रक्षा मन्त्रालय कुनै साधारण मन्त्रालय होइन। यो मुलुकको सार्वभौमसत्ता, अखण्डता, सुरक्षा र अस्तित्वसँग प्रत्यक्षरूपमा गाँसिएको मेरुदण्ड हो । यस मन्त्रालयमा बस्ने नेतृत्वले केवल एक मन्त्रालयको प्रशासनिक जिम्मेवारी सम्हाल्ने मात्र होइन, सम्पूर्ण राष्ट्रलाई सुरक्षित राख्ने भारी दायित्व बोकिरहेको हुन्छ । त्यसैले यो कुर्सीमा बस्ने व्यक्तित्व राष्ट्रप्रति निष्ठावान्, अनुशासित, दूरदर्शी, अनुभवी र नैतिकताको सर्वोच्च मानकमा उभिएको हुन अपरिहार्य छ ।
आज नेपाल आन्तरिक रूपमा राजनीतिक अस्थिरता, आर्थिक सङ्कट, सीमा सुरक्षासम्बन्धी चुनौती, अन्तर्राष्ट्रिय दबाब, क्षेत्रीय सामरिक प्रतिस्पर्धा र विश्व राजनीतिका जटिल समीकरणहरूबाट घेरिएको छ । यस्तो संवेदनशील घडीमा रक्षा मन्त्रालयलाई केवल राजनीतिक भागबण्डा पूर्ति गर्ने साधन बनाइन्छ भने त्यो राष्ट्रकै दुर्भाग्य हुनेछ । यो मन्त्रालय त्यस्तो हातमा जानुपर्छ, जसले जीवनकै लामो समय मातृभूमिको रक्षा र राष्ट्रप्रतिको समर्पणमा बिताइसकेको छ ।
यसै परिप्रेक्ष्यमा नेपाल सेनाबाट अवकाश प्राप्त जनरलहरूको सम्भावना स्वतः देखिन्छ । जीवनका सुनौला वर्षहरू राष्ट्रको रक्षा, सङ्गठनको अनुशासन, रणनीतिक सोच र युद्धभूमिको प्रत्यक्ष अभ्यासमा बिताएका यस्ता व्यक्तित्वसँग राष्ट्रलाई आवश्यक अनुभवको भण्डार हुन्छ । तर योग्यताको मापदण्ड केवल बर्दी भिरेर सेवा गरेकोमा सीमित रहनु हुँदैन । अझ ठुलो प्रश्न यो हो-बर्दी उत्रिसकेपछि पनि राष्ट्र र समाजप्रतिको योगदान निरन्तर छ वा छैन ? राष्ट्रलाई त्यस्तो नेतृत्व चाहिएको छ जसले अवकाशपछि पनि आफ्नो अनुभव, सीप र समर्पणलाई जनताको हितमा लगाएको छ, सैनिक परिवारलाई सहारा दिइरहेको छ, सीमान्तकृत र वञ्चित वर्गको आवाज बुलन्द गरिरहेको छ र राष्ट्रिय धरोहर तथा संस्कृति जोगाउन अहोरात्र खटिरहेको छ ।
नेपालको इतिहास वीरता र बलिदानले लेखिएको इतिहास हो । गोरखा विस्तार अभियानको रणभूमिबाट सुरु भएको यो परम्परा प्रथम र द्वितीय विश्वयुद्धसम्म पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेनाको योगदान, भूकम्प र महामारीजस्ता विपद्को बेला सेनाले देखाएको तत्परता र सीमा सुरक्षामा देखाइएको सजगता, यी सबैले विश्वभर नेपाललाई गौरवान्वित बनाएका छन् । तर पुर्खाले कमाएको गौरव केवल इतिहासका पानामा थुनिनु हुँदैन । त्यसलाई निरन्तरता दिने, नयाँ पुस्तामा राष्ट्र प्रेमको बीउ रोप्ने र नेपाललाई आत्मनिर्भर सुरक्षा रणनीतितर्फ डोर्याउने नेतृत्व अहिलेको समयको अपरिहार्य माग हो ।
रक्षा मन्त्रालयको भूमिका केवल सैनिक व्यवस्थापनसम्म सीमित छैन । यो मन्त्रालयले राष्ट्रिय धरोहरको संरक्षण, ऐतिहासिक सम्पदाको सुरक्षा, राष्ट्रियता बलियो बनाउने र जनताको आत्मविश्वास जगाउने कार्य पनि गर्छ ।
सुरक्षा आज बहुआयामिक अवधारणा बनेको छ । सीमा मात्र होइन, खाद्य, ऊर्जा, साइबर, वातावरणीय, स्वास्थ्य र सांस्कृतिक सुरक्षा पनि रक्षा अवधारणामा जोडिएका छन् । यस्तो अवस्थामा रक्षा मन्त्री त्यस्तो हुनुपर्छ जसले भूतलाई सम्मान गर्छ, वर्तमानलाई दृढतापूर्वक सम्बोधन गर्छ र भविष्यलाई सुरक्षित गर्ने योजनामा गहिरो दृष्टि राख्छ ।
अनुभवसँगै विद्वत्ता पनि आवश्यक छ । आजको युग केवल भौतिक बल र हतियारको मात्र होइन, ज्ञान, अनुसन्धान र बहुपक्षीय कूटनीतिक सीपको पनि हो । यदि कुनै सम्भावित रक्षा मन्त्रीसँग पिएचडी वा समकक्ष उच्च शैक्षिक दक्षता छ भने, त्यो राष्ट्रका लागि थप सम्पत्ति हो । अनुसन्धानले परिपक्व बनाएको दृष्टि र युद्ध भूमिले घटाएको व्यवहारिक अनुभवको संयोजनले मात्र रक्षा मन्त्रालयलाई विश्वस्तरीय बनाउन सक्छ । यस्तो संयोजन भएको व्यक्तित्वले मात्र भोलिका चुनौतीहरू पहिल्यै देखेर दीर्घकालीन रणनीति बनाउन सक्छ, नेपाललाई कूटनीतिक रूपमा सम्मान दिलाउन सक्छ र राष्ट्रिय सुरक्षाको जगलाई मजबुत बनाउन सक्छ।
दुर्भाग्यवश, नेपालमा मन्त्री पद प्रायः राजनीतिक भागबण्डाको आधारमा बाँडिन्छ। सत्ता समीकरण मिलाउन रक्षा मन्त्रालय जस्तो संवेदनशील स्थान प्रयोग गर्ने परम्परा हाम्रा लागि घातक बन्न सक्छ । अनुभवहीन वा राष्ट्र हितप्रति उदासीन व्यक्तित्वलाई रक्षा मन्त्रालयमा पठाउने हो भने त्यसको मूल्य आम नेपालीहरूले आफ्नो भविष्यको असुरक्षा मार्फत चुकाउनुपर्नेछ। त्यसैले स्पष्ट मापदण्ड आवश्यक छ-निडरता, अनुशासन, अनुकरणीय अनुभव, शैक्षिक गहनता, राष्ट्रप्रतिको अटुट निष्ठा र सामाजिक उत्तरदायित्व ।
रक्षा मन्त्रालयको नेतृत्व राष्ट्रकै भविष्यसँग प्रत्यक्षरूपमा जोडिएको छ। यो कुर्सी केवल पद होइन, राष्ट्रकै ढाल हो । यस कुर्सीमा बस्ने व्यक्तिले पुर्खाको गौरवलाई निरन्तरता दिन्छ, नयाँ पुस्तामा आशा र प्रेरणा जगाउँछ र विश्व समुदाय सामु नेपालको सुरक्षा दृष्टिकोणलाई स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्छ । यसैले अब समय आएको छ-नेपालले राजनीतिक भागबण्डाभन्दा माथि उठेर योग्य, निष्ठावान्, विद्वान् र समर्पित व्यक्तित्वलाई यो जिम्मेवारी सुम्पियोस् ।
रक्षा मन्त्रीको चयन केवल सरकार गठनको औपचारिकता होइन, यो राष्ट्रकै सुरक्षाको छनोट हो । यो छनोटमा असावधानी भयो भने भविष्यमा मुलुकले असुरक्षा, अपमान र परनिर्भरता भोग्नुपर्छ । तर यो छनोट विवेकपूर्ण, दूरदर्शी र योग्य व्यक्तित्वतर्फ भयो भने नेपालले आत्मनिर्भर सुरक्षा रणनीति, स्थायी शान्ति र गौरवशाली भविष्य प्राप्त गर्नेछ ।
यसैले, आजको समयमा रक्षा मन्त्रालयको नेतृत्व त्यस्तो व्यक्तित्वलाई दिनुपर्छ जसले सैनिक जीवनमा मात्र होइन, बर्दी उत्रिसकेपछि पनि राष्ट्र र समाजलाई निरन्तर योगदान दिइरहेको छ, जसले न्याय, समानता र राष्ट्रिय धरोहरको संरक्षणमा अथक खटिएको छ, जसले विद्वत्ता, अनुभव र निष्ठाको त्रिवेणी बनेर मातृभूमिलाई सुरक्षित भविष्यतर्फ अघि बढाउने दृढता बोकेको छ।
रक्षा मन्त्रालय राष्ट्रको मेरुदण्ड हो । त्यसैले यो नेतृत्व राष्ट्रकै मेरुदण्ड भएका पात्रले सम्हाल्नुपर्छ । अब ढिलाइ गर्ने समय छैन, राष्ट्रको सुरक्षालाई योग्य हातमा सुम्पनु नै सबै नेपालीको साझा चाहना र आवश्यकता हो । जय राष्ट्र नेपाल !
-लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत हुन ।