धरान : कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले आज शनिवार आयोजित बालमैत्री घोषणा सभाका बिच धरान १० लाई बालमैत्री वडा घोषणा गरेकी छन् ।

सभामा उनले मानव समाजलाई उच्चतम विन्दुमा पुर्‍याउन बालबालिकाहरू असल, सभ्य र नैतिक वान बन्न बलमैत्री समाजको ठुलो भूमिका हुने बताइन ।

उनले भनिन् ‘बालबालिकाको हित र अधिकार संरक्षण बालहितको पक्षमा परिवारदेखि टोल र समुदाय सबैले मिलेर ठोस धारणा बनाउन जरुरी छ ।'

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले ५१ वटा सूचक पूरा गरेर बालमैत्री घोषण गरेको बताउँदै वडावासीलाई बधाई र शुभकामना व्यक्त गरे ।

नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेलले बालमैत्री वडा घोषण कार्यक्रममा उपमहानगरपालिका मेयरको हर्क साम्पाङ अनुपस्थित रहेकोमा टिप्पणी गर्दै भने ‘छोरीको बिहेमा कन्यादानको क्षणमा आमा बुवा नभएको पिडादायी दृश्य जस्तो भयो बालमैत्री घोषणा सभा।’

वडाको कार्यक्रमलाई अभिभावक विहीन बनाउनु खेदजनक रहेको उनले बताए । उनले प्रश्न गरे ‘नगर प्रमुखको योजनामा कार्यक्रम गर्नु अनि आफै न आउनु धरानको कस्तो विडम्बना हो ?’

वडाध्यक्ष विवेक राईले धरान १० बालमैत्री वडा घोषणा हुने १६ औँ वडा भएको बताउँदै बालमैत्री वडा घोषणा गर्न ५१ वटा सूचक पुरा गरेको उल्लेख गरे ।

वडाले ५० वटा सुचकमा सय प्रतिशत र एउटा सूचक ८० प्रतिशत अङ्क ल्याएको वडाध्यक्ष राईको भनाई छ । वडामा ८३७ जना बालबालिका मध्ये ४४० बालक र ३९७ बालिका रहका छन् । धरानमा बालमैत्री वडा घोषण हुन १ २,३ र ९ बाकी  रहेका छन् । 

नरेश इङवारमको असन्तुष्टि  :

कार्यक्रममा धरान १५ का वडाध्यक्ष नरेश ईवरामले फरक मत प्रकट गरे । उनले बालमैत्री वडा घोषणा कार्यपालिकाको बैठकबाट अनुमोदन भएर कार्यक्रमको मिति, स्थान तय भएपनी कार्यक्रम उपस्थित नहुनु मेयरको कार्यशैली ठिक नभएको भन्दै आपत्ति जनाए।

घोषणा सभामा स्थानीय सरकार प्रमुख उपस्थित नहुनुले इतिहास बोकेको कार्यक्रमको अपमान भएको उनको भनाई थियो । उनले भने ‘मेयर आफैले तिथि मिति तोकेको कार्यक्रममा अनुपस्थित रहनुले कार्यक्रम स्थानीय सरकारको हो कि सामाजिक सङ्घ संस्थाको ?’ भनी प्रश्न गरे ।

उनले भने ‘धरान गफाडी, घमण्डी, सुतुवा, आरिसेको र मगन्ते सहर भएको छ ।’ जनताको मतले निर्वाचित भएका सरकार प्रमुख, शासक जस्तो हुँदा धरान बिग्रिएको बताउँदै वडाध्यक्ष इङवारमले  धरान मगन्तेको सहर होइन स्थानीय सरकार सञ्चालन ऐनले परनिर्भर होइन आत्मनिर्भर हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।’

उनले २०५४ सालमा देशभरबाट नमुनाको सहर र २०७४ सालमा धरान उपमहानगरपालिका उत्कृष्ट सहरको पुरस्कार पाएको तर आज धरान चारैतिरबाट काँडैकाँडाले घेरिएको बताए ।

२० वटा वडा मध्ये सबैभन्दा पहिलो धरान १३ बालमैत्री वडा घोषणा भएको थियो । त्यसैको अनुसरण गर्दै धरानका १६ वटा वडा बालमैत्री घोषणा गरिएको छ ।

वडाध्यक्ष इङवारमले भने ‘धरानमा ४ वटा वडा बालमैत्री घोषण हुन बाँकी छ तर अरू स्थानीय निकायले सिङ्गो गाउँपालिका, नगरपालिकाले बालमैत्री घोषणा भैसकेको अवस्थामा धरानका वडाहरू नै घोषण नहुनु विडम्बनापूर्ण बनेको छ ।’

dharan-10-KapuriNews