विराटनगर : महानगरमा आइतबार गरिएको माछा मासु पसल अनुगमनमा खसीको मासु कुहिएको भेटिएपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको मासु भेटिएको हो । अनुगमन टोलीले खसीको मासु कुहिएको फेला पारेपछि १० किलो परिमाणको मासु नियन्त्रणमा लिएर मासु नष्ट गरिएको महानगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले बताए ।

बजार अनुगमन विराटनगर महानगरपालिकाले गरेको हो । अनुगमनमा पसलको नवीकरण, दर्ता, सरसफाइ, तौल हेर्ने गरिएको छ । 

शाखा प्रमुख यादवको नेतृत्वमा रोड शेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरूको अनुगमन गरिएको छ । टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर प्रहरी निरीक्षक राजन पौडेल थिए ।

महानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछा मासु पसलको अनुगमन गरेको छ ।

महानगरमा २ सय माछा मासु पसल छन् । ती मध्ये ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको बताइएको छ ।