सुनसरी : इटहरी चोक देखी २ किलोमिटर उत्तरमा पर्छ नेपाल चाइना समाजको भवन । बाझो जमिनको छेउमा खोला नजिकै एकान्तमा छ भवन । त्यही भवनमा सञ्चालित शेर्पा गार्मेन्ट उद्योग ।

घरको वरपर झार जङ्गल त्यत्तिकै छन् । त्यसको नजिकै व्यवसायी बङ्गुर पालनको लागी तयार पारिएको खोर देखिन्छ । पुरै सुनसान वातावरणका बिच केही मानिसको चहलपहल जस्तो देखिन्छ । घरभित्र पस्दा एक धुनमा लहरै कपडा सिलाउने काम भइरहेको छ। करिब ३० जनाले आ-आफ्नो मेसिनमा चुपचाप काम गरिरहेका छन् । कपडा काट्ने देखी कपडा सिलाउने काम आप्नै तालमा भइरहेको छ । त्यसको केही माथि सिलाएर तयार पारेको कपडा प्याकेजीङ गर्ने काम हुँदैछ ।

उता ग्राहकलाई कपडा गनेर दिने काममा आफै लागेका छन् पासाङ शेर्पा । जाडोको मौसम नजिकिए सँगै न्यानो कपडा सिलाउने काम धमाधम भइरहेको छ । समयमै बजारमा सामान पुर्याउने दाउमा लागेका छन् शेर्पा ।

Garment-Itahari-2

१७ वर्ष अघि जागिर खोज्न सङ्खुवासभाको मादी बाट सहर झरेका शेर्पाले ५ हजारको सम्म जागिर पाएनन् । घरको आर्थिक अवस्था नाजुक भएपछि उनी विदेश जाने तयारीमा लागे । सोही बमोजिम उनी मलेसीया हानिए । मलेसियामा सुरुदेखी नै गार्मेन्ट उद्योगमा काम पाए ।

सुरुमा कमाई खासै राम्रो नभए पनि काम निरन्तर गरिरहे। सुरुमा भारी बोक्ने देखी सुरु भएको उनको कामको श्रृङखला पछि टिम लिडर सम्म पुग्यो ।

१० वर्ष सम्म मलेसीया बसेर नेपाल आएका उनलाई पुन बेरोजगारीको समस्याले सताउन थाल्यो । विकल्पको रूपमा उनले विदेश नै जाने निर्णय गरे । कतार र साउदीमा १-१ वर्ष काम गरेर पुनः नेपाल फर्किए । त्यसपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोचेर सोही ठाउँमा बङ्गुर पालन सुरु गरे । बङ्गुर पालनमा खासै मेलो बसाउन सकेनन् । खासै घाटा नभए पनि नाफा हुन सकेन ।

घर भाडा तिर्न र परिवार पाल्न देखी बाहेक अतिरिक्त आम्दानी भएन । व्यवसायमा विकल्प सोच्न बाध्य भए शेर्पा । उनले सोचेर पनि गर्न नसकेको गार्मेन्ट उद्योग सञ्चालन गर्ने कामको सुरुवात गरे । ३ लाखको लगानीमा केही मेसिन राखेर उनले गार्मेन्ट सुरु गरे । आफू सहित ४ जना कर्मचारी राखेर सुरु भएको उनको उद्योगमा हाल ३५ जना कामदार छन् ।

उद्योगको उत्पादन र कामदारलाई समेत फाइदा हुने गरी उनले गोटाको हिसाबमा भुक्तानी गर्ने गरेका छन् । जति उत्पादन भयो त्यसैको आधारमा पैसा पाउने भएपछि कामदारले लगनशील भएर धेरै काम गर्ने उनको बुझाइ छ ।

अहिले उनको उद्योगमा ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । हरेकले प्रति महिना १५ देखी ३५ हजार सम्म कमाउने गरेका छन् । जसबाट स्थानीयले रोजगारी मात्र हैन सिप सिक्ने अवसर पनि पाएका छन् ।

“कोही जागिर पाइएन भनेर आउँछ भने काममा लगाई हाल्छु । केही नजानेको मान्छे पनि ७ दिनमा धेरै जान्ने भइसक्छ । पहिलो महिना १० हजार कमाउने उसले दोस्रो महिना देखी २५ हजार कमाउन थाल्छ ।,” शेर्पा भन्छन्, “अहिले कहीँ जागिर खान गयो भने अनुभव र सिप खोज्छन् । तर म सिधै काममा लगाइदिन्छु । आफै सिक्छन् आफै गर्छन् ।”

लामो समय देखी बेरोजगार बस्दै आएकी जिना मगर अहिले मासिक २५ हजार कमाउँछिन् । श्रीमान् विदेशमा गएपछि परिवारको भरथेगको लागी काम थालेको उनले सुनाइन् । अहिलेको कमाइले परिवार चलाउन मात्र हैन बचत गर्न समेत पुग्ने गरेको उनको भनाई छ ।

जिनाको छेवैमा राकेश चौधरी पनि एकटकले काम गरिरहेका छन् । विदेश जाने तयारीमा रहेका राकेश लकडाउनले गर्दा रोकिएका हुन् । त्यही मौकामा गार्मेन्टमा काम पाएका उनी अब विदेश नजाने योजनामा छन् । घरछेउमै रोजगारी पाएपछि विदेश जान म्यानपावरलाई बुझाएको पासपोर्ट पनि फिर्ता ल्याइसकेको उनले सुनाए ।

४६ बर्षीय लीला मगर पनि भर्खरै देखी काममा लागेकी हुन् । तर एक साता देखी काममा लागेकी उनी पनि काममा सक्षम भइसकिन् । विदेशमा श्रीमान्को कमाई कम हुन थालेपछि उनले विकल्प खोजेकी हुन् । यतै कमाइ हुने सम्भावना देखेपछि अब श्रीमान्लाई पनि बोलाउने तयारीमा छिन् उनी ।

मासिक ३५ लाख सम्मको कारोबार हुने बताउने शेर्पाले झापा मोरङ र सुनसरीका अधिकांश बजारमा सामान पुर्‍याउँछन् । सुरुसुरुमा आफै पुर्‍याउन जानुपर्ने भए पनि अहिले अर्डर अनुसार मात्र उत्पादन गर्न थालिएको उनी बताउँछन् । आफूहरू मासिक १ लाख बढी आम्दानी हुने गर्छ । मासिक ३० लाख सम्मको कारोबार हुने गरेको उनले सुनाए ।

युवाहरू विदेश गएको उनलाई मन पर्न छाडेको छ । विदेश गएर कुल्ली हुनुभन्दा आफ्नै देशमा सिप सिकेर काम थाल्न उनी सुझाउँछन् । 'मुख्य कुरा सिप हो' ।, उनले थपे, 'अहिलेको जमानामा हातमा सिप भएन भने जीवन मर्नु जतिकै हुन्छ । विदेश जानै पैसा लगानी गरेर सिप सिक्ने काममा लगानी गर्ने हो।'