धरान : प्रेस काउन्सिल नेपालले आज आइतबार धरानबाट सञ्चालन भइरहेको १ युट्युब च्यानललाई नेपाल प्रहरीको साइबर ब्युरोमा कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको छ । साथै ४ वटा अनलाइन मिडियालाई कालो सूचिमा राख्ने, ७ वटालाई विशेष अनुगमन गर्ने निर्णय गरेको छ ।
त्यस मध्ये धरानबाट सञ्चालित अनलाइन कोशी पोष्ट डटकमलाई कालो सूचिमा राख्ने निर्णय गरेको छ । प्रेस काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गर्ने निर्णय गरेको ‘पूर्वाञ्चल डिबिआर टिभी (युट्युब च्यानल) र कोशी पोष्ट डटकमका मुख्य सञ्चालक दिलबहादुर राई हुन ।
प्रेस काउन्सिलद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा कारबाही गरिएका सञ्चार माध्यममा सम्प्रेषण भएको समाचारहरू पत्रकार आचार संहिता विपरीत भएको भनी प्राप्त हुने उजुरी र जनगुनासोको सुनवाइ र नियमित अनुगमनको आधारमा गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘मिडियाको रूपमा दर्ता/सूचीकरण नभई एक पक्षीय, तथ्य पुस्ट्याइँ बेगर सामाग्री सम्प्रेषण गर्ने र काउन्सिलले दिएको निर्देशन कार्यान्वयन नगरी च्यानलमा गलत विवरण राखी भ्रम उत्पन्न गर्ने १ युट्युब च्यानललाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको छ ।’
कारबाहीमा परेका मिडियाहरूमा आएका समाचारहरूका बारेमा आचार संहिता बमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने ४ वटा, मिडियालाई कालो सूचिमा राखी कारबाही अगाडि बढाउने र ७ वटा मिडियालाई मिडियालाई कालो सूचिमा राख्ने निर्णय भएको जनाएको छ ।
काउन्सिलले ७ वटा मिडियालाई विशेष अनुगमनमा राखी अनुगमन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । उक्त कारबाहीको निर्णय काउन्सिलको आज बसेको बैठकले निर्णय गरेको हो ।
प्रेस काउन्सिलको विज्ञप्तिको पूर्णपाठ :
press-bigyapti-2081-7-25-(2