धरान : काँग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ कोसी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत टङ्कप्रसाद दवाडी चयन भएका छन् ।

आइतबार भएको अधिवेशनले उनको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा धन बहादुर श्रेष्ठ, सचिव हरी थापा, सहसचिव उमेश बस्नेत, कोषाध्यक्ष बुद्धिमान श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा मिलन क्षेत्री, हेमराज दाहाल, नइम अन्सारी चयन भएका छन् ।

अधिवेशन नेपाली काँग्रेस प्रदेश सभापति, संसदीय दलका नेता उद्धव थापाको प्रमुख आतिथ्यमा भएको थियो । उनले यातायात क्षेत्रमा देखिएका समस्याहरूलाई पार्टीले समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले यातायात व्यवसायी र मजदुरहरूलाई राज्यले तेस्रो दर्जाका नागरिकको रूपमा हेर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष विजय बहादुर स्वारले राज्यको जिम्मेवार निकायहरू यातायात क्षेत्रमा समस्या समाधानप्रति गम्भीर नभएको बताए ।

अधिवेशन उद्घाटनमा काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, यातायात व्यवसायी महासङ्घका पूर्व अध्यक्ष हिरा उदास, धरानका निवर्तमान मेयर तिलक राई लगायत उपस्थित थिए । कार्यक्रम सङ्घका केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिमालको सभापतित्वमा भएको थियो ।

loktantrik yatayat byawasayi 2