धरान : घण्टाघर धरान उपमहानगरपालिकाले जिम्मा लिएपछि त्यहाँ आकर्षण बढाउन विकासका योजना थपिने आशा गरिएकोमा मेयर हर्क साम्पाङले कार्यरत कर्मचारीलाई अन्यायपूर्वक निकालेर आफ्ना नातागोता नियुक्त गर्ने बाहेक केही नभएको पूर्व कर्मचारी एवं सञ्चालकहरूले गुनासो गरेका छन् ।

भानुचौक स्थित घण्टाघर धरान आउने पर्यटकहरूका लागि पहिलो आकर्षण स्थल हो । यसअघि यसको रेखदेख छुट्टै व्यवस्थापन समितिले गर्दै आएको थियो । धरान हङकङ समाज तथा हङकङका धरानेहरुको आर्थिक सहयोगमा निर्मित घण्टाघर उपमहानगरपालिकाले २०७९ असोजमा जिम्मा लिएको हो ।

घण्टाघर निर्माणमा नेतृत्व गरेका पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व मेयर मनोजकुमार मेयाङबोले उपमहानगरपालिकाले जिम्मा लिए पनि त्यहाँ थप कार्यहरू केही नभएको बरु व्यवस्थापनका कर्मचारीहरू माथि अन्याय भएको सुनिएको बताए ।

उपमहानगरपालिकाले जिम्मा लिए लगत्तै मेयर साम्पाङको ठाडो आदेशमा १७ वर्ष देखि त्यहाँ कार्यरत कर्मचारी निकालेर नातागोतालाई नियुक्त गर्ने, करार कर्मचारीलाई ज्यालादारीमा घटुवा गर्ने काम गरेको चौकीदार नरबहादुर सुब्बाले बताए ।

उनका अनुसार मेयर साम्पाङले खाइपाइ आएको तलब कटौती गरेका छन् । करार कर्मचारीलाई  ज्यालादारी बनाएका छन् । यसअघि व्यवस्थापन समितिले सञ्जय कोष र हप्तामा एक दिन बिदा दिन्थ्यो, त्यो पनि कटौती गरियो ।

उनले भने ‘सत्र वर्ष काम गरेर पेसन दिने बेलामा तलब कटौती गर्दै सबै सुविधाबाट वञ्चित गरिएको छ ।’ नयाँ कर्मचारीलाई दैनिक ७५० रुपया दिएको पुरानो कर्मचारीलाई भने ६९५ दिएर भेदभाव गर्दै मनोबल घटाउने काम गरिएको उनले बताए ।

मेयर साम्पाङले घण्टाघरमा काउन्टर कर्मचारीको रूपमा ज्वाइँ अभिषेक राईलाई नियुक्त गरेका छन् । घण्टाघर इन्चार्जमा आफनै जेठान पर्ने अनुज भुजेललाई नियुक्त गरेका छन् । मेयर साम्पाङले पूर्व सुपर भाईजर निर्मल याक्थुङबा मेन्याङबोलाई ठाडो आदेशमा हटाएर जेठानलाई नियुक्त दिएका हुन ।

जिम्मा लिएपछि मेयर साम्पाङले कर्मचारी हटाउने र आफन्त नियुक्त गर्ने बाहेक घण्टाघरको लागि कुनै नयाँ योजना सार्वजनिक गरेका छैनन् । सधैँ अङ्ग्रेजी नयाँ वर्षको साँझ आकर्षक झिलिमिली बनाइने घण्टाघर यसपालि १ जनवरी २०२३ मा अँध्यारो राखिएपछि व्यापक आलोचना भएको थियो ।

त्यसमा उपमहानगरपालिका ध्यान नगए पनि २ नम्बर वडा कार्यालयको सक्रियता वडाध्यक्ष रमेश राईले तत्काल घण्टाघरलाई आकर्षण दिने काम गरेका थिए । घण्टाघरको व्यवस्थापन वडा २ लाई दिइनुपर्ने माग गर्दै आएका वडाध्यक्ष राई हालको व्यवस्थापनबाट सन्तुष्ट छैनन् ।

उनले भने ‘हामीले घण्टाघरको स्वामित्व, व्यवस्थापन वडा २ लाई हस्तान्तरण गर्न निकै पहल गरे पनि नगरपालिकाले किन नदिएको हो ?’ भनी प्रश्न गर्दै यस विषयमा आफू अनभिज्ञ रहेको बताए । समय आयपछि सम्पूर्ण कुरा बताउने उनको भनाई छ ।