- अनुसा थापा
झन्डै चार दशकअघि तराईमा मात्रै गर्मी हुन्थ्यो । त्यतिबेला काठमाडौँ उपत्यका सहित पहाडी भूभागका धेरै जिल्लामा गर्मी हुदैन्थ्यो । बाह्रै महिना जाडो हुन्थ्यो । केही दशकयता उपत्यका सहित विभिन्न जिल्लामा गर्मी ह्वात्तै बढेको छ । अहिले गर्मीका कारण उपत्यकामा बसिटिक्नु छैन । यहाँ बस्नेहरूलाई के गरौँ र कसो गरौँ भएको छ ।
गर्मीका कारण घरधनीहरू पनि हैरान भएका छन् । डेरामा बस्नेहरू पनि उकुसमुकुस भएको बताउँछन् । कोही त गर्मीले गर्दा गाउँ नै फर्किन समेत थालेका छन् । एकातिर गर्मी छ, अर्कातिर नुहाउन धारामा पानी छैन । त्यसैले, अहिले उपत्यकावासीको टाउको दुखाई बनेको छ, गर्मी । अहिले उपत्यकामा घरजग्गा भएकाहरू बेच्न खोजिरहेका छन् ।
यहाँ बेचेर बाहिरी जिल्लामा जाने अधिकांशको सोच छ । तर, घरजग्गा किन्ने कोही नहुँदा पनि समस्या आयो नि त । उपत्यकामा गर्मी बढ्नुको कारण दुई वटा रहेको बताइन्छ । एउटा बाटोसँगै घरभित्र समेत पिच गरियो । अर्को जताततै घर बनाइयो । यता, २० वर्ष पुराना सवारीसाधन पनि यही चलाइएको छ । इट्टा भट्टादेखि कलकारखाना, उद्योग, सबै यहीँ छन् ।
यसले वायु प्रदूषण र गर्मी बढेको बताइन्छ । उपत्यकामा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, बत्ती लगायत विभिन्न सेवा सुविधा रहेको हुँदा मुलुकभरका जनता यहाँ बसे । यहाँको हावापानी पनि राम्रो मानेर अधिकांशले जग्गा किनेर घर बनाए । त्यस्तै, अधिकांश बाहिरी जिल्लाका मानिस यहाँ डेरामा बस्दै आएका छन् । उपत्यकामा यहाँका स्थानीयबासीभन्दा बाहिरी जिल्लाका मानिस धेरै भेटिन्छन् ।
अहिले सुनिन्छ कि उपत्यकामा बैङ्क तथा वित्तीय संस्थाले लिलाम गरेको हजारौँ घरजग्गा छ । तर, त्यो बिक्री भएको छैन । किनकि कोही पनि उपत्यकाभित्र घरजग्गा किन्न चाहँदैन । हिजो खेतीयोग्य जमिन समेत सबै प्लटिङ गरेर घर बनाइयो । वनजंगल समेत फडानी घर बनाइयो । बाटो निर्माण गरियो । बाटो समेत पिच गरियो । घर आलिसान देखाउन कतिपयले घरभित्रै पिच हाने ।
यति मात्र होइन, घरमा अनेक थरी सामग्रीहरू जोडे । उपत्यकामा हरेक सेवा सुविधा सहजै पाइन्छ भनेर हिजो विदेश गएकादेखि जागिर खाएकासम्मै यहीँ घरजग्गा किने । पैसा हुने जोकोहीले यहीँ घरजग्गामा लगानी गरे । तर, अहिले यहाँ गर्मी ह्वात्तै बढेपछि उनीहरूलाई त्यो घरजग्गा टोक्नु कि ओकल्नु भएको छ । काठमाडौँलाई देशको राजधानी भनिन्छ ।
राजधानी त हरियाली, व्यवस्थित र सफा, सुन्दर हुनुपर्दछ । यद्यपि, यहाँ त घरबाहेक केही देखिँदैन । दुई आना जग्गा किनेर पाँच तले घर बनाइएको छ । भाडामा लगाइएको छ । न खुल्ला ठाउँ छोडिएको छ न त रुख नै रोपिएको छ । घरका कारण राजधानी अस्तव्यस्त बनेको छ । यहाँ सास फेर्न समेत गाह्रो बन्दै गएको छ ।
दुई वर्षअघि उपत्यकाको कुनै ठाउँमा तीन करोडमा किनेको घरजग्गा अहिले त्यसको आधा मूल्यमा बिक्री हुँदैन । घरजग्गामा लगानी गर्दा व्यक्तिदेखि बैङ्क तथा वित्तीय संस्था समेत डुबेका छन् । उपत्यका अव्यवस्थित छ । दिनहुँ लाखौँ स्वदेशी तथा विदेशी नागरिक हिँड्ने बाटोमा फुटपाथ बनाउन दिइँदैन । बाटो काट्न न जेब्रा क्रस छ न त आकाशे पुल ।
भएका आकाशे पुल पनि जीर्ण अवस्थामा पुगेका छन् । यता, सवारीसाधन जथाभाबी पार्किङ गरेर राखिएको हुन्छ । मान्छे हिँड्ने बाटोमा गाडी पार्किङ गर्दा सर्वसाधारणले सास्ती मात्रै होइन, अकालै ज्यान पनि गुमाउनु परिरहेको छ । उपत्यकामा गर्मीसँगै बेरोजगारी बढेको छ । बेरोजगारी अनि महँगीका कारण मानिसहरू यहाँ बस्न नसकेर आफ्नै जन्मथलो फर्किएका छन् ।
हिजो दलालीहरूले आफ्नो फाइदाका निम्ति सर्वसाधारणलाई फसाए । रातारात जग्गा प्लटिङ गरेर बेचबिखन गरे । मानिसहरूले लहैलहैमा लागेर जग्गा किनेर घर बनाए । अहिले यहाँ घर बनाएकाहरू तनावमा छन् । गर्मीका कारण यहाँ बस्न नसकेपछि घरजग्गा बेचेर अर्को जिल्ला जान खोज्दा समेत उनीहरूले पाएका छैनन् । किनकि घरजग्गा किन्ने नै कोही छैन ।
मानिसहरूले एक आनादेखि चार आना जग्गामा घर बनाए । कतिपयले घरमा मार्बल हाले त कतिपयले महँगो इट्टा, ढुङ्गा वा सिसा टाँसे । यद्यपि, अहिले त्यो घर किन्ने कोही छैन । तीन वर्षअघि उपत्यकामा ठाउँअनुसार एउटै कोठाको पाँच हजारदेखि २० हजार लिइन्थ्यो । एक फ्ल्याटको ३० हजारदेखि दुई लाख त एउटा सटरको ५० हजारदेखि १८ लाखसम्म पथ्यो ।
अहिले यहाँका सटरहरू धमाधम खाली भएका छन् । कोठा र फ्ल्याट पनि खाली हुने क्रममै छ । अधिकांशले उपत्यका छोडिसकेका छन् । कोही विदेश गएका छन् त कोही गाउँ फर्किएका छन् । सरकार कसरी गर्मी र प्रदूषण कम गर्ने भनेर कुनै रणनीति बनाउँदैन । अहिले उपत्यका बस्ने लायक नै छैन । यहाँ मानिसहरू बाध्यताका कारण मात्र बसेका छन् ।
सरकारले पहिल्यै उपत्यकामा जथाभाबी घर बनाउन दिनु हुदैन्थ्यो । ताल, पोखरी, वन, जङ्गल फडानी गर्न दिनु हुदैन्थ्यो । सरकारले बेलैमा यसबारे ध्यान दिएन । जग्गा दलालीहरूले जग्गा खण्डीकरण गरेर महँगोमा बेचे । अनि सर्वसाधारणले सेवा सुविधा पाइन्छ भनेर किनेर घर बनाए । पहिला पहिला माटोको घर हुन्थ्यो ।
बिचमा प्वाल राखिएको हुन्थ्यो । यसले गर्मी धेरै हुदैन्थ्यो । अहिले सबै सिमेन्टको प्रयोग गरेर घर बनाइएको छ । फेरि सिमेन्ट छिट्टै तात्छ । र, गर्मी हुन्छ । अर्कोतर्फ बाटो पनि पिच गरिएको छ । यसले घरदेखि बाटोसम्म तातो छ । उपत्यकामा राजनीतिक दलका नेतादेखि प्रधानमन्त्री, मन्त्री, सांसद, उच्च पदस्थका व्यक्तिहरू समेत बसोबास गर्छन् ।
तर, अहिले पनि कसैले पनि यहाँ गर्मी कसरी कम गर्न सकिन्छ भनेर सोचेका छैनन् । गर्मी कम गर्न खुल्ला ठाउँ बनाउनुपर्ने हो कि अरू नै केही गर्नुपर्ने हो यसबारे कोही सोच्दैन । उपत्यकामा यहीँ क्रममा गर्मी बढिरहँदा यहाँ बस्दै आएका सबै आफ्नै गाउँघर फर्किने छन् । गर्मीले घरभित्रै बसिटिक्नु छैन, बाटोमा पनि गर्मी र धुवाँलो उस्तै छ ।
केही कामका लागि हिँड्दा गर्मीका कारण बाटोमै बेहोस भई ज्यान गुमाउनुपर्ने अवस्था छ । किनकि सार्वजनिक स्थलमा खानेपानीको समेत निःशुल्क व्यवस्था गरिएको छैन । चिकित्सक भन्छन्, गर्मीमा धेरै पानी पिउनु । तर, पैसा नभएकाहरूले कसरी पिउनु ? उपत्यकामा खानेपानीको समस्या जटिल छ । एक बोतल पानीको समेत झन्डै ५० रुपैयाँ तिर्नुपर्छ ।
अनि पैसा हुने त यति तिरेर पानी पिउलान् । अनि पैसा नभएकाहरू त गर्मीमा पानी नपाएरै त मर्ने हो नि । हरियो वन, नेपालको धन भनिन्छ । तर, उपत्यकामा हरियाली नै कत्तै देखिँदैन । सबै वनजंगल फडानी गरियो । र, घर बनाइयो । हरियाली हुँदा गर्मी भए पनि शीतल हुन्छ । सास फेर्न गाह्रो हुन्न । यद्यपि, हरियालीको नाममा घाँस पनि देखिन मुस्किल छ ।
सबै रुख काटेर र वनजंगल फडानी गरेर घर बनाइएको छ । अनि बोटबिरुवा नै नभएपनि मानिसले कसरी अक्सिजन पाउँछ । यहाँ निसास्सिएर ज्यान गुमाउनुपर्ने अवस्था छ । त्यसैले, अहिले उपत्यकामा कोही बस्न चाहँदैन । सबै यहाँ भएको घरजग्गा बेचेर बाहिरिन खोजिरहेका छन् । सरकारले अझै पनि गर्मी कसरी कम गर्ने भनेर नसोचे उपत्यका रित्तिने छ ।