• अर्जुन काफ्ले

पथरी : मोरङ उर्लाबारी-२ भुसीका ओम बहादुर धिमाल बिहानै घरबाट निस्किन्छन् । साइकलमा एउटा प्लास्टिकको सुटकेस बोक्छन् । सुटकेस भित्र कैँची, सानो ऐना, काइँयो, छुरा ब्लेड र कपडा राख्छन् ।

बिहानै घरदैलोमा पुग्ने धिमालको दिनचर्या नै घर-घर पुगेर कपाल र दाह्री काट्नु हो । धिमालको आर्थिक श्रोत कपाल काटेरै जुटिरहेको छ ।

उर्लाबारी २ सुनझोडामा कपाल काटिरहेकै बेला भेटिएका धिमालको दैनिक १ हजार कमाई भइरहेको र श्रम गर्न बिदेसिनु नपरेको बताए ।

१२ वर्ष अघि वैदेशिक रोजगारीमा कतार पुगेका उनले ८ वर्ष कतारमा बिताए । कतार जानु अघि कपाल काट्ने तालिम लिएका धिमालको तालिमले कतारमा काम गर्दा सार्थकता पायो ।

२-३ हजार रोजगारी गरिरहेको दोहाको मिट म्याट कम्पनीमा काम गर्ने नेपालीको कपाल काट्न थालेपछि उनी थप कमाई गर्न थाले । नेपालीहरूको कपाल काट्न थालेपछि उनी झन् निखारिए ।

छुट्टी र अन्य समयमा कपाल काटेरै कम्पनीबाट पाउने तलब भन्दा बढी कमाई गर्थे । कतारमै रोजगारी गरिरहेका उनी नेपाल छुट्टीमा घर फर्केपछि फेरि कतार जान मन लागेन बरु नेपालमै बसेर स्वरोजगार बनेर बस्न मन लाग्यो ।

नजिकैको पथरी र दमक पुगेर सैलुनका लागी आवश्यक सामाग्री खरिद गरे र सुरु गरे व्यवसाय  । उनले भने 'कतारमा ८ वर्ष गरेको मेहनत गरेँ, देशमै मेहनत गर्दा आम्दानी बढ्ने सोचेर यतै व्यवसाय सुरु गरेको हुँ, कमाई राम्रै छ'।

उनले घरमै आएर कपाल र दाह्री काटेको १ सय रुपैयाँ लिने गरेका छन् । बजार गएर सैलुनमा दाह्री कपाल काटेको २ सय रुपैयाँ लाग्ने गरेको छ । सस्तोमै घरमै कपाल काट्न पाउँदा बजार जाने समस्या टरेको उर्लाबारी-२ का विष्णु विष्टले बताए ।  

धिमालले कपाल काट्न हिँड्दा सुरुमा स्थानीयले  पत्याएनन् । जब काम सुरु गरे अनि विश्वास जित्दै गए । अहिले कमाई राम्रो मात्र भएको छैन धिमालको रोजगारीका लागी विदेश जाने बाध्यता समेत हटेको छ ।

सिप सिके पछि बेरोजगार नहुने उनको भनाई छ । 'सिप भए देश र विदेशमा पनि भोकै बस्नु पर्ने रहेनछ' धिमालले भने ।

Dhimal-dai-urlabari-2