- निनाम लोवात्ती
गत मार्च १३ का दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष २०८१ सुरु भएको छ । विक्रम संवतको नयाँ वर्षको अवसरमा धेरै नेपालीहरू आन्तरिक पर्यटकका रूपमा देशको विभिन्न ठाउँमा नयाँ वर्ष मनाउने उद्देश्यले भ्रमण गर्न जाने गरेका छन् ।
यसरी हेर्दा विगतका केही वर्षदेखि नेपालीहरू नयाँ वर्ष विक्रम संवत् र इस्वी संवतको अवसरमा बिदा मनाउनका लागि आफ्नो देशको विभिन्न ठाउँमा जाने गरेका छन् । यस्तो बिदा र उत्सव मनाउने क्रम ग्रेगोरी पात्रौ इस्वी संवत् अनुसारको न्यु इयर र क्रिश्चियन धर्मावलम्बीहरूको ‘क्रिसमस डे’ त्यस्तै गरेर हिन्दुहरूको चाड दसैँ, तिहारको अवसरमा पनि ठुलै सङ्ख्यामा नेपालीहरू घुम्न जाने गरेका छन् ।
त्यसैले अब राज्यले नै मधेसका मानिसले मनाउने गरेको छठ पर्व, जुडशीतल, काठमाडौँ उपत्यका लगायत नेपालभरिका नेवार जातिको योमरी पुन्ही, मगर र थारुका साथै नेपाल अन्य आदिवासी जतिले मनाउने जो जससँग सम्बन्धित छ, खास गरि नेपाल सरकारका हरेक निकायका कर्मचारीहरूलाई पेस्की सहित छोटा-छोटा बिदा देशभित्रकै विभिन्न ठाउँमा घुम्न जान दिने प्रचलन सुरु गर्नुपर्ने देखिन्छ ।
त्यस्ता पर्वहरू माघे सक्रान्ती, भगवान् गौतम जयन्ती, किरात समुदायको उभौली, उँधौली पर्व, हिन्दुहरूको जनै पूर्णिमा, रक्षावन्धन, कुसे औँसी, गौरा पर्व, कुलुङ जातिको चाक्चाकूर, गुरुङ जातिको तोला ल्होसार, तामाङको सोनाम ल्होसार, शेर्पा जातिको ग्याल्पो ल्होसार, थकाली जातिको तोरन्ल अनि नेपालको भगौलिक एकीकरणकर्ता पृथ्वी नारायण शाहको जन्म-जयन्ती लगायत हुन सक्छन् ।
देशभित्रकै विभिन्न ठाउँमा घुम्न जाँदा उनीहरू जुन ठाउँमा गएका हुन्, त्यस ठाउँको हालैको नयाँ फोटा, भिडियो, होटेल, लजमा खाएको-बसेको रात बिताएको बिल, गाडी वा हवाई जहाजको टिकट, कोसेली किनेको बिल आदिको भर्पाई अनिवार्य पेस गर्ने व्यवस्था गरिनु पर्छ ।
हुन त हाम्रो देश नेपालमा दिनदिने चाड, पर्व, जात्रामात्रा, मेला, पर्व, दिवस, जन्म-जयन्ती आदि हुने गर्छ । खैर, यो सन्दर्भलाई यही छाडौँ । जे भए तापनि आजभोलि हामी नेपालीहरूमा पनि चाड, पर्व, दिवस आदिको अवसरमा पाइने छुट्टी वा भनौँ बिदामा सके विदेश घुम्ने नभए स्वदेशकै विभिन्न ठाउँ घुमफिर गर्ने बानीको विकास हुँदै छ ।
जुन कुरोले गर्दा ग्रामीण क्षेत्रका ससाना होटेल, लज र होमस्टे सञ्चालकहरूका लागि धेरै राम्रो आर्थिक आधार खडा भएको छ । किनभने हामी नेपालीहरूले पनि आ-आफ्नो चाड, पर्व, मेला, दिवस, जन्म-जयन्ती आदिको अवसरमा पाइने छुट्टीलाई सदुपयोग गर्दै घुमफिर गर्ने बानी बसालेमा आफ्नो देशका जातजाति, भाषाभाषी, भूगोल, प्राचीनस्थल, पुराना गुफा, ओडार, स्मारक, गढी, किल्ला, दुर्ग, ऐतिहासिक स्थल, प्राकृतिक सुन्दरताको बेग्लै अनुभव र अनुभूति लिन र गर्न सक्छौ ।
यसबाट देशको आन्तरिक अर्थतन्त्र पनि चलायमान हुन्छ । यसरी हामीले घुम्ने बानी बसालेमा देश विकासमा पनि केही न केही भरथेग र सहयोग पुराएका हुन्छौँ, पुराउँछौ । खासगरी हामीले हिन्दु धर्मावलम्बीहरूले मान्ने चाड ‘दसैँ र तिहार’को अवसरमा मात्रै लामो बिदा पाउने गरेका छौँ ।
जबकि नेपालका हरेक जातजाति, भाषाभाषी, धर्मावलम्बीहरूले लामो समय १५ देखि एक महिनासम्म चाड पर्व मनाउने गर्छन् । तर ती समुदायलाई सो अवसरमा राज्यले नै बढीमा एक दिन बिदा दिन्छ । कतिपय जातिको चाड पर्वमा त एक दिन पनि बिदा दिँदैन । यसरी हेर्दा राज्यले आफ्ना नागरिकलाई विभेदपूर्ण ढङ्गले व्यवहार गरेको देखिन्छ । राज्यले देशका नागरिकहरूलाई समान व्यवहार गर्नुपर्ने हो, ‘कसैलाई काखा र कसैलाई पाखा’ गर्न नहुने हो ।
तापनि धेरै नेपालीहरू जो निजामती कर्मचारी, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग, नेपालमा रहेका राजदूतावास, विदेशी नियोग, दातृ निकाय, निजी क्षेत्रका बैङ्क, वित्त कम्पनी, फाइनान्स कम्पनी, सहकारीहरू, आईएनजिओ, एनजिओहरू, निजी कम्पनी तथा कलकारखाना, उद्योग, सेवा प्रदायक कम्पनीमा कार्यरत मानिसहरू बिदाको समयमा देशभित्रकै विभिन्न स्थानमा आन्तरिक पर्यटकका रूपमा जान थालेका छन् ।
यसरी हेर्दा नेपालीहरूले पनि पछिल्लो पटक देशको विभिन्न ठाउँमा बिदा मनाउन गएर आन्तरिक पर्यटक भई समग्रमा देशको आर्थिक विकासमा योगदान दिन थालेका छन्, यो धेरै राम्रो कुरो हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक गतिविधि नेपालको कुनाकुनासम्म चलायमान होस् भन्न पवित्र उद्देश्यले नै होला, सरकारी कर्मचारी विशेषतः निजामती कर्मचारीहरूलाई १० दिनको ‘पर्यटन काज बिदा’ दिने सम्बन्धी नीति ल्याएका थिए ।
तर सरकारी कर्मचारीहरूलाई १० दिनको ‘पर्यटन काज बिदा’ सम्बन्धी नीतिलाई कार्यान्वयन मा ल्याउने त कता हो कता सो सम्बन्धमा बनेको कार्यविधिलाई नै कहिले यता, कहिले उता गरेर ‘यता न उता बनाए, निजामती कर्मचारीका उच्च तहका हाकिमहरूले ।
जबकि नेपालका कर्मचारीतन्त्र विशेष: ठुला पदमा रहेका कर्मचारीले देश विकासमा आफ्नो पनि सानोतिनो योगदान पुग्ने सम्झेर सरकारले ल्याएको सरकारी कर्मचारीलाई १० दिनको ‘पर्यटन काज बिदा’ दिने नीतिलाई कार्यान्वयनमा ल्याउनका लागि चाहिने कार्यविधिमा केके राख्ने ? भनी तदारुखताका साथ अघि बढाउनु पर्ने थियो ।