इटहरी : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अशोक राई नेतृत्वमा आइतबार जसपा विभाजित बनेको हो ।

आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न पुगेको नयाँ पार्टी जनता समाजवादी पार्टी (जसपा) राखिएको छ ।

यादव नेतृत्वको पार्टीका सात जना सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

पार्टी विभाजन गर्न ४० प्रतिशत सांसद आवश्यक पर्ने संवैधानिक प्रावधान अनुसार प्रतिनिधि सभामा रहेका १२ जना सांसद मध्ये ५० प्रतिशत भन्दा बढी सांसद नयाँ पार्टीमा लागेका हुन् ।

पार्टी विभाजन भए सँगै नेता राजेन्द्र श्रेष्ठले अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढङ्गबाट पार्टी चलाउन खोजेको आरोप लगाए । हठात् निर्णय नभएको बताउँदै उनले पहिला देखिनै पार्टीमा समस्या भएको बताए । सदस्यता वितरणमा व्यापक धाँधली भएको बताउँदै श्रेष्ठले निकास खोज्दा पार्टी विभाजन हुन गएको जानकारी दिए । 

वर्तमान सरकालाई निरन्तरता दिन आफूहरू तयार रहेको बताउँदै उनले गठबन्धन नतोड्ने बाचा गरे । जसपाका १८ जना कार्यकारिणी समिति सदस्यमध्ये अशोक राईसहित राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, परशुराम बस्नेत, सुशीला श्रेष्ठ, रणध्वज कान्दङ्वा, रेणु यादव नवलकिशोर साह लगायत विभाजनको पक्षमा छन् ।

jaspa-Team