झापा : कोशी प्रदेशको उत्तरी नाका ताप्लेजुङका उद्यमी देखी कर्णाली प्रदेशको जुम्लाको मार्सी चामल लिएर आएका व्यवसायीहरूको जमघट बनेको छ, बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सव ।

नेपालमा उत्पादन भएका अर्ग्यानिक दैनिक उपभोग्य सामाग्री देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पाइने बस्तुहरू एकै ठाउँमा खरिद-विक्री र अवलोकन गर्न पाइने महोत्सव पूर्वी नेपालको प्रसिद्ध उत्पादन चिया, अलैँची र जडीबुटीहरूको पनि बजार बनेको छ ।

महोत्सवमा ताप्लेजुङ फुङ्लीनकी माया गुरुङको स्टलमा अलैँचीको रेसाबाट निर्मित हस्तकलाका आकर्षक सामग्री किन्न पाइन्छ । उनको सीप स्टलबाट परामर्शको रूपमा लिन पनि सकिन्छ । उनी महिलाहरूको आर्थिक क्षमता अभिवृद्धिको उदाहरणको रूपमा महोत्सवमा सहभागी भएकी छिन् ।

कोदो, फापर, मकै, जौँ, गहुँको पिठो आदी खाद्यान्न पूर्वमा पनि हुन्छ । महोत्सवमा भने जुम्लाबाट गंगादेवी राउतले लिएर आएकी छिन्। यहाँको खाद्यान्न र जुम्लाको खाद्यान्नको अर्ग्यानिक स्वाद  निकै फरक हुन्छ मार्सी चामल जस्तै । राउतको स्टलमा मार्सी चामल सबैको लागि आकर्षण बनेको छ ।

पोखराकी सङ्गीता गुरुङले रुकुम र डोल्पाको सीमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधीय गुण भएको मह र लेकाली भेडाको घ्यु पाइन्छ । अर्ग्यानिक कपुरधूप र त्यसको उत्पादन प्रशिक्षक झापाकी खेमकुमारी ओलीको पनि महोत्सवमा स्टल छ ।

महोत्सव नेपाल सहित भारत, बङ्गलादेश, पाकिस्तानका उत्पादनहरूका व्यवसायीको बजारका रूपमा देखिन्छ ।

अचारको दुनियाँमा झापाले नयाँ प्रस्तुति दिएको छ । महोत्सवमा जिना बस्नेतको स्टलमा १२ वटा फरक-फरक अचारका प्याकेजिङका साथै च्याउको सुकुटी पनि उनको स्टलमा पाइन्छ ।

आयोजक बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले भने ‘ स्वरोजगारमूलक उद्योगका सञ्चालकलाई विशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको छ ।’

महोत्सवमा सेलरोटी पनि खान र घर लैजान पाइन्छ । महिला उद्यमी समूहले अर्ग्यानिक खाजाका रूपमा सेलरोटी र तरकारी सहुलियत दरमा बनाउँदै बेच्दै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले बताइन् । 

Birtamode-mahotsab-1