विराटनगर : विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन १२६ विघा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरूको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि आज १५ सदस्यीय सङ्घर्ष समिति गठन गरेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा रहेको विमानस्थलको चारै तिर विस्तार हुँदा वडा नम्बर ४ निवासी करिब ३ सय घर परिवार विस्थापित हुनेछन् । हालै विमानस्थलले विस्तारित विमानस्थलको बाउण्ड्री सर्भे सम्पन्न गरेको छ ।

विस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्ति दिलाउनका लागि वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थल पीडित सङ्घर्ष समिति गठन गरिएको छ । जसमा विनोद भण्डारी, रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्की लगायत १५ सदस्यीय सङ्घर्ष समिति गठन भएको हो ।

सङ्घर्ष समितिका संयोजक वेदराज पौडेलले विमानस्थलको वरिपरि घर निर्माण गरेर वर्षौँदेखि बसोबास गर्दै आएका सर्बसाधरणले घरबार विहीन बन्नु पूर्व नै राज्यले उचित क्षतिपूर्ति देओस् र उनीहरू अहिले बसोबास गरेजतिकै स्थानमा जमिन किनेर घर बनाएर बस्न सकुन् भन्ने उद्देश्यले क्षतिपूर्तिको पहलका लागि सङ्घर्ष समिति गठन गर्नु परेको बताए ।

विमानस्थल क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरकै बन्नु पर्छ भन्ने आफूहरूको पहल हुने र विमानस्थल विस्तारमा कुनै अवरोध गर्ने नभई सङ्घर्ष समितिले राज्यबाट पाउने क्षतिपूर्ति न्यायसङ्गत व्यावहारिक हुनुपर्ने विषयमा पहल गर्ने पौडेलले बताए ।

विमानस्थल कहिले सम्म मुआब्जा दिएर घर जमिन खाली गर्नु पर्ने हो त्यसको मिति स्पष्ट गर्नु पर्ने, क्षतिपूर्तिका आधारहरू स्पष्ट पार्नु पर्ने, आधा घर र आधा जमिन मात्रै परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्ने लगायतका विषयमा पहल गर्ने उनले बताए ।

पौडेलले राज्यले दिने क्षतिपूर्तिले अहिले बसिरहेको थातथलो भन्दा पनि सुगममा जमिन किनेर घर बनाउने सक्ने हैसियत हुनेगरि व्यवस्था गरिनु पर्ने माग गरे । क्षेत्रीय र पछि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्ने लक्ष रहेको विमान स्थलको चारै तिर यो पटक १२६ दशमलव ४६ विघा जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको छ ।

विमानस्थल क्षेत्रीय स्तरको हुँदा मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर ४ र सुनसरीको बर्जू गाउँ पालिका सम्म विस्तार हुने छ । क्षेत्रीय स्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुई जिल्ला छुने यो एक मात्र विमानस्थल बन्ने छ ।

यस अघि कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो । विस्तार हुँदा विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार ५०० सय मिटर लामो हुने छ ।

हालको धावनमार्ग एक हजार ५०० मिटरको छ । साबिक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३।७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको छ । त्यही अनरुप अहिले बाउण्ड्री सर्भे गर्ने काम सकिएको हो ।