• रुषा थापा

पछिल्लो समय विभिन्न खालका रोगी बढ्दै गएका छन् । आम सर्वसाधारणमा कुनै न कुनै प्रकारको रोग भेटिन थालेको छ । विशेष गरी क्यान्सरबाट मानिसहरू पीडित बनेका छन् । त्यसपछि मिर्गौला, पाठेघर, नशा तथा हड्डी, छाती, फोक्सो, किट्नी, मुटु, प्रेसर, सुगर, कब्जियतलगायत विभिन्न रोगबाट पीडितहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । 

अहिले हरेक घरमा रोगी भेटिन्छिन् । एउटै घरका सबै सदस्य विभिन्न रोगबाट पीडित रहेको पनि पाइने गरेको छ । कोही क्यान्सरबाट पीडित त कोहीको मिर्गौला फेल । कसैलाई भने श्वासप्रश्वासको समस्या । मानिस जन्मिँदा निरोगी हुन्छ । तर, ऊ हुर्किँदै जाँदा विभिन्न रोगको सिकार हुन पुग्छ । यसको कारण हो, खानेकुरा । 

हरेक खानेकुरामा केमिकल वा विषादी मिसाएको सुनिने गरेको छ । पानीदेखि तरकारी, फलफूल र औषधीसम्ममा मानवीय स्वास्थ्यमा हानि पुर्‍याउने केमिकल तथा विषादी हालिएको सुनिन्छ । अहिले बजारमा आयोडिन नुनबाट समेत रोग निम्तिएको व्यापक चर्चा छ । अधिकांश भन्छन्, ‘यो नुन खाएकै कारण क्यान्सरका रोगी बढे । अन्य रोग पनि फैलिँदैछ ।’

आयोडिन नुनको विकल्पमा कतिपयले ढिक्की नुन खानसमेत थालेका छन् । बजारमा ढिक्की नुन खोज्दै हिँड्ने वा किन्नेहरू बढ्दो क्रममा छन् । प्याकेटभित्रका हरेक खानेकुरामा केमिकल मिसाइएको बताइन्छ । जसले मानवीय स्वास्थ्यमा हानि पुर्‍याइरहेको छ । प्याकेजमा पाइने डोनट, पाउरोटी, केकलगायतमा बिग्रिने खालका केमिकल मिसाइएको छ । चाउचाउमा त हड्डी खियाउने अजिना मोटो नै मिसाएको हुन्छ । 

यता, गुणस्तरीय मदिरा भन्दै महँगो मूल्यमा बेचबिखन गरिन्छ । त्यसमा पनि केमिकल वा जनस्वास्थ्यमा हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट गरिने गरिएको छ । घरेलु मदिरा देशी मल, पुराना कपडा तथा जुत्ता, सख्खर, भैँसी, राँगाका हड्डीबाट बनाइने गरिन्छ । यस्ता वस्तुबाट बनाइएको मदिराले मानवीय स्वास्थ्यमा असर गर्छ कि गर्दैन ? आफैँ सोचौँ । 

आफ्नो फाइदाका निम्ति व्यापारीहरूले दूधसमेत पाउडरबाट बनाउन थालेका छन् । गाईको शुद्ध दूध भन्दै पाउडर दूध बनाएर आम नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको अवस्था छ । यति मात्र होइन अहिले त दहीमा समेत केमिकल मिसाइन्छ । राम्रो देखाउन केमिकल हालेर दही जमाउने गरिन्छ । 

मिठाई पसलहरूले मिठाईमा अखाद्य रङ्गहरूको प्रयोग गर्छन् । मिठाईलाई बिग्रिन नदिन वा महिनौँसम्म आकर्षक देखाउन विभिन्न खाले केमिकलसमेत प्रयोग गरिने सुन्निमा आएको छ । मासु पसलहरू बिरामी वा रोगी पशु ल्याएर काट्छन् । अनि त्यसैको मासु महँगोमा बेच्छन् । 

यसरी रोगी वा बिरामी पशुको मासु खाएपछि मानिसमा पनि रोग फैलिन्छ । व्यापारीहरूले आफ्नो स्वार्थका निम्ति यस्ता गुणस्तरहीन अखाद्य वस्तु महँगोमा बेचिरहेका छन् । यो खाएर सर्वसाधारणमा रोग फैलिएको छ । प्रत्येक घरमा रोगी बढिरहेका छन् । अनि यसरी जनस्वास्थ्यमा रोग फैलाउनेलाई सरकार किन कारबाही गर्दैन ? 

व्यापारीसामु सरकार लाचार भएकै हो त ? बजारमा खैनी, चुरोट, सुर्ती खुलेआम बेचबिखन गर्ने गरिएको छ । जबकि यो कानूनःत रूपमा प्रतिबन्ध छ । बजार अनुगमनको जिम्मा पाएको निकाय सुत्दा मुलुकमा रोगीको सङ्ख्या बढ्दै गएको छ । सरकार भन्छ, नागरिकमा रोग लाग्न दिँदैनौँ । अनि उत्पादक र व्यापारीहरूले आफ्नो स्वार्थका निम्ति जनस्वास्थ्यमा रोग फैलाइरहँदा सरकार के हेरेर बसिरहेको छ । 

अहिले त मुलुकमा सरकार छ कि छैन ? भन्नेबारे समेत अन्यौलता पैदा भएको छ । रोग लागेपछि उपचार गर्दागर्दै मानिसको जनसम्पत्ति सिद्धिन्द्ध भने कतिपयले अगाडि नै यस्ता खानेकुरा खाएर सिद्धाएका हुन्छन् । अस्पतालको बेडमा उनीहरू छट्पटिएर बसिरहेका हुन्छन् । अस्पतालमा भेटिने अधिकांशको आँखा रसिलो देखिन्छ । 

एकातिर रोगले थला परिरहँदा अर्कोतिर उपचार खर्च हुँदैन । यसले उनीहरूलाई भित्रबाटै कमजोर बनाउँछ र कतिपय अस्पतालकै छत वा झयालबाट हामफ्यालेर आत्महत्या गर्नसमेत बाध्य हुन्छन् । सरकार जनताको अभिभावक हो । विडम्बना, सरकारले अभिभावकीय भूमिका निर्वाह नगरिदिँदा आज जनता रोगी मात्र भएनन्, उपचार खर्च नभएकै कारण अस्पतालमै आत्महत्या गर्नुपर्ने विडम्बनापूर्ण अवस्था निम्तिएको छ । 

यदि सरकारले बजार अनुगमनमा ध्यान दिएको भए र गुणस्तरहीन, अखाद्य वस्तु उत्पादन, बेचबिखन गर्नेलाई कारबाही गरेको भएमा आज यो अवस्था आउँदैनथ्यो । हुन त रोगी लाग्नुमा सर्वसाधारणको पनि उत्तिकै गल्ती छ । मिठो खान खोज्दा मानिसहरू रोगको सिकार बने । पहिले पहिले चामल कमै खाइन्थ्यो । प्रायजसो कोदो, मकैको ढिँडो खाइन्थ्यो । 

तर, ढिँडो बनाउनुपर्ने अल्छी र चामलको गुलियो स्वादले मानिसहरू सुगरको रोगी बने । मोटोपन बढ्दै गयो । चिल्लो, पिरोसहित धेरै खाने अनि कसरत नगर्ने बानीले मानिसमा ग्यास्ट्रिक, कब्जियत, प्रेसरलगायत रोग पनि निम्त्यायो । मानिसको अल्छीपन आफैँले पनि उसमा विभिन्न खालका रोगी फैलाएको हो । 

मिठो मात्र खान खोज्ने तर केही काम नगर्ने र व्यायाम, योगा, कसरतसमेत नगर्दाको परिमाण देखिन थालिसकेको छ । पहिले पहिले जति खाइन्थ्यो, त्योभन्दा दोब्बर–तेब्बर काम गरिन्थ्यो । दिनभर खेतबारीमा व्यस्त हुन्थे, मानिसहरू । जसले गर्दा उनीहरूले जतिसुकै खाए पनि स्वास्थ्यमा कुनै असर पदैन्थ्यो । अहिले जस्तो विदेशीबाट आयात गरिएका खानेकुरा त्यति बेला खाइदैनथ्यो । 

आफ्नै बारीमा आफैँले उत्पादन गरेको गुणस्तरीय खानेकुरा खाइन्थ्यो । कुनै केमिकल वा विषादी नमिसाएको । तर, सेवा सुविधा खोज्दै सहर आउनेको लर्को लागेसँगै गाउँ रित्तियो । गाउँका खेतबारी बाँझो भए । उत्पादनयोग्य जमिनसमेत बाँझो रहँदा वा घर, बाटो निर्माण हुँदा खाद्यान्नमा विदेशीको भरमा पर्नुपरेको छ, हामी । विदेशीले विषादी हालेर फलाएको खानेकुरा खानु परिरहेको छ । अनि रोग नलागे के लाग्छ त ? 

मानिसहरू सेवा सुविधा खोज्दा सहर त पसे । तर, त्यसको बदलामा उनीहरूले आफ्नो स्वास्थ्य नै दाउमा राख्नुपरेको कुरा भने अझै बुझ्न सकेका छैनन् । भनिन्छ, दुःखले सुख खोज्यो, सुखले काल खोज्यो ।’ अहिले यो उखान ठ्याक्कै लागू भएको छ । गाउँको स्वच्छ हावापानी त्यागेर शहरको प्रदूषणमा आउनका निम्ति मानिसले मरिहत्तै गरे । जसको परिमाण देखिन थालेको छ । भनिन्छ, रोग लाग्नुअघि नै जोगिनु उपयुक्त हो । हामी कहाँ चाहिँ यसको उल्टो छ । 

रोग लाग्नुअघि केही ख्याल गरिएन । अनि अहिले रोगले च्यापेपछि मर्निङ वाकमा निस्किन्छन् । यसलाई अब के भन्ने ? स्वास्थ्यमाथि स्वाद प्यारो हुँदा र आफ्नै घरको काम गर्नसमेत लाज हुँदा मानिसहरूले आफ्नो स्वास्थ्य मात्रै सिद्धाएनन्, उपचार गर्दा धन सम्पत्ति पनि सकिएको छ ।  

भक्तपुर