धरान : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल युट्युब र फेसबुक पेजबाट स्थापित सञ्चार माध्यमप्रति भ्रामक सूचना सम्प्रेषण गर्दै वितृष्णा फैलाउने प्रयास भइरहेकाले कडा निगरानी थालिएको जनाएको छ ।
काउन्सिलद्वारा आज मङ्गलवार जारी विशेष अपिलमा सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका युट्युब च्यानल, फेसबुकबाट सम्प्रेषित सामग्री तथ्यपूर्ण, विश्वसनीय बनाउन आग्रह गर्दै भनेको छ ‘पछिल्लो समय कतिपय युट्युब र फेसबुक पेजबाट प्रचलित कानुन अनुसार दर्ता भई स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
नियामक निकाय काउन्सिलले त्यस्ता पेजका सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको हुनुपर्ने स्पष्ट गर्दै कतिपय आपत्तिजनक सामग्री अनुगमन सहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
मिडियाको नाममा पेज, ग्रुप सहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र माग अस्वीकार गरेमा त्यस संस्था, कम्पनी, व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन प्रसारण गर्ने गरेको गुनासाहरू प्राप्त भइरहेको काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्ता गतिविधिहरूलाई तत्काल रोक्न सम्बद्ध सबैलाई सचेत गराउँदै काउन्सिलले सञ्चार माध्यम आबद्ध युट्युब च्यानल र फेसबुकको सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको जनाइएको छ ।
अन्य पेजबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट, अमर्यादित गतिविधिका सामग्री देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हो भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘काउन्सिलले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।’
सामाजिक सञ्जालले सम्प्रेषण गरेका सामग्री उपर हुने विचार वा कमेन्टहरूबाट सिर्जित परिस्थितिको सार्वजनिक एवं कानुनी जबाफदेहिता पनि स्वयं सञ्चार माध्यम सम्बद्ध सामाजिक सञ्जालको हुने काउन्सिलले ध्यानाकर्षण गराएको छ ।
आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरू पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरू आफै हट्दै जानेछन्, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ ।
प्रेस काउन्सिलद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ :