धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरू ११ बुँदे माग सहित फेरि आन्दोलित भएका छन् ।

आफ्ना मागहरू पुरा नभएको भन्दै इन्टर सङ्घर्ष समितिको अगुवाइमा अहिले प्रतिष्ठानका उपकुलपति कार्यालयअघि इन्टर्नहरुले धर्ना दिइरहेका छन् । सङ्घर्ष समितिका संयोजक अमृत जैसीका अनुसार आजदेखि इन्टर्नहरुले इमर्जेन्सीबाहेक काम छोडेर आन्दोलनमा उत्रिएका छन् । आज दिउँसो १ बजेसम्म धर्ना गर्ने आन्दोलनकारीहरुले बताएका छन् ।

उनीहरूले जीवन निर्वाह भत्ता सम्बन्धी यस अघि नै २०७६ र ०२ र १९ गते आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर चिकित्सकहरू र तत्कालीन प्रतिष्ठानका पदाधिकारी बिच सहमति भए बमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर चिकित्सकहरूको जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औँ तहको ५०५ कार्यान्वयन हुनुपर्ने, पहिलेकै सहमति बमोजिम जीवन निर्वाह भत्तामा ३५ महँगी भत्ताको व्यवस्था भए बमोजिम नै कार्यान्वयन हुनुपर्ने, इन्टर चिकित्सकहरूलाई नाइट डिउटीको निम्ति खाजाको व्यवस्था सम्बन्धी सहमति भए पनि कार्यान्वयन नभएका कारण अब उपरान्त नाइट डिउटी हुँदा खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप १००० प्रदान गर्नुपर्ने, जीवन निर्वाह भत्तामै समावेश गर्ने गरी मास्क, स्यानिटाइजर, फेस सिल्ड लगायत सामाग्रीहरूको निम्ति न्यूनतम थप १००० रुपैयाँ व्यवस्था गरिनुपर्ने लगायतको माग राखेका छन् ।

यस्तै हाल सम्म कोभिड १९ सङ्क्रमण भएपश्चात् आइसोलेसनमा बसेको समयको हाजिरी प्रदान गर्न प्रतिष्ठानले उपयुक्त व्यवस्था गरी इन्टर सीप तोकिएकै समयमा सकिने कुराको सुनिश्चितता गर्नुपर्ने, कम्तीमा एक ठाउँमा ४५ दिनको पेरिफेरी पोस्टिङ हुने गरी व्यवस्था गर्नुपर्ने, इन्टर्नहरूले २ महिनाको काम पुरा गरिसकेका कारण विगत दुई महिनाको बढ्नुपर्ने तलब यही महिना भित्र उपलब्ध गराउनुपर्ने, प्रतिष्ठानले खटाए बमोजिम काम गर्दै गर्दा कोभिड १९ को लक्षण देखिएका इन्टर्नहरूलाई पीसीआर परीक्षण निःशुल्क गरिनुपर्ने माग गरेका छन् ।

त्यसैगरी र आइसोलेसनमा भएका इन्टर्नहरूले अन्य साथीहरू डिउटीमा भएको समयमा खान समेत नपाएका कारण अब उपरान्त आइसोलेसन अवधि भर खानाको व्यवस्था कोभिड अस्पतालमा भए बमोजिम नै प्रतिष्ठानले व्यहोर्नुपर्ने, प्रतिष्ठानले सम्पूर्ण विद्यार्थीहरूलाई बोलाउने तयारी गरिरहेको हुनाले होस्टलमा सङ्क्रमित विद्यार्थीहरूले एउटै शौचालय र बाथरुमको उपयोग गर्दा विद्यार्थीहरूमा सङ्क्रमणको जोखिम झनै बढ्ने हुँदा विधार्थीहरूलाई आइसोलेसनका निम्ति एउटा छुट्टै स्थान व्यवस्था गर्नुपर्ने र ईन्टनसीप सुरु भएको २ महिना भइसक्दा समेत २ जना विद्यार्थीको ईन्टनसीप अझै सुरु नभएका कारण उपयुक्त व्यवस्था गरी यथासिघ्र इन्टर्नसिप सुरु गर्न पहल गर्नुपर्ने माग अघि राखेका छन् ।