इटहरी : रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले र उपमेयर तारा थापाले चढ्ने गाडी मर्मतमा मात्र १० महिनाको अवधिमा ४ लाख ९६ हजार खर्च भयो । प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने बा १ झ ५८०४ नम्बरको कार मर्मतमा झन्डै दुई वटा गाडीमा जतिकै खर्च भएको पाइएको हो ।

नगरपालिका प्रशासनले उपलब्ध गराएको सूचना अनुसार प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल चढ्ने गाडीको मर्मतमा ३ लाख ७७ हजार खर्च भएको पाइएको छ ।

उता त्यस बाहेक नगरपालिकाका अन्य सवारीसाधनको मर्मतमा ९ लाख २० हजार खर्च भएको छ । नगरपालिका मातहतका सम्पूर्ण सवारीको मर्मत खर्च हिसाब गर्दा १० महिनामा १७ लाख ९४ हजार खर्च भएको उल्लेख छ ।

मर्मतमा मात्र हैन इन्धनमा पनि रामधुनीले ठुलै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको सुरुवात देखि वैशाख १० गते सम्म इन्धनमा मात्रै ३९ लाख ४० हजार खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सवारी र अन्य आगन्तुकलाई दिएको इन्धन खर्च बढ्दै गएको छ ।

सो खर्च रामधुनी नगरपालिकाको आन्तरिक आम्दानीको १८ प्रतिशत हो । रामधुनीको चैत मसान्तसम्मको आन्तरिक आम्दानी जम्मा ३ करोड ३३ लाख छ । आन्तरिक आम्दानीमा खुम्चिँदै गएको नगरपालिकाले खर्च भने बढाउँदै गएको छ ।