइसकेको मेयर नागेश कोइरालाले बताए ।

सुर्तीजन्य पदार्थका बारेमा सूचना सङ्कलनका लागि महानगरले सिभिल ड्रेसमा नगर प्रहरी र कर्मचारीसमेत गोप्य रूपमा परिचालन गरेको जनाएको छ । खैनी, चुरोट, गुटका, रजनीगन्धा लगायतको सेवनका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने र उपचारमा धेरै रकम लाग्ने भएका कारण बिक्री र सेवनमा रोक लगाइएको मेयर कोइरालाले बताए ।

सुर्तीजन्य पदार्थका खोल सरसफाइका लागि समेत ठुलो समस्याका रूपमा रहेको उनको भनाइ छ । सुर्तीजन्य पदार्थबाट राज्यले प्राप्त गर्ने राजस्वभन्दा जनताको स्वास्थ्य उपचारमा राज्यको सयौँ गुणा बढी रकम खर्च हुने गरेको मेयर कोइरालाले बताए । उनले भने ‘यसबाहेक महानगरको सरसफाइमा समेत सुर्तीजन्य पदार्थको खोल समस्याका रूपमा रहेको छ ।’

ऐन कार्यान्वयनका लागि अनुगमन गर्न महानगरले नगर प्रहरीका प्रमुख राजन पौडेललाई निरीक्षक तोकेको छ । महानगर क्षेत्रभित्र ऐन कार्यान्वयन भए–नभएको निरीक्षण गर्न र प्रचलित ऐन, नियम–कानुनको अधीनमा रही प्रभावकारी रूपमा अनुगमन गर्न नगर प्रहरी प्रमुख पौडेललाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

पौडेलको प्रहरी, स्वास्थ्य अभियन्ताको टोलीले बिहीबार विराट नर्सिङ होम, नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गर्दा कपडा पसलमा समेत सुर्तीजन्य पदार्थ बिक्री गर्ने गरिएको फेला परेको बताइएको छ । उपमेयर शिल्पा निराला कार्कीले घरपरिवारबाटै सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन महानगरलाई आग्रह आउने गरेको बताइन् ।