धरान : हराइजन बास्केटबल रनिङ कप प्रतियोगिता यसपालि कोर्टको पुनः निर्माण नभइसकेको हुनाले भोली बुधवारदेखि थ्री बाई थ्री विशेष संस्करणमा सञ्चालन गरिने भएको छ ।

बर्सेनि फुलकोर्टमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको हराइजन बास्केटबल क्लबले आज मङ्गलवार बिहान पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो ।

धरान-१७ स्थित श्री प्रावि आधारभूत विद्यालय परिसरमा रहेको हराइजन बास्केटबल कोर्टको पूर्व तर्फका बास्केट कोर्ट विद्यालय भवन बनाउनका लागि धरान उपमहानगरपालिकाले पोहोर साल भत्काएकोले फुलकोर्ट सञ्चालन गर्न नसकिएको हो ।

क्लबका अध्यक्ष श्रीभक्त राईले भने, ‘मेयर हर्क साम्पाङले प्रतियोगिता आउन अघि बनाइदिने सहमति गर्नु भएको थियो तर अहिले सम्म नबनेकोले फुलकोर्टमा खेल आयोजना गर्न सकिएन ।’

नयाँ कोर्ट निर्माणका लागि ८ लाख ५० हजारको लागत स्टिमेट बनिसकेपनि यसपालि कोर्ट नबनेको उनले दुखेसो पोखे । भने, ‘हामीले डेलिगेसन गएर आग्रह गरेको छौँ मेयर साबले नयाँ बजेटबाट निर्माण गरिदिने बचन दिएका छन् ।’

क्लबका उपाध्यक्ष पञ्चकला राई, सल्लाहकार प्रकाश राईले धरानमा बास्केटबल खेलको इतिहास बोकेका कोर्ट उपमहानगरपालिकाले पुनः निर्माणमा ढिलाइ गरेकोमा गुनासो प्रकट गरे ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा खुल्ला राष्ट्रिय प्रतियोगितामा कुल १७ वटा बास्केटबल टिम प्रतियोगितामा सहभागी रहेको उल्लेख छ ।

प्रतियोगिता २ दिन सम्म श्री प्रावि स्थित हराइजन बास्केटबलको यथावत् रहेको सिङ्गल कोर्टमा सञ्चालन हुनेछ । उक्त बास्केटबल कोर्ट २०४५ सालमा गोर्खा भूपूहरूको आर्थिक सहयोगमा बनेको धरानको ऐतिहासिक कोर्ट हो ।