धरान : केन्द्रीय प्रविधि क्याम्पस क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन समितिको आयोजनामा भोली मङ्गलवारदेखि धरानमा पूर्वाञ्चलका २०० भन्दा बढी अनुसन्धानकर्ताहरूको सम्मेलन हुँदै छ ।

पूर्वमा विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धाताहरूको यस्तो सम्मेलन पहिलो पटक भईरहेको आज सोमवार आयोजित पत्रकार सम्मेलनमा संयोजक डा.ललितकुमार राईले बताए ।

उनका अनुसार सम्मेलनमा विज्ञान सम्बन्धी कुल ४४ वटा अनुसन्धान पत्र प्रस्तुत हुनेछन् । त्यस मध्ये फिजिकल साइन्स सम्बन्धी २४ वटा अनुसन्धान पत्र छन् ।

बाइलोजिकल साइन्स सम्बन्धी १६ वटा र कम्प्युटर सूचना प्रविधि सम्बन्धी ४ वटा अनुसन्धान पत्र सम्मेलनमा छलफलका लागि प्रस्तुत हुनेछन् ।

अनुसन्धान पत्रहरू १ जना देखी ५ जनाले संयुक्त रूपमा गरेका खोजको निष्कर्षको रूपमा प्रस्तुत हुनेछन् ।

फिजिकल साइन्सका अनुसन्धान पत्रहरूमा क्यान्सरको सेलमा गरिएको खोज देखी सुनसरी जिल्लामा गरिएको डेङ्गु ज्वरोको स्वरूप सम्मका अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाइलोजिकल साइन्सका अनुसन्धान पत्रहरूमा सन्थाल सतार जातिको 'इथ्नोबोटानिकल' सामुदायिक अभ्यासका बारेमा गरिएको सर्वेक्षण देखी आदिवासी राई समुदायमा पाइने औषधीय वनस्पतिको प्रयोग अध्यास सम्बन्धी अध्ययन समावेश छन् ।

सम्मेलन पूर्वमा अहिलेसम्म विज्ञान प्रविधिमा भएका अनुसन्धान कार्य तथा अनुसन्धानकर्तालाई सार्वजनिक मञ्च प्रदान गर्ने उद्देश्यले गरिएको आयोजक समितिका उपप्राध्यापक धिरेन लिम्बुले बताए ।

संयोजक डा. राईले एकै विषयमा धेरै विधाका अनुसन्धानहरू भएका छन्, सम्मेलनमा एक विषय भन्दा बढीका अनुसन्धान पत्रहरूमा छलफल हुने भएकाले सम्मेलनले एउटै निष्कर्ष निकाल्न नसक्ने बताए ।

उनले भने, ‘विज्ञानमा भएका धेरै कामहरूका अनुसन्धानकर्ता र सरोकारवालालाई एउटै छाता मुनी ल्याउने काम गरेको हो ।’ विज्ञानका विभिन्न क्षेत्रमा भएको अनुसन्धानहरू सार्वजनिक गर्ने अवसर सम्मेलनले प्रदान गर्ने उनको भनाई छ ।

उपप्रा. धिरेन लिम्बुका अनुसार केन्द्रीय प्रविधि क्याम्पस स्थापना भएको ५२ वर्षको इतिहासमा धरानमा पहिलो पटक विज्ञान सम्बन्धी सम्मेलन आयोजना भएको हो । यसमा वर्तमान क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।

केन्द्रीय प्रविधि क्याम्पस २०२९ सालमा स्थापना भएको हो । सम्मेलन विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा आयोजना गरिएको बताइएको छ । सम्मेलन बराह हलमा बिहान ८ बजो देखी सुरु हुने बताइएको छ ।