धरान : धरान उपमहानगरपालिकाले धरान १७ को एन्फा एकेडेमीमा क्वारेनटाइन सञ्चालन गर्ने भएको छ ।

एन्फा एकेडेमीमा अहिले सम्म ६१ बेडको क्वारेनटाइनको तयारी अन्तिम चरणमा पुगेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् । यस भन्दा अघि धरान-१३ स्थित सैनिक आवसिय महाविद्यालयमा क्वारेनटाइन सञ्चालन गरिरहेकोमा विद्यालयको मर्मत सम्भार गर्नुपर्ने भएकोले धरान उपमहानगरपालिकाले धरान-१९ को एन्फा एकेडेमीलाई अहिलेको लागि क्वारेनटाइन बनाउने निर्णय गरी तयारी समेत थालिसकेको छ ।

क्वारेनटाइनमा बेड व्यवस्थापन सम्पन्न भइसकेको छ भने खानेपानी र किचनको व्यवस्थापन लगायत आन्तरिक व्यवस्थापन पुरा हुन बाँकी रहेको १७ नम्बर वडाध्यक्ष तथा क्वारेनटाइन व्यवस्थापन समितिका संयोजक मनोज भट्टराईले बुधवार सम्ममा तयार पुरा भइसक्ने बताएका छन् । क्वारेनटाइनको सुरक्षा नेपाली सेनाले दिने पनि बताइएको छ ।

क्वारेनटाइनमा बसेकालाई मेयरले घर पुर्याए
धरान १३ स्थित सैनिक आवसिय महाविद्यालयमा वैशाख २९ गते देखि क्वारेनटाइनमा बसेका ४ जना सोमबार घर गएका छन् ।

घर जानेमा पाँचथरका १ जना, धनकुटाका १ जना र धरान उपमहानगरपालिका वडा नं. २० का २ जना रहेका छन् । धरान उपमहानगरपालिका वडानं. २० का दुई जनालाई पुराउन धरान उपमहानगरपालिकाका मेयर तिलक राई आफै २० नम्बर वडाको स्वारा पुगे ।

उनले क्वारेनटाइनबाट घर लगेर क्वारेनटाइनमा बसेकालाई पुनर्स्थापना गरेको र क्वारेनटाइनमा बसेकाहरूको परिवारसँग भेटी सम्झाई बुझाई गरेको मेयर राईले बताएका छन् ।

कतिले क्वारेनटाइनमा बस्नेहरूलाई समाजले नकारत्मक रुपमा हेर्ने भएकोले पनि मेयर आफै घर घरमा पुगेर पुनर्स्थापनाका लागि लागिपरेको उनले बताए ।