धरान : विजयपुरका राजाले ४ सय वर्ष भन्दा अघि अपराधीलाई सूलिमा चढाएर मृत्यु दण्ड दिने ठाउँ बनाएको विष्णुपादुका धरान-२० सूलिकोटमा सूलिथान स्थापना गरी पूजाआजा गर्न थालिएको छ ।

धरान-१३ जानकी चौक-सर्दु खोलाको पूलदेखी सूलिकोट १० किलोमिटर उत्तरश्चिममा छ । महाभारत पर्वत शृङ्खलाका धरानमा पर्ने ६ उच्च डाँडाहरूमा सूलिकोट डाँडाको उचाइ १३४७ मिटर हो ।

इतिहासमा सूलिकोट

लिम्बुवानको अनुसन्धानमा विद्यावारिधि गरेका डा.कमल तिगेलाका अनुसार विजयपुर लिम्बुवानको राजधानी थियो । त्यहाँका राजा विजयनारायण रायले विक्रम संवत् १६१६ तिर अपराधीलाई सूलिमा चढाएर प्राण दण्ड दिने ठाउँ बनाएपछि त्यस ठाउँको नाम सूलिकोट रहन गएको हो ।

लिम्बुवान राज्यकालमा त्यहाँ मृत्यु दण्ड दिइएको बारेमा इतिहासमा खासै उल्लेख भएको नपाइने उनले बताए । डा. तिगलाका अनुसार लिम्बुवानको इतिहासमा राजा विजयनारायण रायले फेदापका राजा मुरेहाङलाई प्रणदण्ड दिएको उल्लेख छ ।

विजयनारायण रायकी छोरीलाई बलात्कार गरेको अभियोगको उनलाई प्राणदण्ड दिइएको हो । उनले भने ‘मुरेहाङलाई सम्भवतः सूलिकोटमा मृत्युदण्ड दिइएको हुनसक्छ ।’ त्यस अघि र पछि सूलिकोट पुर्‍याएर  मृत्युदण्ड दिएको इतिहासमा कतै पनि प्रसङ्ग नपाइएको उनले बताए ।

न्याय प्रणालीप्रति व्यङ्ग्य

इतिहासकार इमानसिंह चेमजोङले किरातकालिन विजयपुरको इतिहासमा लिम्बुवानका बारे धेरै कुरा उल्लेख गरेका छन् । त्यसमा तत्कालीन न्याय व्यवस्था, मृत्युदण्ड र अपराधी झुन्डाइने स्थल सूलिकोटको बारेमा खासै कुराहरू उल्लेख छैन ।

पछिल्लो समय विजयपुरका राजाको न्याय व्यवस्थालाई व्यङ्ग्य गर्दै पथिक कवि लक्ष्मी आचार्यले ‘देशको माटो देशको ढुङ्गा’ पुस्तकमा ‘साधुलाई सूलि, चोरलाई चौतारी’, ‘राती हिँड्ने सज्जन, दिउँसो हिँड्ने चोर’ लेखेका छन् ।

उनकै व्यंगात्मक आलोचनाका कारण किरातकालिन राजाको दरवारस्थललाई अहिले पनि ‘भताभूङगे राजाको दरबार’ भन्ने जनश्रुति प्रचलनमा रहेको डा. तिगेलाले बताए ।

उनले भने ‘विजयपुरका राजाको न्याय प्रति असन्तुष्टहरूले चलाएको अपमान जनक कथन हो यो ।’ पूर्व लिम्बुवानमा अहिले पनि प्रथाजनित न्याय प्रणाली प्रचलनमा छ । तुम्याहाङ अग्रजहरूको आम सहमतिमा निर्णय लिइने न्याय प्रणाली उत्कृष्ट लोकतान्त्रिक पद्धति मानिने उनले बताए ।

सूलिथान भए पनि मान्छे झुन्ड्याइएको सुनिएन 

सूलिकोट स्थित सूलिथानमा पूजा अर्चना गर्दै आएका पुजारी ६५ वर्षीय दिलबहादुर तामाङले भने ‘विजयपुरका राजाले प्राणदण्ड दिने ठाउँ बनाएको भए पनि यहाँ मान्छे ल्याएर झुन्ड्याइएको पिता पुर्खाले कुरा गरेको पनि सुनिएन ।’

सूलिथान फेदीमा भेटिएका तामाङले सूलिकोटमा बाउबाजेको पाला देखी बसोबास गर्दै आएकोमा सूलिथान स्थापना गरी पूजाअर्चना गर्दै आएको भने १० वर्ष मात्र भएको बताए । उनका अनुसार सूलिस्थलको गहिरो खाल्डो पुरिएको अवस्थामा थियो ।

त्यहाँ अपराधीलाई झुन्ड्याइएपछि तल झार्न गहिरो खाल्डो बनाइएको थियो । पुजारी तामाङले त्यो खाल्डो त देखेनन् पुरिएको खाल्डो खनेर माटो निकाल्दै जाँदा ठूल्ठूला ढुङ्गाहरू निस्किए । उनले भने ‘त्यही ढुङ्गाहरूको थान बनाएर पूजा अर्चना गर्न थालिएको हो ।’

सुलिथानमा आत्मा शान्तिका लागि पूजा गरिने उनको भनाई थियो । त्यहाँ कसै आत्मा घुमफिर गरिरहेको छ भने स्थानीयलाई दुःख नदियुन, उसको आत्माले शान्ति पाउन भनेर धुपवत्ति गर्ने गरिएको उनको भनाई बुझिन्थ्यो ।

स्थानीयले गरेको संरक्षण कार्य 

पुजारी तामाङले त्यहाँ पूजा अर्चना गर्न थालेको १० वर्ष भएको बताए पनि डा.कमल तिगेलाले भने ४÷५ वर्ष अघि सम्म त्यहाँ पूजाआजा गर्ने नगरिएको बताए । ऐतिहासिक स्थल भएकोले पछिल्लो समय नजिकका स्थानीय समुदायले संरक्षणका लागि सूलिथान स्थापना गरेको हुनसक्ने उनको भनाई छ ।

उनका अनुसार लिम्बुवानका विभिन्न स्थानमा तत्कालीन अगुवा लिम्बूहरूले स्मरणका लागि लुङ (ढुङ्गा) गाड्ने प्रचलन छ । त्यसैको अनुसरण गर्दै पछिल्लो स्थानीय पुस्ताले सूलिकोटको सूलिस्थलमा ढुङ्गा गाडेका हुनसक्छ ।

विजयपुरका राजाले सूलिकोट बनाएपछि त्यसको रुंगालु राखेको हुनसक्ने उनैको पुर्खाहरूको कारण सूलिकोटको पहिचान अहिले सम्म रहेको डा.तिगेलाको भनाई थियो । इतिहास कालमा राजा पृथ्वी नारायण शाहले राज्यको सिमाना स्थापना गर्दै जाँदा धार्मिक स्थलहरूमा मगर पुजारी राख्दै गएको देखिन्छ ।

बुढासुब्बामा अहिले पनि मगर वंशका पुजारी छन् । विष्णुपादुका स्थित विष्णुपादुका मन्दिरमा भने तामाङ पुजारी रहँदै आएको छ । त्यसै अनुसार सूलिकोटको संरक्षण पनि तामाङ समुदायबाट भएको पाइन्छ । डा.तिगेलाले भने ‘सूलिकोट र त्यहाँको इतिहास अझै खोजको विषय हो ।’

पर्यटकीयस्थल बन्दै सूलिकोट 

चिण्डे डाँडा भन्दा निकै माथि छ, सूलिकोट र माथिल्लो सुलिकोट । लिम्बुवानको मुन्धुमीस्थल मानिएको  माथिल्लो सूलिकोटको उचाइ सबै भन्दा धेरै करिब १६०० मिटर छ । तल्लो सूलिकोट भने १३४७ मिटर उचाइमा छ ।

साना सवारी साधन सूलिकोट सम्म पुग्न सक्छ । चिण्डे डाँडा भन्दा माथि धार्ने सिरान पुग्न अघि जङ्गलको बिचमा रहेको सूलिकोट पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास हुँदैछ । तर छेउछाउ मानवीय बसोबास नपाइने, खानेकुराका पसलहरू नभएकाले धेरै आगन्तुकहरू यहाँ पुग्दैनन् । 

सूलिकोटलाई ऐतिहासिक र पर्यटकीय स्थलको रूपमा संरक्षण गर्न पछिल्लो समय स्थानीय सरकार धरान उपमहानगरपालिका, वडा २० ले गाडीको बाटोबाट सूलिस्थल सम्म पुग्न पक्की सिँढी निर्माण गरेको छ । करिब १०० मिटर सिँढी चढेर आगन्तुकहरूले सूलिथान अवलोकन गर्न सक्छन् । 

पदयात्रीहरू, इतिहास अनुसन्धानमा रुचि राख्नेहरू र जोडा जोडीहरू प्रायः सूलिकोट पुग्छन् । सुलिकोट हुँदै साँगुरी गढी गाउँपालिका क्षेत्रमा कोशी प्रदेश सरकारको लगानीमा बन्दै गरेको खुवालुङ–त्रिवेणी–धजे डाँडा पदमार्ग पुग्न सकिन्छ । पदमार्गबाट मुन्धुमीस्थल माथिल्लो सूलिकोट टाकुरा ५०० मिटर उकालो चढ्न पर्छ ।

नेपालको इतिहासमा तत्कालीन राजाहरूले अपराधीलाई प्राणदण्ड दिन बनाएको सूलिकोट मुलुकको पश्चिमी भागमा पनि छन् । गोरखा जिल्लामा सूलिकोट गाउँपालिका नै छ । पूर्वको सूलिकोट भने ओझेलमा परेको छ ।

नेपालको इतिहासमा प्राणदण्डको इतिहास र कुनै बेला नेपालका राजाहरूले प्राणदण्ड दिन सूलिकोट पनि बनाएको कुराले बताउँदै आएको छ । धरान-२० स्थित सूलिकोट पूर्वको तत्कालीन लिम्बुवान राज्यमा मृत्युदण्ड सम्मको न्याय व्यवस्था थियो भन्ने इतिहास पनि हो ।

sulikot-2