धरान : तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबलको आइतबार धरान-१७ र धरान-१४ बिचको फाइनल सडन डेथमा पनि निर्णय नहुँदा भोली सोमवार पुनः फाइनल खेल हुने भएको छ ।

धरान रङ्गशालामा भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा रहेपछि टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४-४ गोल भएपछि खेल सडन डेथमा पुग्यो । सडन डेथमा थप १५ जनाले प्रहार गरे पनि खेलको निर्णय हुन सकेन ।

पानी र अँध्यारोको कारण पेनाल्टी प्रहार गर्न समस्या भएपछि निर्णय विहीन अवस्थामै आयोजकले खेल स्थगित गरेको छ ।

खेल स्थगित गरी दुवै टिमसँग आयोजकले बैठक गरी भोली सोमबार पुनः दिउँसो साढे ३ बजे खेल सञ्चालन निर्णय भएको म्याच कमिश्नर इन्द्र मगरले जानकारी दिएका छन् ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबले आयोजना गरेको हो । समापनका सबै औपचारिक कार्यक्रमहरू भैसकेका छन् । समापन समारोहमा कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई प्रमुख अतिथि थिए ।